किन धम्क्याउँदै छन् प्रचण्ड काङ्ग्रेस नेताहरूलाई

किन धम्क्याउँदै छन् प्रचण्ड काङ्ग्रेस नेताहरूलाई


-जयप्रकाश
विगत अर्ढाई वर्षदेखि नेपाली राजनीतिमा रक्षात्मक भूमिका निर्वाह गरिरहनुभएका माओवादी अध्यक्ष प्रचण्डले नेपाली काङ्ग्रेसका नेताहरूलाई चेतावनी दिनुभएको छ । ‘काङ्ग्रेससँग समझदारी विकास गर्न’ पटकपटक नेताहरू सुशील कोइराला र रामचन्द्र पौडेलसँग भेट गरी प्रचण्डले फकाउने र तर्साउने गदैं आउनुभएको छ । बाहिर काङ्ग्रेससँग समझदारी बन्दै गरेको प्रचार गराउने र भित्र काङ्ग्रेसलाई तर्साउने एवम् उपयोग गर्ने नीति प्रचण्डले बाबुराम प्रधानमन्त्री बन्नुभएयता लिँदै आउनुभएको हो । तर, यसपटक प्रचण्डको तर्साउने काइदा भने बेग्लै देखिएको छ । काङ्ग्रेस नेताहरूसँगको भेटवार्तामा उहाँले भन्ने गर्नुभएको छ, ‘हामी यसपालि साँच्चै शान्ति र संविधानका पक्षमा आएका छौँ, काङ्ग्रेसले हामीलाई बलियो साथ दिनुपर्‍यो, म टुङ्गोमा पुर्‍याएरै छोड्छु । यदि काङ्ग्रेसले वैद्यलाई लिएर खेल्ने कोसिस गर्छ भने शान्तिप्रक्रिया भङ्ग हुन्छ, काङ्ग्रेसले सबैभन्दा ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ, म कुनै पनि हालतमा माओवादी टुक्रन दिन्नँ, हाम्रो पार्टी फुट्दैन, चोइटिन मात्र सक्छ ।’ प्रचण्डको यस्तो अभिव्यक्तिलाई काङ्ग्रेस नेतृत्वले चेतावनीका रूपमा लिएको छ । सभापति कोइराला र उपसभापति रामचन्द्र पौडेलले प्रचण्डसमक्ष शान्ति र संविधानका पक्षमा थप प्रतिबद्धता व्यक्त गर्दै आफूहरूबाट दिगो शान्ति स्थापना र लोकतान्त्रिक संविधान निर्माणका निम्ति पूर्ण सहयोग रहने, कुनै किसिमको चलखेल नहुने वचन दिनुभएको बुझिएको छ । पटक-पटकको भेटमा प्रचण्डले काङ्ग्रेस नेताहरूलाई वैद्य पक्षसँग समझदारी नबनाउन आग्रह गर्दै आउनुभएको छ । यसरी प्रचण्डले आफूहरूलाई किन फकाउने र तर्साउने गरिरहेका छन् भन्नेबारेमा काङ्ग्रेस नेताहरूले अहिलेसम्म कुनै किसिमको विचार, विश्लेषण र छलफल नगरेको बताइन्छ ।
प्रचण्डको डर
तिकडम, जालझेल, छलकपट र उपयोगवादमा विश्वास राख्नुहुने प्रचण्ड अझै पनि प्रधानमन्त्री बन्ने सपना देख्दै हुनुहुन्छ र बाबुराम कुनै पनि निहुँमा सत्ताबाट बाहिर आउनुपरेको अवस्थामा आफू सत्तारुढ हुने सोचअनुरूप उहाँ क्रियाशील हुनुभएको छ । शान्तिप्रक्रिया र संविधान निर्माणको काम बाबुरामको नेतृत्वमा अघि बढाउने तर पूर्णताचाहिँ आफ्नै नेतृत्वमा गर्ने योजना प्रचण्डको रहेको छ । बाबुरामलाई प्रधानमन्त्री स्वीकार गर्न एउटा बाध्यात्मक अवस्थामा प्रचण्ड राजी हुनुभएको तथ्य कसैबाट लुकेको छैन । मोहन वैद्य किरण र उहाँको पक्षले अग्रसरता नलिएको भए बाबुराम प्रधानमन्त्री बन्न सम्भव पनि थिएन । परिस्थिति र पात्रलाई आफूअनुकूल बनाउन सधैं सफल मानिनुहुने प्रचण्ड यतिबेला बाबुरामलाई हदैसम्म ‘एक्स्पोज’ गरी जनस्तरमा समेत नालायक प्रमाणित गर्न र आफैं प्रधानमन्त्री भएको अवस्थामा मात्र शान्ति र संविधान निर्माणले पूर्णता प्राप्त गर्न सक्छ भन्ने कुराको आभास नेपालभित्र तथा नयाँदिल्लीसम्म दिने योजनामा रहनुभएको बुझिन्छ । तर, काङ्ग्रेस, एमाले र माओवादीको वैद्य खेमाबीच समझदारी बनेको अवस्थामा प्रचण्डको योजना कार्यान्वयन हुन सम्भव देखिँदैन । मोहन वैद्य किरणका पक्षमा अहिले माओवादीका नब्बेभन्दा बढी सभासद् रहेका छन् । काङ्ग्रेस, एमाले र अन्य केही साना दलहरूसँग वैद्यले समझदारी बनाउन सकेको अवस्थामा वर्तमान सरकार विस्थापित भई नयाँ सरकार बन्ने निश्चित छ । त्यसो भएमा विवादास्पद चारबुँदे सम्झौताको औचित्य र अस्तित्व स्वतः खारेज हुने, माओवादी पार्टीमा विभाजन आउनसक्ने र प्रचण्ड-बाबुराम गैरराष्ट्रवादीका रूपमा बद्नाम हुने स्पष्ट छ । हो, यही परिस्थिति उत्पन्न होला कि भन्ने चिन्ता र त्रास प्रचण्डमा प्रबल रूपमा देखिएको छ । डा. बाबुराम भट्टर्राई प्रधानमन्त्री बन्नुभएपछि काङ्ग्रेस नेताहरूसँगको पहिलो बैठकमै प्रचण्डले वैद्यहरूसँग तपाईंहरूको संवाद र सम्झौताको सम्भावना के-कति छ भनी प्रश्न राख्नुभएको थियो । जवाफमा काङ्ग्रेस नेताहरूले आफूहरूको वैद्यसँग कुनै प्रकारको सर्म्पर्क र सम्बन्ध नरहेको स्पष्टिकरण दिँदै कुनै हालतमा पनि वैद्यसँग सम्झौता हुन नसक्ने बताएका थिए । तर, दसैंअघि माओवादी नेता नेत्रविक्रम चन्द र काङ्ग्रेस नेता रामचन्द्र पौडेलबीच कुनै सन्दर्भमा भएको एक सङ्क्षिप्त भेटवार्तापश्चात् प्रचण्ड आतङ्कित बन्नुभएको बुझिएको छ । उक्त भेटपश्चात् प्रचण्डले काङ्ग्रेसका नेताहरूलाई वैद्यसँग मिलेमा शान्तिप्रक्रिया भङ्ग गर्ने र काङ्ग्रेसलाई ठूलो क्षति पुर्‍याउने चेतावनी दिँदै आउनुभएको छ । शेरबहादुर देउवाको हैसियत काङ्ग्रेसमा कमजोर भइसकेको र रामचन्द्र पौडेललाई प्रयोग गर्न कठिन हुने ठहर गर्दै प्रचण्डले सभापति सुशील कोइरालालाई ‘पट्याउने’ प्रयास गर्न थाल्नुभएको छ । प्राप्त जानकारीअनुसार प्रचण्डले कोइरालालाई प्रधानमन्त्री बन्नका लागि सबैभन्दा योग्य मानिस भन्दै प्रशंसा गर्ने गर्नुभएको छ र काङ्ग्रेसकै र्सतअनुरूप आफूहरू शान्ति र संविधान निर्माणको पक्षमा आएको भनी मनोवैज्ञानिक प्रभाव पार्ने कोसिस पनि गर्नुभएको छ । प्रचण्डले काङ्ग्रेसलाई वर्तमान सरकारमै सामेल भइदिन पनि पटक-पटक आग्रह गरिरहनुभएको छ । नेतृ सुजाता कोइरालाले वर्तमान सरकारमा काङ्ग्रेस सहभागी हुनुपर्छ भनी सार्वजनिक रूपमा दिनुभएको अभिव्यक्तिलाई पनि विश्लेषकहरूले ‘प्रचण्डको करामत’का रूपमा बुझेका छन् ।
प्रचण्डको चालबाजी र तिकडम बुझ्न सक्ने क्षमताको काङ्ग्रेस नेतृत्वमा अभाव देखिँदै आएको छ । तात्कालिक सभापति गिरिजाप्रसाद कोइरालाको भरपूर उपयोग गरेर एक चरणको सिद्धि प्राप्त गर्न सफल प्रचण्ड उहाँको मरणपश्चात् शेरबहादुरलाई हातमा लिएर खेल्ने प्रयासमा हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ । तर, देउवालाई मात्र लिएर खेल्दा उद्देश्य पूरा हुन नसक्ने देखिएपछि स्वयम् सभापति कोइरालालाई नै उपयोग गर्ने कोसिस प्रचण्डबाट हुँदै आएको छ । गिरिजाप्रसाद र शेरबहादुर देउवालाई झैं पद र पैसाले प्रभावित गर्न नसकिने भएपछि प्रचण्डले सुशील कोइरालालाई शान्तिप्रक्रिया पूरा गर्ने र लोकतान्त्रिक संविधान निर्माण गर्न आफू वचनबद्ध रहेको झाँसा दिँदै सुशीलकै नेतृत्वमा शान्तिप्रक्रिया पूरा भएको देखाउने प्रलोभन दिने गर्नुभएको बुझिएको छ । तर, जेसुकै प्रलोभन दिए पनि सुशील कोइराला देउवा या गिरिजाप्रसादझैं प्रचण्डको फन्दामा पर्नुहुने ठानिएको छैन । प्रचण्डका पछिल्ला प्रयासहरू वैद्य र एमालेसँग काङ्ग्रेसको सत्ता-समीकरण नबनोस् भन्ने चिन्ताबाट मात्र प्रेरित रहेको यथार्थलाई सुशील कोइरालाले बुझ्न सक्नुभएको अवस्थामा नेपाली राजनीतिले कोल्टे फेर्नसक्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।