धार-आधार वा तार, वार-पार गराउने ।
‘जनता’ ममता-माया, हारजस्तै सजाउने ।।
साधु-चोर, धनी-दीन, ‘जनतै’ गर्छ आदर ।
विद्वान्-मूर्ख सबै भन्छन्, ‘जनता’ छन् समादर ।।
‘जनता’ शब्द बोकेर, क्रान्तिकारी कराउँछ ।
‘जनता’ शब्द खोकेर, प्रतिगामी रमाउँछ ।।
कवि-लेखक-डाँका वा रङ्गकर्मी नयाँ-नयाँ ।।
जनता ! देवता ! मान्दछन् अविनाशी छ चेतना ।।
राजा-सामन्त सम्राट, ढाल-ढोल बनाउन ।
जनता ! जनता ! भन्थे, एकतन्त्र समाउन ।।
सत्ता-पिपासु झेलीले, जनता ‘देवता’ भनी ।
झुक्याउँछन् कैयौँ काल, चर्का कीटाणु हुन् यिनी ।।
अवमूल्यन गर्दैछौ, ‘जनता-देवता’ यहाँ ।
जनतन्त्र दबाएर नेतातन्त्र नयाँ- नयाँ ।।
गजल-प्रकाश बस्नेत
चामल छैन भकारीमा खाना मेरो हलुवा भयो
अमिरको धन हीरा, मेरोचाहिँ बालुवा भयो ।
ब्रेकफास्टमा केक कफी खान्छन् रे पैसावाल
मेरो मुखमा मीठो पिठो खाजा पुवा भयो ।
क्यासिनो के हो कस्तो होला कौतुहल हुन्छ मनमा
चाडबाडमा भुल्ने रम्ने साधन तासजुवा भयो ।
पानी होइन वाटर खान्छन् रे रातिचाहिँ क्वाटर
पानी भने नि वाटर भने नि मेरो तिर्खा कुवा भयो ।
धनी धनमा सवार म कल्पनामा उड्छु
उनको गति खरायो झैं मेरो गति कछुवा भयो ।
कस्ती सुन्दरी-अरुणबहादुर खत्री नदी
यो सानो झुपडीमा
पलेँटी कसेर मैले
दु:ख पीडा हटाउन
भनेर कविता कोरेको छु
मेरो मनभित्रको घाउमा
मल्हम लगाइदिने
तिमै नै हौ
निस्वार्थ र तटस्थ
भाव बोकी हिँड्ने
तिमी साँच्चिकै
कवयित्री हौ नि
जस्तो मलाई लाग्छ
घाम, पानी, आँधीको
सामना गर्ने तिमी
मनका वेदनाहरू
कविता कोरेर
निको पार्ने
कस्ती सुन्दरी छौ
है तिमी प्रिय
प्रतिक्रिया