चिनियाँ कारागारका चार सयमा पनि कोरोना भाइरसको संक्रमण

चिनियाँ कारागारका चार सयमा पनि कोरोना भाइरसको संक्रमण


कोरोना भाइरसको संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार दुई सय नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरूले यहाँका कारागारमा पनि यसको संक्रमण देखिएको बताएका छ्न् । शुक्रबार चिनियाँ अधिकारीहरूले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब चार सय सय व्यक्ति कोरोना भाइरसबाट संक्र्रमित भएको पाइएको हो ।

यस प्राणघातक रोगको संक्रमण रोक्ने प्रयास चिनियाँ अधिकारीहरूले खोजिरहेका बेला थुनामा रहेका व्यक्तिमा समेत यस्तो अवस्था पाइएको खबरले यस महामारीको विषयमा चिनियाँ अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र दुई सय कैदीमा कोरोना भाइरसको संक्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको बताइएको छ ।

कारागार प्रशासनका निर्देशक वु लेईले शुक्रबार सार्वजनिक भएको यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायको कार्यान्वयन प्रभावकारी रूपमा अघि बढ्न नसकेको देखिएको बताए । यस्तै चीनको पूर्वी प्रान्त झेजिङको सिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको संक्रमण देखिएपछि सो कारगाराका निर्देशकले जानकारी दिएका छन् ।

गत वर्ष अन्त्यमा भाइरस देखापरेको मध्य प्रान्त हुबेईको कारागारले बिहीबार २ सय ७१ कोरोना भाइरसको थप संक्रमण देखिएको बताएको छ । हुबेई प्रान्तमा बिहीबार ४११ व्यक्तिमा कोरोना भाइरसका नयाँ संक्रमित देखिएको पुष्टि भएको थियो । तर, केही समयपछि कारागारमा देखिएको संख्यासहित ६३१ जनामा सो भाइरसको संक्रमण देखिएको जानकारी दिइएको छ ।

यस प्राणघातक भाइरसका कारण चीनको जनजीवन झनभन्दा झन प्रभावित हुँदै गएको बताइएको छ । यहाँका विद्यालय बन्द छन् भने बाहिर कतैबाट बेइजिङ पुगेका चिनियाँ नागरिकलाई पनि कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा बस्न भनेको छ ।

त्यसैगरी बिहीबार नयाँ ठाउँका दुई नयाँ अस्पतालमा यस संक्रमणका बिरामी देखिएपछि बेइजिङले पनि थप सतर्कता अपनाउनुपर्ने भनेको छ । बेइजिङका फक्सिङ अस्पतालमा ३६ जना बिरामी भेटिएका छन् भने त्यहाँ उपचारमा कार्यरत केही स्वास्थ्यकर्मी पनि बिरामी परेका छन् । ती स्वास्थ्यकर्मीका परिवारका सदस्यमा पनि यसको संक्रमण देखिएको बताइएको छ ।
रासस–एएफपी