■ सविना कार्की, दक्षिण कोरिया
लामो समयदेखि दक्षिण कोरियामा उपचार गराइरहेका प्युठानका सुरज जिसीले शनिबार (१० फागुन) अस्पतालको बेडबाट छुटकारा पाएका छन् । अब उनी नागार्जुन गुम्बामा बस्ने छन्, त्यहाँ उनका लागि निःशुल्क खाने बस्ने व्यवस्था मिलाइएको छ । पूर्ण रुपमा निको नभएसम्म नियमित चेकजाँचका लागि उनले अस्पताल जानुपर्ने छ ।
कोरिया प्रवेश गरेको दुई महिनामै सवारी दुर्घटनामा पर्दा जिसी गत वर्ष मार्चदेखि उपचारको क्रममा अस्पतालमा रहेका थिए । लामो समयसम्म अस्पतालमा उपचार गराउँदा आर्थिक संकटमा परेका सुरजको सहयोगार्थ राप्ती समाज दक्षिण कोरियाले संचालन गरेको सहयोग अभियानबाट संकलित रकमबाट अस्पतालमा आएको खर्च भुक्तानी गरेपछि जिसीलाई शनिबार राप्ती समाजका सल्लाहकार संयोजक शुक थापा तथा हामी नेपाली ग्लोबल दक्षिण कोरियाका अध्यक्ष अम्बिका डिसी पार्कको रोहबरमा उइजङ्बु आईयम योयाङ अस्पतालबाट गुम्बा लगिएको हो ।
राप्ती समाज दक्षिण कोरियाले सञ्चालन गरेको सहयोग अभियान तथा पहलबाट ८६ लाख ३४ हजार ९९६ वन संकलन भएको बताइएको छ । जसमा राप्ती समाजले सहयोगका लागि आव्हान गरेको बैंक खातामा जम्मा ४७ लाख २५ हजार ९९६ वन रकम संकलन भएको समाजका कोषाध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन् ।
यसबाहेक सहयोग अभियान सुरु भएपछि राप्ती समाजको पहलमा संस्थागत र व्यक्तिगत रुपमा अरु ४० लाख ३० हजार वन सुरजका लागि सहयोग प्राप्त भएको छ । जसअन्तर्गत नेपालीका लागि नेपाली दक्षिण कोरियाको आपातकालीन राहात कोषबाट १० लाख वन, हामी नेपाली दक्षिण कोरियाको ५ लाख वन, त्यसैगरी सिन्धुपालचोक समाज दक्षिण कोरियाबाट ४ लाख १ हजार वन, सिहुं आन्सान एफसी दामु शर्माको पहलमा ६ लाख ६७ हजार वन, यमन सेन ठकुरीको पहलमा १० लाख १० हजार वन र विरामी सुरज जिसीको व्यक्तिगत खातामा ३ लाख २१ हजार वन गरी जम्मा ८६ लाख ३४ हजार ९९६ वन सहयोग प्राप्त भएको अभियानका संयोजक ओमलाल वलीले जानकारी दिए ।
संकलन भएको सम्पुर्ण रकम बिरामी जिसीलाई प्रदान गरिएको उनले बताए । अस्पतालमा आएको खर्च ५४ लाख ३७ हजार ४९६ भुक्तानी गरिएको र बाँकी रकम नियमित उपचारमा खर्च गर्नेगरी सुरजलार्ई हस्तान्तरण गरिएको बताइएको छ ।
उनको उपचारमा सुरुदेखि नै एनआरएनए कोरियाकी निवर्तमान अथ्यक्ष तथा समाजसेवी लक्ष्मी गुरुङको विशेष साथ र सहयोग रहेको छ । उनकै पहलमा गुम्बामा बस्ने व्यवस्था मिलाइएको हो ।
यसैबीच सुरज जिसी सहयोग अभियानमा साथ–सहयोग र हौसला प्रदान गर्ने सबै कोरियावासी नेपाली, सामाजिक संघ–संस्था सबैप्रति राप्ती समाज दक्षिण कोरियाले धन्यवाद ज्ञापन गरेको छ ।
समाजका अध्यक्ष दिलमोहन पुनले एक नेपालीलार्इ दुःख पर्दा अरु नेपालीले देखायको यो सदायतालार्इ प्रवासी भूमिमा सानो सहयोग मात्र नभर्इ वास्तवमा नेपाली नेपालीबीचको एकता, भाइचारा तथा आत्मीयता को एउटा उच्च नमुनाको रुपमा लिएको बताए । सहयोग अभियान जनवरी २६ देखि फेब्रुअरी २० सम्म सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया