कोरियामा कोरोना भाइरसबाट तीनको मृत्यु, नेपाली समुदायमा बढ्यो सन्त्रास

कोरियामा कोरोना भाइरसबाट तीनको मृत्यु, नेपाली समुदायमा बढ्यो सन्त्रास


■ सविना कार्की, दक्षिण कोरिया

चीन हुँदै विश्वका अन्य मुलुकमा फैलिन पुगेको कोरोना भाइरसबाट दक्षिण कोरियामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । शनिबार (२२ फेब्रुअरी) साँझसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ३३ पुगिसकेको छ । दक्षिण कोरियामा एकैदिनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर बढेको केवियास र एमबीसी कोरियन च्यानलले प्रशारण गरेका छन् । संक्रमण संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

कोरोना भाइरससंक्रमित संख्या बढेसँगै कोरियामा कार्यरत नेपालीहरुमा पनि त्रास फैलिएको छ । कोरोना भाइरसको त्रासले कम्पनीमा काम गर्न जान, बजारमा सपिङ गर्न जान र कोरियामै रहेकी आफ्नी श्रीमती भेट्न जानसमेत नपाएको यहाँ कार्यरत भुवन चौलागाईं बताउँछन् ।

कोरना भाइरसको त्रास कोरियामा छोटो समयमै भयावह रुपमा फैलिएको छ । कोरियन सरकारले सम्पुर्ण नागरिकलाई सुरक्षित रहन र निषेधित गरिएको क्षेत्रमा नजान आग्रह गरेको छ । कोरियाको थेगु प्रान्त हुँदै शुरु भएको संक्रमण अहिले कोरियाको सउल, खाङ्वन, ख्यङ्गि, छन्बोक, ख्वाङ्जु, छन्नाम, छेजु, उल्सान, बुसानलगायत स्थानमा समेत देखिएको छ । जसमध्ये थेगुबाट सबैभन्दा धेरै कोराना भाइरल संक्रमित फेलापरेका छन् । अहिले थेगुमा कोरियन सरकारले विशेष निगरानी राखेको छ । भाइरस अत्याधिक बढ्ने डरले कोरोना भाइसरको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशीहरुलाई समेत सरकारी स्वास्थ्य संस्थामा गई चेकजाँच गराउन कोरियन सरकारले आव्हान गरेको छ । सोको बापत कानुनी हैसियत सोधी स्वदेश नफर्काउने समेत जानकारी गराएको छ ।

कोरियन सरकारले अहिलेसम्म देशबाहिरबाटआउने संक्रमणलाई रोक्न ध्यान केन्द्रित गरिसकेको र अबदेखि सरकारले भाइरसलाई स्थानीय रूपमा फैलनबाट रोक्न जोडदार ढंगले लागिपरेको कोरियाका प्रधानमन्त्री चुङ सिए क्युनले बताएका छन् । प्रधानमन्त्रीले यो परिस्थितिसँग जुझ्न केन्द्र र स्थानीय सरकार, व्यक्ति र चिकित्सा क्षेत्रको ठोस प्रयासको लागि आग्रहसमेत गरेका छन् ।