दिनको दुई-तीनवटा लास आउनु सामान्य…

दिनको दुई-तीनवटा लास आउनु सामान्य…


-रमा सिंह
‘बस्नुस् बस्नुस्…
आफ्नो सिटमा बस्नुस् !’
असोज ३० गते गल्फ एयरको बहराइन उडानबाट काठमाडौं आउन विमान चढ्नासाथ पत्यारै नलाग्ने गरी सुन्न पुगेको शब्द । विदेशी जहाजमा विदेशी लवजमा नेपाली शब्द बोलेको सुनेर आँखा दौडाएँ । अङ्ग्रेजीमा ‘एअलापोना’ लेखिएको नेमट्याग लगाएकी विमान परिचारिकाले खाडी राष्ट्रमा मजदुरी गरेर फर्केका नेपाली युवालाई आग्रह गर्दै थिइन् । करिब साढे चार घण्टाको उडानको समयमा ती विमान परिचारिकासँग वार्तालाप गर्ने अठोट गर्दै नेपाली दाजुभाइका बारेमा जान्ने उत्सुकता जाग्यो र भीम गुरुङसँग कुरा गर्न थालेँ । कुवेतमा चार वर्ष काम गरेर बिदामा घर र्फकन लागेका उनी ऋण चुक्ता गरी घर-परिवारलाई हेर्न सकेकोमा सन्तुष्ट भए पनि लामो समयसम्म भाषा, धर्म, संस्कृति केही पनि नमिल्ने देशमा बस्दाको पीडाले राम्रै घर गरेको थियो उनमा ।
अचम्मको कुरा त दुई सय ५० भन्दा बढी यात्रु बोकेको ३३० एयरबसमा १०/१५ जनाभन्दा बढी विदेशी थिएनन्, बाँकी सबै नेपाली नै थिए । विमानको बीचमा रहेको मेरो सिटअगाडितिरबाट पनि नेपाली बोलेको सुनिन्थ्यो र पछाडिबाट पनि नेपाली भाषामै कुराकानी भएको आवाज आइरहेको थियो ।
विमान उडेको केहीबेरमै खाना बाँड्ने क्रममा तिनै परिचारिका मेरो छेउमा आइपुग्दासाथ मैले प्रश्न तेर्साएँ, ‘तपाईंले कहाँ र कसरी नेपाली सिक्नुभयो -‘ उनले नेपाली बोलेको देखेर मैले पनि नेपालीमै प्रश्न गरेकी थिएँ । तर, उनले अङ्ग्रेजीमा बोल्न आग्रह गरेपछिको प्रश्नको जवाफमा उनले भनिन्, ‘बहराइन-काठमाडौं रुटमा धेरै नेपाली अङ्ग्रेजी बुझ्दैनन्, संवादहीनताको स्थितिले गर्दा सामान्य शिष्टाचारका वाक्य रोमनमा लेखेर कण्ठ गरेका छौँ । हामीलाई कसैले गर्न लगाएको होइन, हामी आफैं बढी व्यावसायिक हुन लागेका हौँ ।’
त्यसपछि फेरि मैले सोधेँ, ‘कुन-कुन वाक्यहरू जान्नुभएको छ -‘ ‘तपाईंको सिट नम्बर ? बोरि्डङ कार्ड ? कुन खाना खानुहुन्छ ? चिकेन, लाट्म् भेजिटेबल…।’ करिब आठवटा वाक्य सुनाएपछि उनले आफूलाई पोल्याण्डको नागरिक भएको पनि बताइन् । अमेरिकाबाट र्फकंदा मैले पाएको त्यो अनुभव अमेरिकामा भेटेका कतिपय नेपाली, जो आफ्ना केटाकेटीलाई नेपाली भाषाको ज्ञान आवश्यक ठान्दैनन्, उहाँहरूसँग साट्न चाहन्छु ।
यसैगरी गल्फ एयरलाई पनि सानो सुझाव दिन चाहन्छु- बहराइन-काठमाडौं फ्लाइटमा हिन्दी भाषामा उद्घोषण गरिन्छ, हिन्दीको सट्टामा नेपाली भाषामै उद्घोषण गर्न सक्नुहुन्छ कि ? यदि त्यस्तो हो भने हामी सित्तैमा उद्घोषण गरिदिन्छौँ, मातृभाषाको संरक्षणका लागि ।
यो प्रसङ्ग श्रम बेच्न विदेशिने नेपाली युवाशक्तिसँग पनि सम्बन्ध राख्छ । खाडी राष्ट्रका विमान नेपालको उडानमा अत्यधिक फाइदामा रहेको तथ्याङ्कले पनि देखाउँछ । तर, हाम्रो आफ्नो विमानसेवा किन सुक्दै गयो कसैले चासो देखाएको छ ? यदि छ भने थाई विमानसेवा र हाम्रो विमानसेवाको इतिहास पल्टाउनुस् त ! हाम्रो देशमै प्रशस्त काम पाउने भए किन विदेशिने थिए कर्मठ हातहरू ? यसबाट के पनि प्रस्ट हुन्छ भने नेपालको देश बनाउने श्रमशक्ति विदेश बनाउन पाखुरा बजार्दै रेमिट्यान्स भित्र्याएर देशलाई डुब्नबाट बचाइरहेका छन्, तर तिनै जनशक्ति विदेशबाट र्फकंदा विमानस्थलका प्रायः सबै कर्मचारीको व्यवहार खरो र रुखो हुन्छ । किनकि, उनीहरू कमरेड प्रचण्डको भाषामा ‘सुकिला मुकिला’ छैनन् ।
यस्तो धेरै कुरामा घोत्लिँदै विमानस्थलबाट बाहिरिँदै गर्दा सुन्दर भविष्यको सपनालाई सपनामै छाडेका एक युवाको लास साउदीबाट आफू आएकै विमानबाट ल्याएको सुनेँ । विमानस्थलका कर्मचारी भन्दै थिए, ‘खाडीराष्ट्रबाट दिनको २/३ वटा लास आउनु अब सामान्य भइसक्यो ।’