भारतमा नेपाल विलय गराउने प्रस्ताव कसरी तुहियो ?

भारतमा नेपाल विलय गराउने प्रस्ताव कसरी तुहियो ?


रेजिडेन्ट मिस्टर चार्ल्स ई. आर. गर्ल्डस्टोन (Resident Mr. Charls E.R. Girdlestone) भारत–मैसुरबाट हाम फाल्दै काठमाडौं आइपुगिसकेका थिए ।

निज रेजिडेन्ट गर्ल्डस्टोन स्व. श्री ३ जंग र स्व. श्री ३ रणोद्वीपहरूसँग ज्यादै राम्रो सम्बन्ध भएकोले निजहरू याने स्व. श्री ३ रणोद्वीप आफ्नै र स्व. श्री ३ जंगका छोरा–नातिहरूकै हत्या भएको साथै यिनी भारत–कस्मिर र मैसुरमा समेत रेजिडेन्ट भइसकेकाले ती भारतीयहरूलाई दबाएझैँ नेपालीलाई पनि दबाई नेपाललाई भारतमा सम्मिलित गर्नेसमेत चेष्टा गरे । यस विषयमा पनि तत्कालीन नेपालस्थित रेजिडेन्सीका डक्टर जी. एच. डी. जिमलेट (Dr. G. H. D. Gimlette) को”Nepal and Nepali” नामक सन् १९२८ को पुस्तकबाट पनि प्रस्ट हुन्छ । निज रेजिडेन्ट गल्र्डस्टोनले नेपाललाई ब्रिटिस–भारतमा सम्मिलित गर्ने पर्छ भन्ने जोडदार आफ्नो विचार व्यक्त गरेका थिए, तर त्यस समय भारत–रसा (Russia) ले भारतमाथि हस्तक्षेप गर्ने भन्ने विषयको ठूलो चर्चा चलेको थियो । रेजिडेन्ट गर्ल्डस्टोनको दुष्टतापूर्ण राय विचार काउन्सिल–अफ–ब्रिटिस–इन्डिया (Councel-of-British-India) मा पेस गरे ।

यस काउन्सिलमा भायसराय र निजका मुनि तीनजना व्यक्तिहरू रहेछन्, जसमा फरेन सेक्रेटरी अफ इन्डिया, मिस्टर एच. एम. डुराण्ड (Foreign Secretary of British ur Mr. H. M. Durand) र ब्रिटिस इन्डियाकै प्रधानसेनापति लर्ड रबर्ट (Comml Chief Lord, Robert) को साथै एक अर्का ब्रिटिस–भारत सरकारका उच्च पदाधिकारी थिए । भायसराय लर्ड डफरिन (Viceroy Lord Dufferinc) लाई उपरोक्त तीनजनाले यही सल्लाह दिए कि– ‘यस समय ब्रिटिस–सरकारलाई सैनिक शक्ति बढाई बलियो पार्नु छ । आफूलाई सबै तरहबाट गर्ने नेपाल सरकारलाई समेत दुश्मन बनाउनु त आफू कमजोर बन्नु हो ।

सेनापति लर्ड रबर्टले अगाडि भने कि नेपाल एक सानो पहाडी राष्ट्र हो औ जुन राष्ट्रको आय नाम मात्रको छ, साथै हाम्रो सम्झौताअनुसार हामीले चाहेको समयमा ४० हजार ‘रंगरुट’ पाएकै छौँ । सो ‘रंगरुट’ भर्ती केन्द्रसमेत नेपाल सरकारले आफ्नै राष्ट्रभित्रै ठाउँ–ठाउँमा खोलिदिएकै छ । परेमा नेपाल सरकारले सैनिक सहायतासमेत दिएकै छ । ‘गोर्खा’ सेना हामीले राखेकै छौँ । भारतमा भारतीय राजपुतको बहादुरीको इतिहास मात्र पाउँछौँ, त्यस्तै नेपाललाई ब्रिटिस–भारतमा सम्मिलित गरेमा पछि गोर्खालीको बहादुरी हामीले पाउँदैनौँ खालि इतिहास मात्र पाइने भएकाले मेरो रायमा नेपाल सरकारलाई ब्रिटिस–भारतमा सम्मिलित गर्न मनासिव देख्दिनँ । यिनै कुराहरूलाई मान्यता दिई त्यस समय सबैले रेजिडेन्ट गल्र्डस्टोनको भत्सर्ना (हँस्सी) गरे । भायसराय लर्ड डफरिन पनि स्व. श्री ३ रणोद्वीपसँग रिझिएबाट खासगरी उनकै पक्षमा थिए, तर राजनीतिक कारणवश उपर्युक्त सबैको राय मनासिव भएबाट सो रायलाई समर्थन गर्न करै लागेकोले श्री ३ वीरशमशेरलाई मान्यता दिन पनि करै लाग्यो ।

दुई महिनापछि मात्र जनवरी ३० ता. १८८६ ई. मा भायसराय लर्ड डफरिनले श्री ३ वीरलाई मान्यता दिई श्री ५ महाराजाधिराज पृथ्वीलाई पत्र लेखे जुन पत्रको मजवुन यसप्रकार छ :

नोभेम्बर २३ ता. १८८५ ई. को पत्रमा जनरल बबर (वीर) शमशेरलाई सर रणोद्वीपको स्थानमा नियुक्तिको जानकारी प्राप्त भयो । सर रणोद्वीपको र जनरल जगतजंगहरूको मृत्युको खबरलाई दुःखपूर्वक लिएको छु, उनीहरूको पुष्टि गर्न मलाई ठूलो कठिनाइ भएको छ । ब्रिटिस सरकारले सधैँ नेपाल सरकारको आन्तरिक मामलामा हस्तक्षेप गर्न चाहेको छैन र गरेको पनि छैन, अहिले पनि गर्दैन । यी कारणले र सर रणोद्वीप सिंहको स्थानमा तपाईंले जुन सरदारको नियुक्ति गर्नुभएको छ, मेरो जानकारीमा उनी मन्त्रीको मृत्युसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैनन् त्यसकारण तपाईंले स्थापना गर्नुभएको प्रशासनलाई मैले मान्यता दिनुपर्छ, इत्यादि ।

वि.सं. १९४२ माघमै स्व. श्री ३ रणोद्वीप सिंहकी कान्छी महारानीले पनि ३ वीरसँग ‘काशीवास गर्न जान पाऊँ’ भनी आग्रह गरिन् । कान्छी महारानीका साथ श्री ३ रणोद्वीपकी देवकी रानीसाहेव र अरू रानीसाहेवहरूलाई पनि काशी–बनारसतर्फ पठाए । उपर्युक्त व्यक्तिहरू सबैलाई श्री ३ वीरले एकै ठाउँमा राख्ने बन्दोबस्त गरी सबैको निमित्त सालना कं. रु. एक लाख नगद भत्तासमेत ठेकिदिए र इज्जतका साथ काशीमा राख्ने प्रबन्ध मिलाए । साथै उपर्युक्त व्यक्तिहरूलाई श्री ३ वीरका विरोधी अर्थात् माहिली महारानी हरिप्रिया देवी, रणवीरजंग, ध्वज नरसिंहहरूसँग सम्पर्क नराखुन्जेल कं. रु. एक लाख नगद सालना दिने वचन दिई पठाए ।

स्व. श्री ३ जंगकै समयदेखि नै अङ्ग्रेजको समर्थन गर्दै आएको नेपाल सरकार अब सैनिक विद्रोह गरी हत्याएको सरकार र जम्मा बत्तीस वर्षीय युवा प्रधानमन्त्रीप्रति मुख्य विरोधी रेजिडेन्ट गल्र्डस्टोन सन्तुष्ट भएनन्, कारण यिनी स्व. श्री ३ जंग र स्व. श्री ३ रणोद्वीप सिंह दुवैप्रति ज्यादै स्नेह राख्थे । श्री ३ रणोद्वीप सिंहको हत्या, श्री ३ जंगका छोरा–नातिहरूको समेत हत्या र निष्कासनबाट निज क्रूद्ध हुनुको साथै कट्टर विरोधीसमेत भए, तसर्थ निजले खुलेआम विरोध गरी श्री ३ वीरलाई दुःख दिन थाले ।

वि.सं. १९४२ फागुन १ गतेका दिन श्री ३ वीर र रेजिडेन्ट गर्ल्डस्टोनबीच ‘रंगरुट’ विषय अरू विकसित गर्नुपर्ने कुरालाई लिई परस्परमा वादविवाद भयो, जसमा श्री ३ वीरले ‘रंगरुट’ बढाउने विषयमा सहयोग गरेकै छ अरू यसभन्दा विकसित गर्नुपरेमा के–के, कसो–कसो गर्नपर्ने हो सोको जानकारी दिनुहोस् हामी त्यसको सोचविचार र सरसल्लाह गरी मात्र जवाफ दिनेछौँ भने । श्री ३ वीरले रेजिडेन्ट गल्र्डस्टोनको भावना बुझिसकेका थिए भने भारतबाट भायसराय औ गभर्नर जनरलबाट उनलाई मान्यता प्राप्त भइसकेको थियो, तसर्थ उनको घुर्क्याइँलाई तत्कालीन नेपालका उच्च पदाधिकारीहरूले हँस्सी गर्दथे तापनि देखाउने थिएनन् ।

(श्री ३ हरूको तथ्य वृत्तान्त : पुरुषोत्तमशमशेर जबरा)