क्वारेन्टाइनमा राखिएका १ सय ९३ नेपाली आगामी मंगलबार घर फर्कंदै

क्वारेन्टाइनमा राखिएका १ सय ९३ नेपाली आगामी मंगलबार घर फर्कंदै


कोरोना भाइरस डिजिज (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गतेदेखि भक्तपुरको क्वारेन्टाइनमा राखिएका १ सय ९३ नेपालीलाई १७औँ दिनमा घर फर्काइने भएको छ ।

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाले क्वारेन्टाइनमा बसेको आज चौधौँ दिन हो ।

यसअघि ४ गते नै उनीहरूको नाक र घाँटीको स्वाब (सास) नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिम पटक आज शनिबार (१७ फागुन) फेरि सबैको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरि परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । शनिबार शुरुमा नगरकोटमा रहेका १८ जनाको बिहान ८ः०० र त्यसपछि त्यही टोलीले ११ः०० बजेसम्ममा खरिपाटीमा रहेका १७५ जनाको नाक र घाँटीबाट स्वाबको नमूना सङ्कलन गरिने मन्त्रालयले जनाएको छ ।

शुरुको दिन गरेको स्वाब परीक्षणदेखि हालसम्म दैनिक दुईपटक भएको ज्वरो नापमा कसैमा पनि कोरोनाको लक्षण नदेखिएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिनुभएका नेपाली सेनाका क्याप्टेन डा. नवीन फुयाँलले जानकारी दिएका छन् । क्वारेन्टाइन स्थलमा स्वास्थ्य परामर्श पनि भइरहेको र कसैलाई पनि कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको जानकारी दिँदै उनले शनिबार सङ्कलन गरिने स्वाबको राष्ट्रिय प्रयोगशालामा परीक्षण गरी आउने रिपोर्टमा नेगेटिभ देखिए क्वारेन्टाइनमा रहेका सबैलाई घर फर्काइने भएको हो ।

आज सङ्कलन गरिने ऱ्याल नमूना परीक्षणको रिपोर्ट १७ गतेसम्म आउने र ढिलोमा १८ गतेसम्ममा उहाँहरूलाई घर फर्काइने भएको छ । अहिले पनि धेरै जनाको रिपोर्ट आउनुपर्ने भएकाले कम्तीमा पनि रिपोर्ट आउन तीन दिन लाग्ने र सबैको नेगेटिभ रिपोर्ट आएपछि सरकारको निर्देशन तयारीअनुसार घर फर्काइने डा. फुयाँललाई उद्धृत गर्दै राससले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुई हप्तापछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानअनुसार नै आज शनिबार परीक्षण हुने उनको भनाइ छ । क्वारेन्टाइनमा रहेकाहरू सबैको यहाँ खटिएका चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले दैनिक स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् भने नेपाली सेनाको वीरदल गणको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको कन्ट्रोल रुमबाट सिसी क्यामराको माध्यमबाट पनि उहाँहरूको निगरानी गर्नाका साथै आवश्यकताअनुसार माग गरेका सामान पुऱ्याइदिने व्यवस्था गरिएको छ ।