देउवाले तोके काङ्ग्रेसका १३ केन्द्रीय विभाग प्रमुख

देउवाले तोके काङ्ग्रेसका १३ केन्द्रीय विभाग प्रमुख


एक वर्षपछि हुने पार्टी महाधिवेशनलाई मध्यनजर गरी केन्द्रिय स्तरका नेताहरू तरङ्गित हुन थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् ।

सभापति देउवाले शनिबार (१७ फागुन) पार्टी–विधानअनुसार पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुङ्गानालाई वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग र महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिका अनुसार काङ्ग्रेसका केन्द्रीय सदस्यहरू शङ्कर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मा (प्रवक्ता) लाई सूचना, सञ्चार तथा प्रचार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा टे«ड युनियन विभागको प्रमुखमा मनोनयन गरिएको छ ।

पार्टीको विधान तथा नियमावलीको व्यवस्थाबमोजिम सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ)लाई मनोनयन गरेका छन् ।