मोहिउद्दीन यासिनद्वारा मलेसियाको नयाँ प्रधानमन्त्रीमा शपथ

मोहिउद्दीन यासिनद्वारा मलेसियाको नयाँ प्रधानमन्त्रीमा शपथ


मलेसियामा पूर्वगृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिएका छन् । ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय भएको छ । पूर्वप्रधानमन्त्री महाथिरले वर्तमान सरकारको गठन अवैधानिक रहेको दाबी गरेका छन् ।

सन् २०१८ मा ऐतिहासिक विजयका साथ उदय भएको महाथिरको सुधारवादी ‘प्याक्ट अफ होप’ नामको गठबन्धनभित्र मौलाएको आन्तरिक कलहकै कारण सरकार पतन भएको थियो । सत्ताकलहलाई थामथुम पार्नुको साटो प्रधानमन्त्रीको पदबाटै राजीनामा दिएका महाथिरले सर्वपक्षीय सरकार गठन गर्ने प्रयास गरे पनि महाथिरको त्यो प्रयास विफल भयो ।

मलेसियाको राजनीतिमा कमै चिनिएका यासिनले नयाँ गठबन्धनको नेतृत्व गरी सरकार गठन गरेका छन् । शनिबार राजाले मोहिउद्दीनलाई प्रधानमन्त्रीको रूपमा छनोट गर्ने निर्णय गरेलगत्तै महाथिर र उनको दलका नेताहरू स्तब्ध भएका थिए । महाथिर र उनका सहयोगीले आफूहरूसँग पर्याप्त समर्थन रहेको दाबी गरिरहेका थिए । प्रजातान्त्रिक तवरले चुनिएको सरकारलाई जबर्जस्ती सत्ताच्यूत गरिएको भन्दै उनीहरूले विरोध जनाएका छन् ।

मोहिउद्दीनको शपथग्रहण समारोह हुनुअघि महाथिरले उनीमाथि विश्वासघात भएको आरोप लगाउँदै नयाँ प्रधानमन्त्रीले संसदबाट बहुमत ल्याएर देखाउन चुनौती दिए । महाथिरको उक्त मन्तव्यका कारण मुलुकको राजनीतिक संकट जारी रहेको जानकारहरूको भनाइ छ ।

महाथिरले भने, ‘यो एकदम अनौठो कुरा हो । हार्नेहरूले सरकार बनाएका छन्, विजेताहरू विपक्षीमा छन् । यो त कानुनी शासनको विपरीत हो ।’ मुहिउद्दीनको गठबन्धनमा भ्रष्टाचारको आरोप खेपिरहेका पूर्वप्रधानमन्त्री नजिव रजाकको नेतृत्वमा रहेको युनाइटेड मलेज नेसनल अर्गनाइजेसन (यूएमएनओ)का साथै कडा मुस्लिम कानुनको वकालत गर्ने कट्टरपन्थी समूहहरू रहेका छन् । पूर्वप्रधानमन्त्री नजिब अहिले भ्रष्टाचारसम्बन्धी मुद्दा खेपिरहेका छन् ।

महाथिरले अन्तिम समयसम्म पनि आफूसँग बहुमत रहेको दाबी गरेका थिए, तर मुहिउद्दीनको शपथ कार्यक्रम आइतबार बिहानै गरिएको थियो । महाथिरको गठबन्धनले उक्त समारोह नै बहिस्कार गरेको थियो ।
रासस–एएफपी