कोरोनाको असर : इरान, इटाली र दक्षिण कोरियाबाट आउने यात्रुमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध

कोरोनाको असर : इरान, इटाली र दक्षिण कोरियाबाट आउने यात्रुमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध


संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र इरान भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध पनि लगाइने जानकारी दिए । यही सर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ ।

अमेरिकी स्वास्थ्य विभागले कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको घोषणा गरेलगत्तै अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको हो । उपराष्ट्रपति पेन्सले इरानी नागरिकमाथि यात्रा प्रतिबन्ध पहिल्यैदेखि रहे पनि विगत १४ दिनयता इरान भ्रमण गरेका कुनै पनि विदेशीलाई अमेरिका प्रवेश गर्न नदिइने बताए ।

उनले इटाली र दक्षिण कोरियाका कोरोना प्रभावित इलाकामा भ्रमण नगर्न सल्लाह दिइएको पनि बताए । त्यस अवसरमा राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकामा २२ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिँदै पछिल्लो परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताए । उनले कोरोना भाइरसको खोप निर्माणका सन्दर्भमा कुराकानी गर्न अमेरिकाका विशिष्ट औषधि निर्माता कम्पनीलाई छलफलका लागि आमन्त्रण गरेको जानकारी दिए ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस बेलायत, सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, भारतसमेत विश्वका ४५ भन्दा बढी देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रूपमा घोषणा गरेको छ ।

चिनियाँ स्वास्थ्य आयोगले शनिबार कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ । चीनमा मात्र हालसम्म दुई हजार ८ सय ३५ जनाको ज्यान गइसकेको छ ।
रासस–एएनआई