एक वर्षभित्रै इजरायलमा तेस्रोपटक आमनिर्वाचन

एक वर्षभित्रै इजरायलमा तेस्रोपटक आमनिर्वाचन


इजरायलमा सोमबार बिहानबाट मतदान शुरु भएको छ । मुख्य दलबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षभित्रै आज तेस्रो आमनिर्वाचनको मतदान शुरु भएको हो ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको एक फौजदारी अभियोग लागे पनि आगामी चुनावी प्रतिस्पर्धा निकै रोचक हुने संकेत गरेको छ । यस निर्वाचनमा ६४ लाख योग्य मतदाता रहेका जनाइएको छ ।

गत वर्ष अप्रिल र सेप्टेम्बरमा सम्पन्न दुईवटा चुनावमा दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका मुख्य प्रतिद्वन्द्वी ब्लू एन्ड ह्वाइट पार्टीका अध्यक्ष बेन्नी गान्जले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन् । उनीहरू दुवैले सरकार गठनका लागि साना दलसँग पनि समझदारी निर्माण गर्न नसक्दा तेस्रो चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको बताइएको छ ।

तर, दुवै पक्षले बहुमतको अभाव हुने अपेक्षा गरेका छन् । पटकपटकको चुनावबाट थकित भइसकेका इजरायली यस आमचुनावमा पनि त्यति उत्साह देखाएका छैनन् । राजनीतिक सहमति नभए वर्षान्तमा चौथो चुनाव हुने अड्कलबाजी गर्न थालिएको छ ।

अघिल्लो चुनावभन्दा यसपटक भिन्न अवस्था देखापर्दै छ । इजरायलका सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री रहेका नेतान्याहुमाथि पदमै रहँदा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको थियो ।

गत नोभेम्बरमा उनीमाथिका प्रमाण सार्वजनिक गरिएको थियो भने गत महिना अदालतमा मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा उनीमाथि घुसखोरी, धोखाधडी र विश्वास भंग गरेको आरोप लगाइएको छ । प्रधानमन्त्री नेतान्याहुले आफूविरुद्ध लगाइएका आरोप झुटा रहेको भन्दै निरन्तर अस्वीकार गरिरहेका छन् । उनीमाथि लागेको सबैभन्दा गम्भीर आरोप टेलिकम क्षेत्रको रहेको छ ।

नेतान्याहुमाथिको मुद्दाको सुनुवाइ आगामी मार्च १७ तारिखबाट शुरु हुँदै छ । पछिल्ला चुनावी मतसर्वेक्षणले नेतान्याहूको लिकुड पार्टी र ब्लु एन्ड ह्वाइट पार्टी दुवैले संसदमा बहुमत जुटाउन नसक्ने देखाएका छन् । इजरायली संसद् नेसेटमा बहुमत प्राप्त गर्न ६१ सिट आवश्यक पर्दछ ।
रासस–एएफपी