कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो, ८९ हजार संक्रमित, ६० देशमा फैलियो

कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो, ८९ हजार संक्रमित, ६० देशमा फैलियो


चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस संक्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको सोमबार जनाइएको छ ।

चीनमा मात्र यस भाइरसका कारण दुई हजार २ हजार नौ सय १२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ । हाल चीनमा यस रोगबाट ज्यान गुमाउने सबै व्यक्ति हुबेई प्रान्तका रहेको पनि समाचारमा जनाइएको छ । यस भाइरसका कारण मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुबेई प्रान्तका रहेका छन् ।

गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको यस भाइरसको संक्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ । चीनबाहेक विश्वका अन्य १० देशका मानिसको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । इरानमा हालसम्म ५४ जनाको मृत्यु भएको पुष्टि भएको छ । इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यस भाइरसका कारण विश्वभर कम्तीमा ८९ हजार जनामा संक्रमण भएको पुष्टि भएको छ । इटलीमा ४८ घन्टामा संक्रमित मानिसको दर दोब्बर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ । त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा करिब १७ सय जनामा संक्रमण भएको पुष्टि भएको छ । बेलायतमा ३६ जनामा संक्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमवार आपतकालीन बैठक बोलाएका छन् ।

चीनपछि सर्वाधिक संक्रमण देखिएको दक्षिण कोरियामा थप पाँच सयजना संक्रमित भेटिएका छन् । त्यहाँ चार हजार दुई सय १२ मा संक्रमण भएको सरकारी तथ्यांक रहेको समाचारमा जनाइएको छ ।
रासस–एएफपी