अमेरिकाको टेनेसीमा भीषण आँधी, दुई दर्जन व्यक्तिको ज्यान गयो

अमेरिकाको टेनेसीमा भीषण आँधी, दुई दर्जन व्यक्तिको ज्यान गयो


अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी दुई दर्जनभन्दा बढि मानिसको ज्यान गएको छ । स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण शुरुमा आठ व्यक्तिको मृत्यु भएको बताइए पनि मृतकको संख्या बढेर पच्चीस पुगेको छ भने धेरै भौतिक संरचनाहरूमा क्षति पुगेको अमेरिकी अधिकारीले बताएका छन् । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पुऱ्याएको बताइएको छ ।

टेनिसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पुऱ्याएको क्षतिबारे जानकारी दिँदै राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको बताएका एएफपीले जनाएको छ ।

न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण राजधानीका विभिन्न ४० स्थानका भौतिक संरचनामा क्षति पुऱ्याएको र अझै पनि धेरै मानिस सम्पर्कबाहिर रहेको उल्लेख गरेको छ ।

नाशभिलबाट ८० माइल पूर्वमा रहेको पट्नम काउन्टीमा सबैभन्दा बढी क्षति भएको र त्यहाँ डेढ दर्जन मानिसले ज्यान गुमाएका छन् । हजारौँ मानिस विद्यूत् विना रहन बाध्य भएका छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्पले टेनिसीको भ्रमण गर्ने तयारी गरेका बताइएको छ ।