धुर्मुस सुन्तली फाउण्डेशनलाई गल्कोट स्पोर्ट्स क्लब टोकियोको सहयोग

धुर्मुस सुन्तली फाउण्डेशनलाई गल्कोट स्पोर्ट्स क्लब टोकियोको सहयोग


■ विशेष प्रतिनिधि, जापान

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मुख्य नाराका साथ सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले स्थापना कालदेखि नै नेपालको राष्ट्रिय खेल भलिबलमार्फत जापानमा रहने खेलाडीहरुलाई एउटै मालामा उन्ने कार्य गर्दै आएको छ भने स्थापना कालदेखि नै निरन्तर खेलकुद क्षेत्रसँगै सामाजिक कार्यहरुमा पनि थुप्रै यस्ता आर्थिक सहयोग गर्दै आइरहेको छ।

यसैको निरन्तरताअन्तर्गत गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले धुर्मुस सुन्तली फाउण्डेशनलाई चार लाख पाँच हज़ार रुपैयाँ सहयोग रक़म गल्कोट समाज चितवनका पदाधिकारीहरुको समन्वयनमा हस्तान्तरण गरेको छ। सन् २०१७ मा जापान भ्रमणका अवसरमा क्लबको तेस्रो वार्षिकोत्सवमा सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई धुर्मुस सुन्तली फाउण्डेशनका लागि क्लबले एक लाख रुपैयाँ सहयोगस्वरुप हस्तान्तरण गरेको थियो ।

प्रत्येक नेपाली नयाँ वर्ष तथा क्लबको वार्षिकोत्सवको उपलक्ष्यमा जापानमा रनिङ कप भलिबल प्रतियोगिता गर्ने र त्यसबाट हुन आएको मुनाफाबाट खेलसँग सम्बन्धित क्षेत्रमा प्रत्येक वर्ष सहयोग गर्दै आएको । यस वर्ष भने कोरोना भाइरसका कारण जापान सरकारले गरेका केही निर्णयलाई मनन गर्दै केही समय पछाडि अर्थात् २०२० मे महिनाको अन्तिमतिर यहाँको अवस्था हेरेर प्रतियोगिता गर्ने जानकारीसमेत क्लबले दिएको छ।

उक्त प्रतियोगितामा पनि सबैको साथ–सहयोगले पुनः यस्तै सामाजिक कार्यमा निरन्तर सक्रिय रहने विश्वास लिइएको क्लबका अध्यक्ष लक्ष्मण कार्कीले बताए ।