■ ऋचा घिमिरे
हाल नेपालभरका सम्पुर्ण क्याम्पसहरू स्ववियुविहीन भएको यथार्थ सर्वविदित नै छ । ०७३ फाल्गुण १८ गते नेपालभर विभिन्न क्याम्पसमा स्ववियु चुनाव भएको थियोे, जसमध्ये महाराजगन्ज नर्सिङ क्याम्पस पनि एक थियो । त्यो दिन मेरो मानसपटलमा अझै घुमिरहन्छ ।
जब चुनावी समयमा राष्ट्रभरका धेरैजसो क्याम्पसमा झैझगडा भई चुनाव नै रद्ध हुने स्थिति थियो, तर त्यसबेला महाराजगन्ज नर्सिङ क्याम्पसमा शान्त वातावरण थियो । विद्यार्थीहरू लाइनमा क्रमबद्ध भई भोट हाल्ने अधिकार सदुपयोग गर्दै थिए । आफुले खाएका पानी र जुसका भाँडासमेत डस्टबिनमा हालेर क्याम्पसको वातावरणमा समेत आँच नआउने तवरले सहभागिता जनाएका थिए । केही प्रतिपक्षीका बीच ठिकै बोलचाल रहेता पनि समग्रमा निकै शान्तिपूर्ण वातावरण रहेको थियो ।
रातको करिव १२ बजेतिर अनेरास्ववियुको प्यानल नै विजयी भएको कुरा घोषणा भयो । करिव ८ वर्षयता स्ववियु नरहेको अवस्थामा विद्यार्थी संगठनको रूपमा अनेरास्ववियु क्याम्पस कमिटी नै सकृय रहेको रहेछ । लिडरशिप कलामा अगाडि नै रहेता पनि राजनैतिक चेतना बिल्कुलै नरहेको विद्यार्थी थिएँ म । यद्यपि संगठनको कार्यकुशलता, सक्रियता एवम् महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरूलाई लामो समयदेखि शतप्रतिशत रूपमा संगठित र एकत्रित पारेर राखेका आधारमा मेरो रोजाइ अनेरास्ववियु रहन गएको थियो । चुनावी माहोललाई अनुशासित पार्न आइपुगेका केही प्रहरीहरूले शान्त र सहज वातावरण बनाइदिएको भन्दै हामीलाई धन्यवाद दिएर जानुभएको कुरा अझै याद छ मलाई ।
चुनावपछि गठन भएको १५ सदस्यीय कार्यसमितिमा १३ सदस्य अनेरास्ववियुको तर्फबाट र दुई सदस्य नेवि संघको समानुपातिकका तर्फबाट रहेको थियो । म कोषाध्यक्षको पदमा प्रत्यक्ष निर्वाचित भएकी थिएँ । जसरी राष्ट्रका प्रधानमन्त्री कुनै पनि पार्टीभन्दा माथि हुनुहुन्छ, त्यसैगरी महाराजगन्ज नर्सिङ क्याम्पस स्ववियु पनि संगठनभन्दा माथि नै रहन्छ । यही कुरालाई मध्यनजर गर्दै स्ववियुका सम्पुर्ण पदाधिकारीहरू निष्पक्षताका साथ स्ववियुको कार्यकाल सम्पन्न गराउन प्रतिबद्ध भयौँ ।
हाम्रो क्याम्पसमा स्ववियु चलाउन आफ्नै तरिकाका चुनौतीहरू थिए । हरेक विद्यार्थीले प्रायजसो हप्ताको पाँच दिन हुने मर्निङ, इभिनिङ र नाइटको क्लिनिकल पोस्टिङ तथा स्थलगत भ्रमणहरूमा शतप्रतिशत हाजिर हुनपर्ने, प्रायजसो हप्ताको एक दिन हुने थ्योरी क्लासमा ७५ प्रतिशत हाजिरी हुनपर्ने साथै बेलामौकामा भइरहने आन्तरिक प्रयोगात्मक परीक्षाका लागि हरदम तयार रहनुपर्ने भएकाले विद्यार्थी राजनीति गर्ने वातावरण त्यति सहज थिएन । हरेक कक्षाका विद्यार्थीको पोस्टिङ छुट्टाछुट्टै ठाउँमा र छुट्टाछुट्टै समयमा हुने भएकाले केही कार्यक्रम आयोजना गर्नु या सहभागिता बढाउनु पनि आफैंमा चुनौतीपूर्ण रहन्थ्यो । तसर्थ स्ववियुको मर्म हरेक क्याम्पसमा एउटै रहेता पनि प्रत्येक क्याम्पसको माहोलअनुसार त्यहाँको परिस्थितिलाई सुहाउँदो तरिकाले र सम्भाव्यताका आधारमा कुशल नेतृत्व गर्न सक्नु स्ववियु प्रतिनिधिहरूका लागि चुनौतीपूर्ण अवसर हो ।
स्ववियुको स्थापनापश्चात स्ववियु प्रतिनिधिहरूले डटेर क्याम्पसका कमजोरी र विद्यार्थीका समस्या पत्ता लगाइ तिनको समय रहँदै समाधान गर्नु वान्छनीय कुरा हो । महाराजगन्ज नर्सिङ क्याम्पस स्ववियुले पनि स्थापनाकालदेखि नै विद्यार्थीका समस्याको निर्क्योल गर्ने, क्याम्पसमा सुशासनको स्थापना गर्ने एवम् क्याम्पस प्रशासनलाई सीघ्र कार्यसम्पादन गर्न दबाब दिने कार्य गर्दै आएको छ । एउटा भोगाइ यस्तो पनि रह्यो जहाँ क्याम्पसले गर्नै असम्भव छ भनिएको विद्यार्थीको समस्यालाई क्याम्पस, डिन कार्यलय एवम त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी केही दिन क्याम्पस तालाबन्दी गरेर सो समस्या सुल्झाई मर्कामा परेका विद्यार्थीलाई न्याय दिलाउन स्ववियु सफल भएको थियो । प्रत्येक वर्ष ७.५५ को दरले बढ्ने बिएससी नर्सिङ संकायको पढाइ शुल्कको दरलाई शुन्यमा झार्न स्ववियु सफल भएको थियो । प्रायः विद्यार्थीहरू हरदम आफ्नो पढाईमा व्यस्त रहने र प्रशासानिक कुरासँग अवगत नरहने हुँदा सो कुराको फाइदा उठाइ क्याम्पस प्रशासनले गर्न सकिने कार्यहरूमा पनि आफुले अतिरिक्त शक्ति र समय खर्चिनुपर्ने देखेर त्यस्ता कार्य गर्नै नसकिने भन्दै पन्छाउने गरेको कुरा सम्पुर्ण विद्यार्थीहरूलाई ठूलो पाठ भएको थियो ।
समयको समस्या रहने भएता पनि स्ववियुले आफ्नो आगमनसँगै विद्यार्थीहरूलाई तनावयुक्त पढाईको माहोलबाट मुक्त गराउने एवम नवीन चेतना छर्ने उद्देश्यले विभिन्न मनोरञ्जनात्मक, सिर्जनात्मक तथा चेतनामुलक कार्यक्रमहरू गर्दै आएको छ । २०७४ सालको पुष–माघको समयमा नर्सहरूका पेशागत समस्या निर्क्योल गरी नर्सिङ पेशाको उत्थान गर्ने र बिरामीलाई गुणस्तर सेवाप्रदानमा टेवा पुऱ्याउने उद्देश्यले विभिन्न माग राख्दै नेपाल नर्सिङ संघले गरेको एकमहिने आन्दोलनमा पनि महाराजगन्ज नर्सिङ क्याम्पस स्ववियुले अग्रस्थानमा रहेर ठूलो भूमिका निर्वाह गरेको थियो । नयाँ विद्यार्थीहरूलाई क्याम्पस, पढाइ तथा पाठ्यक्रमका बारेमा अवगत गराउनदेखि व्यक्तिगत समस्यामा समेत अभिभावकत्वको भूमिका स्ववियुले बहन गर्दै आएको छ । विद्यार्थीहरू अन्याय र समस्यामा परेका बेला होस् या क्याम्पस प्रशासनले विद्यार्थीका अहितमा हुने निर्णय लिएका बेला होस् अथवा प्रशासन या शिक्षकवर्गद्वारा विद्यार्थीलाई असुविधा भएका बेला होस्, हरेक समयमा स्ववियुले विद्यार्थीका आवाज उठाउँदै र समस्याका समाधान गर्दै आएको कुरा नकार्न सकिन्न ।
स्ववियु निर्वाचनको तीन वर्षमा भर्खरै सबै क्याम्पस स्ववियुविहीन भएको छ भने स्ववियु प्रतिनिधिहरू पनि पढाई सक्किएकाले क्याम्पसबाट निस्किसकेको बेला छ । अन्तिम परीक्षाको तयारी र परीक्षा समापनपछिको केही समयभित्रै म क्याम्पस जाँदा विधार्थीहरूमाझ क्याम्पस, क्यान्टीन तथा छात्राबासका थुप्रै समस्या थेग्रीसकेको मैले पाएँ । स्ववियुको कोषाध्यक्ष भएता पनि हाल कार्यवाहक अध्यक्ष रहेको हुँदा क्याम्पससँग मिटिङ बसेर समस्याको यथाशीघ्र निर्क्योल गर्न पहल त गरेँ तर अबका समस्याहरूको विकल्प अविलम्ब स्ववियु चुनाब गरिनुभन्दा अरु केही हुनै सक्दैन ।
वास्तवमा क्याम्पस र विद्यार्थीहरूका समस्या प्रशासन आफैले सर्वेक्षण गरि विद्यार्थी प्रतिनिधिहरूसँग मासिक बैठक गरी आफैँ सुल्झाउन पर्ने हो । तर क्यामपस प्रशासनले विद्यार्थीहरूका आधारभुत मागहरू समेत पुऱ्याउन नसकेको र विद्यार्थीप्रति कहिल्यै जवाफदेही हुन नसकेको पाएका छौँ । महाराजगन्ज नर्सिङ क्याम्पस स्ववियुको कार्यकालभरि विद्यार्थीहरूले खेप्नुपरेका समस्या स्ववियुले रिपोर्टिङ गर्दा मात्र प्रशासनले थाहा पाउने गरेको र प्रशासनलाई त्यस्को बानी परेको हुँदा स्ववियुले रिपोर्टिङ गरेपछि मात्र जागरुक भएको जस्तो गर्ने अन्यथा चुप बस्ने प्रशासनको अल्छि प्रवृत्ति स्ववियुलाई महसुस हुन आएको छ । यी सबै दृष्टान्तमाथि मध्यनजर गर्दा, महाराजगन्ज नर्सिङ क्याम्पसमा सुशासन कायम गर्नका निमत्त स्ववियु नै एक विकल्प हो भन्ने कुरा भोगाइका आधारमा मेरो निष्कर्ष रहेको छ ।
महाराजगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भइ स्ववियुको कार्यसमिति निर्माण भएता पनि विद्यार्थीबाट स्ववियको निष्पक्षता माथि कहिल्यै प्रश्नचिह्न उठेन जुन हाम्रालागी निकै गौरवको कुरा हो । सबै विद्यार्थीलाई राजनीतिप्रति चासो हुँदैन । यद्यपि राजनीतिप्रति चासो देखाउने समर्थकले स्ववियु र अनेरास्ववियुमार्फत राजनैतिक चेतना प्राप्त गरे भने राजनैतिक चासो नहुनेले लिडरशिपमा आफुलाई अब्बल बनाई आफुमा व्यक्तित्व विकास गर्ने अवसर प्राप्त गरे ।
अन्तिममा, विद्यार्थीमाथि समस्या आइलागेका बेला स्ववियु अग्रपंक्तिमा उभिएर बोल्दा अधिकांश विद्यार्थीहरू स्ववियुको पछाडि बलियो बाँध झै हरदम खडा रहिरहनु हाम्रो स्ववियुको अहोभाग्य हो । विद्यार्थीका लागि स्ववियु सदैव जिवन्त रहोस् !
प्रतिक्रिया