कोरोनाबाट १५ देशका ३२८५ को मृत्यु, ८४ मुलुकका ९५ हजार संक्रमित

कोरोनाबाट १५ देशका ३२८५ को मृत्यु, ८४ मुलुकका ९५ हजार संक्रमित


चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट विश्वका ८४ देशका मानिस संक्रमित बनेका छन् । अहिलेसम्म यसबाट विश्वका ३२८५ मानिसको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट हालसम्म ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् ।

चीनमा मात्रै कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बडी ३०१२ जनाको मृत्यु भइसकेको छ भने ८० हजार चार सय ३० यसबाट संक्रमित भएका छन् ।

चीनपछि ठूलो संख्यामा इटालीमा यसबाट मानिसले ज्यान गुमाएका छन् । इटालीमा हालसम्म यसबाट १०७ जनाको मृत्यु भइसकेको छ । त्यहाँ कोरोनाबाट संक्रमितको संख्या ३ हजार ८९ पुगेपछि त्यहाँका सबै विद्यालय अनिश्चिकालका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय समाचारहरूले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट धेरै ज्यान गुमाउने तेस्रो मुलुकमा इरान रहेको छ । त्यहाँ कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने २९ सय २२ जना संक्रमित बनेका छन् । यसैगरी दक्षिण कोरियामा यसबाट ३५ जनाको मृत्यु भएको छ । त्यहाँका ५ हजार ६ सय २१ व्यक्ति यसबाट संक्रमित बनेका छन् ।

यसैगरी अमेरिकामा ११, जापानमा ६, फ्रान्समा ४, हङकङ, स्पेन, इराक र अस्ट्रेलियामा २–२ तथा थाइल्यान्ड, सनमारिनो, फिलिपिन्स र ताइवान १–१ जनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

अहिलेसम्म कोरोना भाइसरको संक्रमणबाट १५ देशका ३२८५ व्यक्तिले ज्यान गुमाएका छन्, यसमा चीनबाहिरका १४ देशका २ सय ७३ जनाले ज्यान गुमाएका छन् ।