रहेनन् राष्ट्रसंघ पूर्वमहासचिव ह्याभिर पेरेज द क्वेलर

रहेनन् राष्ट्रसंघ पूर्वमहासचिव ह्याभिर पेरेज द क्वेलर


संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरूका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको सय वर्षको उमेरमा निधन भएको छ । उनका छोराका अनुसार क्वेलरको निधन पेरूको राजधानी लिमास्थित आफ्नै निवासमा भएको हो ।

दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका क्वेलरले दक्षिण अमेरिका, अफ्रिका, एसिया र मध्यपूर्वका देशमा शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै कार्यकालमा इरान र इराकबीच झन्डै आठ वर्षको सशस्त्र द्वन्द्व अन्त्य गर्ने उपायस्वरूप दुवै मुलुकबीच सन् १९८८ मा युद्धविराम भएको थियो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति प्रकाशन गरी पूर्वमहासचिव क्वेलरको निधनको खबरबाट आफू अत्यन्त दुःखी भएको बताएका छन् । ‘उहाँ परिपक्व राजनेता, निष्ठावान कूटनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले देखाएको बाटो र प्रभाव राष्ट्रसंघमा अद्यापि अनुभव गर्न सकिन्छ,’ गुटेरेसले भनेका छन् ।

पेरूका राष्ट्रपति मार्टिन भिजकाराले ट्विट गर्दै पूर्वप्रधानमन्त्री क्वेलर प्रतिबद्ध लोकतन्त्रवादी रहेको र उनको प्रतिभाका कारण पेरू विश्वभर चिनिएको बताए ।

क्वेलरले आफ्नो जीवनकालमा युरोप र दक्षिण अमेरिकाका मुलुकमा रहेका पेरूका दूतावासमा सेवा गर्नुका साथै सन् १९४६ मा राष्ट्रसंघीय महासभामा पेरूको प्रतिनिधिमण्डलमा समावेशथिए । राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षतामा बसेको बैठकले सन् १९७४ मा टर्की र ग्रीसबीच शान्ति सम्झौता गराएको थियो । त्यसबखत टर्कीले आक्रमण गरी साइप्रसमाथि आधिपत्य जमाएको थियो ।

सन् १९८१ मा उहाँ संयुक्त राष्ट्रसंघको पाँचौँ महासचिवमा नियुक्त भएका थिए । दक्षिण अमेरिकी क्षेत्रबाट उनी नै पहिलो महासचिव बनेका थिए । यसै अवधिमा अमेरिका र तत्कालीन सोभियत युनियनबीच शीतयुद्ध चरम अवस्थामा पुगेको थियो । सन् १९९१ मा दोस्रो कार्यकाल समाप्त हुनुअघि उनको अग्रसरतामा पश्चिम सहारा क्षेत्रमा व्याप्त तनाव समाप्त भएको थियो भने एल साल्भाडोर, क्याम्बोडिया र निकारागुवामा जारी गृहयुद्ध रोकिएको थियो ।
रासस–एएफपी