गजल-कृष्णप्रसाद बस्याल

गजल-कृष्णप्रसाद बस्याल


कतिचोटि थप्छौ म्याद संविधानसभाको
कस्तो चलन ल्यायौ नेता ! विश्वमै नभा’को

एउटै भई होमिएर आन्दोलनमा लाग्यौ
अहिले भने दलभित्रै मच्चियो रडाको

शान्ति तथा संविधान दिन्छौं भनी भन्थ्यौ
ललिपप हो कि तिमीले हामीलाई देखा’को

सङ्घीयताको सस्तो नारा आँखा चिम्ली लायौ
आँखा खुल्दा देख्ने हौ कि देशै टुक्रा भा’को

जनता त शान्तिसँग गरिखान खोज्छन्
त्यै शान्तिलाई भाँड्न हो कि तिमीले कसम खा’को

गणतन्त्रको तिम्रो नारा देखिँदै छ आज
असुरक्षा, भाँडतन्त्र देशैंभरि छा’को

पाइलैपिच्छे ‘सहमति’ बुँदैपिच्छे ‘सहमति’
पालन गर्न हैन क्यारे देखाउन पो ल्या’को

किन चाहियो संविधान अन्तरिम छँदै छ नि
चार वर्षमै नवौँचोटि संशोधन गरा’को

घर झगडा आफैं गर्ने आफैं नमिल्नेले
सुहाउँछ के अरूलाई मात्र दोष ला’को –

जनतालाई प्रयोगशाला बनाउँछ नेता
सधैंभरि परीक्षण कहिले हुन पाको –

नेताको आकाङ्क्षा र अहम्लाई लाद्न
जनचाहना बन्दै बाल्यौ अन्योलको राँको

नलेखियोस् दन्त्यकथा-विना गुरुङ
आगोको भुङ्ग्रोमा
जिउँदो माछा फ्याँकेर
छट्पटिएको हेर्न लालायितहरू
मानवतालाई कुल्चिएर
आदर्शतालाई लत्याएर
बरु,
मानवबाट गिर्न पछि पर्दैनन्
यहाँ दिनहुँ
षड्यन्त्रका बिरुवाहरू हुर्काइन्छन्
जालझेलका पर्खालहरू उठाइन्छन्
छलकपटका तरबारहरू बोकिन्छन्

शान्तिको नाममा
देखावटी परेवा उडाइन्छन्
र त
त्यसैले
नाटक मञ्चन हुन्छ
तँ हिँडेजस्तो गर- म रोकेजस्तो गर्छु, फुटेजस्तो गर- म मिलेजस्तो गर्छु नि,
सधैंको खिचातानीले
अस्तव्यस्तभित्र रुमलिन बाध्य छ
गाउँ, सहर र देश नै ।
जे भयो भन्छन्- तर केही भएकै छैन
जे गरेँ भन्छन्- सिन्कोसमेत भाँचेकै होइन भने
के देशको विकास होला त ?
भताभुङ्ग स्थितिले
के संविधान लेखिएला त ?
बिगँ्रदो चालले
के स्वाभिमान रहिरहला त ?
त्यसैले
सारा नेपाली
जननी जन्मभूमि मातालाई
खुसी पार्न
असल सन्तति बन्नुपरेको छ
यर्सथ
विश्वले पुजेको शान्तिक्षेत्र भनेर
जहाँ शान्ति नै छैन भने
कसरी हामी नेपाली भनेर गौरवान्वित हुने
त्यसकारण
समयमै सबैले चिन्तन मनन गरौँ
किनभने,
एकादेशमा एउटा नेपाल भन्ने देश थियो
भनेर कसैद्वारा
‘नलेखियोस् दन्त्यकथा’