चीन र दक्षिण कोरियाबाट आउनेलाई क्वारेन्टइनमा राख्न निर्देशन

चीन र दक्षिण कोरियाबाट आउनेलाई क्वारेन्टइनमा राख्न निर्देशन


■ विशेष प्रतिनिधि, टोकियो (जापान)

प्रधानमन्त्री शिन्जो आबेले बिहीबार चीन र दक्षिण कोरियाबाट आएका सबैलाई दुई हप्ता क्वारेन्टाइनमा राख्न निर्देशन दिएका छन् ।

जापानमा बढिरहेको कोरोना भाइरसको प्रकोपलाई नियन्त्रणमा लिन नसकेको भन्दै प्रतिपक्षी दलका नेताहरुबाट आलोचना भइरहेका बेला सरकारले यस्तो कदम चालेको हो ।

यही मार्च ९ तारिकबाट मार्चको अन्तिमसम्ममा चीन र दक्षिण कोरियाबाट आएका सबैलाई दुई हप्ता क्वारेन्टाइनमा राखिने भएको छ । सँगसँगै मार्च ७ गतेदेखि नै दक्षिण कोरिया र इरानको उच्च संक्रमण रहेको ठाउँबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गर्ने निर्णय गरिएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण थप नफैलिओस् भन्नका लागि केहि समयको लागि चीन र दक्षिण कोरियाका नागरिकहरुलाई भिसा दिन बन्द गर्ने भएको हो ।

ति देशबाट आउने यात्रुले जापान सरकारले तोकेको क्वारेन्टाइनमा जाँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ भने सार्वजनिक यातायातका साधन समेत प्रयोग गर्न पाउने छैनन् ।

चीन र दक्षिण कोरियाबाट नारिता तथा कान्साई अन्तर्राष्ट्रिय विमानस्थलहरूको उडान सीमित बनाइएको छ । हवाईसँगै चीन र दक्षिण कोरियाबाट आउने पर्यटकहरुका लागि पानीजहाजमार्फत गरिने यात्रा पनि केही समयका लागि बन्द गरिने भएको छ ।

प्रधानमन्त्री आबेले भने सुरक्षाको लागि पोर्ट र एअरपोर्टमा यस्तो कदम चाल्न जरुरी छ । उनले कोरोनाभाइरसकै कारण जुलाइमा हुने टोकियो ओलम्पिक नरोकिने बताएका छन् ।

अन्य देशबाट चीन वा दक्षिण कोरिया ट्रान्जिट भई आउनेहरुको हकमा के हुन्छ भन्नेकुरा स्पष्ट खुलाइएको छैन ।