तथ्य जान्ने चाहना कि खिल्ली उडाउने ?

तथ्य जान्ने चाहना कि खिल्ली उडाउने ?


■ स्वयम्भुनाथ कार्की

हुन त यो कुरा कुनै आलेखको विषयवस्तु बनाउनुपर्ने गरेर महत्वपूर्ण पनि होइन । वास्ता नै नगरेर छोड्नुपर्ने गरेर महत्वहीन पनि होइन । तर, प्रसङ्ग भने रोचक हो । सामान्यतया सामाजिक सञ्जालमा उठेका कुनै पनि कुरालाई विषयवस्तु बनाउने गरेको छैन । यसको अर्थ सामाजिक सञ्जालमा उठेका कुरा विषयवस्तु नै बनाउन लायक हुन्नन् भन्ने पनि होइन । यो सामाजिक सञ्जाल प्रयोगकर्तामा निर्भर गर्दछ कि उसले यसलाई कसरी प्रयोग गर्दछ । यो एक औजार हो जो राम्रोको निमित्त पनि प्रयोग गर्न सकिन्छ नराम्रोको निमित्त पनि । कतिपयले यसलाई जानकारी आदानप्रदान गर्ने मञ्चको रूपमा पनि प्रयोग गर्दछन् ।

हो, ठीक यस्तै एक विषय उछिट्टिएर सामुन्ने आयो । एकजनाले गाउँफर्क राष्ट्रिय अभियानबारे जान्न खोज्नुभएको रहेछ । (क्षमाप्रार्थी छु म यो प्रसङ्गमा सकेसम्म कसैको नाम नलिने प्रयत्नमा छु ।) उहाँ मेरो सम्पर्क सूचीमा हुनुहुन्न, त्यसैले उहाँको कुरा मेरोमा आउन्न । तर, मेरो सम्पर्क सूचीमा हुनुभएका एक भाइले मलाई सामेल गर्नुभयो । त्यो अनुचित पनि होइन, किनभने यो विषयमा मैले लेखेका केही लेखहरू उहाँले पढ्नुभएको थियो । उहाँले त्यो शृङ्खलामा मेरो पनि कुरा आओस् भन्ने चाहनुभयो । यसको निमित्त म उहाँप्रति आभारी छु । तर, जान्न खोज्नेले सर्त राख्नुभएको रहेछ ‘पञ्चायती व्यवस्था र राजतन्त्रको विश्लेषण नगरी’ भन्ने ।

तैपनि केही प्रतिक्रियाहरू सोध्नेले पञ्चायतको राम्रो देखाउन खोजेको ठानेर हप्काउन खोजेकोजस्तो पनि आएछन् । अर्थात् उहाँले व्यवस्था र राजतन्त्रको नाम लिँदा छुत लाग्छ भनेर पहिल्यै लगाएको बार भत्केछ । अनौठो कुरा के भने हिलो, पानी, खेत, मल, बिउ आदिको नाम नै नलिई धान कसरी उत्पादन हुन्छ भन्ने बताइमागेजस्तो जिज्ञासा तथ्य जान्ने ललक हो कि खिल्ली उडाउन खोतल्न खोजिएको हो ? यो कुराले असमञ्जस्य परेर मेरो प्रकाशित एक लेखको लिङ्क पठाइदिए जसमा राविसे र गाउँफर्कबारे जानकारी थियो । गाउँफर्क दुई अवस्था पार गरेर समाप्त भएको थियो । पहिलो अवस्था दिन थियो भने दोस्रो अवस्था रात । त्यसैले आज यो अभियानको नाम नै धेरैको निमित्त गालीजस्तै भएको छ ।

एक अर्को लेख पनि थियो जो गाउँफर्कको दुवै अवस्थालाई विषय बनाइएको थियो । अर्कोले त्यो लेखको लिङ्क पनि हाल्नुभएछ । म उहाँप्रति पनि आभारी छु साथै खुशी पनि लागेको छ । खुशी यस अर्थमा कि निरन्तर लेखिरहँदा र पाठकको प्रतिक्रिया नपाउँदा कहिलेकाहीँ नैराश्यता आउँछ । यो प्रसङ्गले मन प्रफुल्ल भएको छ कि प्रतिक्रिया नआए पनि पाठकहरूले पढिदिनुहुँदो रहेछ । पढ्ने मात्र होइन कतै सन्दर्भ–सामग्रीको रूपमा प्रयोग गर्न सकिने रूपमा पनि लिनुहुँदो रहेछ । यो एकलव्य साधनाको सार्थकता हो, उल्लेख्य ठानिनु र पक्षपात मनमा राखेर बुढीऔँला गुरुदक्षिणा मागिनु त्यो साधनाको सार्थकता नै हो एकलव्यको निमित्त । स्पष्टीकरण दिइहालौँ, मसँग एकलव्यले सार्थकताको मोल चुकाउनुपरेको जस्तै मोल चुकाउन कसैले माग भने गरेको छैन ।

एक अर्काले आफ्नो अनुभव लेख्नुभएछ, ३०–३१ सालतिर आफूले भाग लिएको । ३२ सालमा त यो ‘पोलिटब्युरो’मा परिणत भइहाल्यो । उहाँको अनुभव विकृतिले ग्रस्त भइसकेपछिको रहेछ । त्यही पनि केही कुराहरू, केही तथ्यहरू सामुन्ने आयो । विकृतिको कुरा पनि र अभियानको धारणाको पनि जो त्यति विकृत हुँदा पनि दुम्बु भने बचेको रहेछ । उहाँहरूसँग जनही ५० रुपैयाँ उठाएर प्रधानपञ्चले पिकनिक आयोजन गर्नुभएछ । त्यसबेला जनप्रतिनिधिले तलब भत्ता खान्न थिए, त्यसैले यसरी कमाउँथे भन्ने भनाइले तलबी जनप्रतिनिधिको पञ्चायतमा कल्पना पनि नभएको तथ्य उजागर गरेको छ । जहाँसम्म जनही ५० रुपैयाँ लिएर पिकनिक गरेको र बाँकी पञ्चहरूको कमाई भएको कुरा छ त्यो भने सोच्नेले सोच्न सक्छन् पिकनिकपछि कति रकम बचेको होला र एक पञ्चायतमा वर्षमा कति दिन त्यस्ता पिकनिक होलान् ।

थपमा अर्को ठाउँमा भने त्यो अभियानमा गएका कर्मचारीले सार्वजनिक शौचालय सफा गरेको कुरा पनि उल्लेख छ । अर्थात् कतै काम गरियो भने कतै पिकनिक मनाइयो । टाठाबाठा अनि छट्टुहरूले रमाइलो गरे देशको निमित्त गर्न खोज्नेले काम गरे । यसमा अन्यथा लिनुपर्ने कारण पनि छैन किनभने यो अभियानमा सरकारी राजस्वको फुक्कादाम पनि खर्च गर्न पाइन्न थियो जे गर्नुपर्ने थियो त्यो आफैंले जुटाएर । यो कार्यक्रममा जाँदा आफूले पकाएको बिदा खर्च गरेर जानुपर्ने थियो । यो कार्यक्रम जनपरिचालन, ठूलाठालु र निम्न जनताको समन्वयको भावना जगाउने थियो । अहिले पनि परियोजनाहरूमा जनसहभागितामा भनेर पैसा उठाउने काम हुन्छ त्यो यही अभियानको विकृत रूप हो । यदि यसको हत्या गरेर पोलिटब्युरो नबनाइएको भए नेपाली–नेपालीबीच आफन्तको भावना फैलाइरहेको हुन्थ्यो ।