जापानमा संक्रमितको संख्या एघार सय नाघ्यो

जापानमा संक्रमितको संख्या एघार सय नाघ्यो


■ विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानमा शनिबार (७ मार्च) अपरान्हअघि कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ११ सय नाघेको छ ।

शुक्रबार बिहान १० बजेपछि आज बिहानसम्ममा ३१ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको यहाँको सार्वजनिक समाचार संस्था एनएचके टेलिभिजनले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई उद्धृत गर्दै टेलिभिजनको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार १२ जना संक्रमितले हालसम्म ज्यान गुमाएका छन् ।

संक्रमितको संख्या ११ सय ७ पुग्दा डाइमण्ड प्रिन्सेस पानीजहाजमा भेटिएका संक्रमितहरु ७ सय ११ जना रहेका छन् । त्यसबाहेक जापानमा हालसम्म ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

यसैगरी संक्रमित मध्ये ५९ जनाको स्वास्थ्यमा सुधार आएको र त्यसमध्ये केही कोरोना भाइरस संक्रमण मुक्त भइसकेका छन् ।

अर्को समाचार संस्था जापान टाईम्सले उपचाररत २४ जना बिरामीको अवस्था चिन्ताजनक रहेको समाचार प्रकाशन गरेको छ ।

कोरोना संक्रमित २४ जना गम्भीर अवस्थामा रहेको र उनिहरुको स्वास्थ्य थप चिन्ताजनक बन्दै गएको बताइएको छ ।

जापानले कोरोना भाइरसको संक्रमण फैलन नदिन विद्यालय बन्दसहित सभा, समारोह एवं ठूला खेल, सांगीतिक कार्यक्रम रोक्न निर्देशन दिएको छ ।

चीन र दक्षिण कोरियाली नागरिकलाई दिएको लाखौं भिषा रद्द गर्दै ति देशबाट आउने नागरिकमाथि १४ दिन क्वारेन्टाइनमा रहनुपर्ने नियम बनाएको छ ।

कोरोना भाइरस व्यापक बनेको इरान तथा इटली लगायत देशबाट आउने यात्रुमा कडाई सहित नयाँ भिषा बन्द गरेको जापानमा देशभित्रै रहेका संक्रमितहरुबाट थप संक्रमण भइरहेको ठानिएको छ ।

यसको लागि जापान सरकारले कोरोना भाइरसको संक्रमणजन्य रुखाखोकी, ज्वरो, घाँटी दुख्ने तथा स्वास फेर्न गाह्रो हुने लगायत संकेत देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन सबैमा अनुरोध गर्दै आएको छ ।

जापान सरकारले कोरोना भाइरस लागे नलागेको स्वास्थ्य परीक्षण सहित उपचार समेत निःशुल्क हुने घोषणा गरिसकेको छ ।