इटालीमा एक करोड ५० लाखलाई क्वारेन्टाइनमा बस्न सरकारको आदेश

इटालीमा एक करोड ५० लाखलाई क्वारेन्टाइनमा बस्न सरकारको आदेश


इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको संक्रमण रोक्ने प्रयासस्वरूप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ ।

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तीमा एक महिनाका लागि आवागमनमा कडाइ गर्ने एक योजनामा हस्ताक्षर गरेको बताए । प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भिडभाड हुने सिनेमाघर, संग्रहालय, थिएटरहरू सबै बन्द गर्न भनिएको छ ।

‘कोरोना भाइरसकै कारण नयाँ आदेशलाई अन्ततः अनुमोदन गरेको छु,’ कोन्टेले भने । इटालीका अखबारहरू कोरियर डेला सेरा र अन्य सञ्चारमाध्यमले उत्तर इटालीमा आवागमन निषेध भएको भन्दै खबरहरू प्रकाशन गरेका छन् ।

इटालीमा कोबिड–१९ कै कारण झन्डै २३० जनाको मृत्यु भइसकेको छ । चीनबाहिर यति ठूलो संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो । चीनमा गत डिसेम्बरमा देखापरेको यस प्रकोपले विश्वका धेरै देशलाई प्रभाव पारिरहेको छ ।

विश्व बैंकका अनुसार जापानपछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोवास सर्वाधिक बढी छ, र नयाँ कोरोना भाइरसबाट वृद्धहरू गम्भीर बिरामी हुने सम्भावना बढी देखिन्छ ।

स्थगित गर्नै नसकिने ‘गम्भीर’ कारण भएमा, अन्य जरुरी काम वा पारिवारिक मामिलाहरू भएमाबाहेक मानिसलाई क्वारेन्टाइन क्षेत्रमा प्रवेश गर्न वा छाड्न अनुमति दिइने छैन– कोरियर डेला सेराले लेखेको छ ।

यसमा सम्पूर्ण लोम्बार्डी क्षेत्रका साथै भेनिस र वरपरका क्षेत्रहरू र पर्मा र रिमिनी शहरहरू सामेल छन् । यसबाट इटालीको कुल ६ करोड जनसंख्याको एकतिहाइलाई असर पार्नेछ ।

यी ठाउँहरूमा संग्र्रहालय, रात्रिक्लब, जिमखाना र क्यासिनो बन्द गरिनेछन् । सकेसम्म मानिसलाई घरभित्रै बस्ने सल्लाह दिइएको बताउँदै उक्त अखबारले यी प्रतिबन्धहरू आगामी अप्रिल ३ सम्म लागू हुने जनाएको छ ।

यी क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई आ–आफ्ना घर फर्कन दिइनेछ । बारहरू र रेस्टुरेन्टहरूमा ग्राहकहरु एक–अर्कासँग करिब एक मिटर टाढै रहने प्रबन्ध सुनिश्चित गरेमा खुला राख्न अनुमति दिइनेछ ।

इटालीमा गरिएको यो प्रबन्ध चीनको हुबे प्रान्तको झैँ छ । हुबेईको राजधानी वुहानमा भाइरसको प्रकोप देखिएपछि यहाँ जनवरीको अन्त्यदेखि पूरै शहरलाई अन्य क्षेत्रबाट अलग राखिएको छ ।

विश्वव्यापी रूपमा कोरोना संक्रमित व्यक्तिको संख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म तीन हजार पाँच सयजनाको मृत्यु हुनुका साथै विश्वका ९५ भन्दा बढी देशमा कोरोना फैलिइसकेको छ ।
rss/afp