कोरोना भाइरससँँग ‘गोर्खाली’ डराइरहनु पर्दैन !

कोरोना भाइरससँँग ‘गोर्खाली’ डराइरहनु पर्दैन !


■ आरपी पाठक

पश्चिमका हुम्ला जुम्ला कालिकोट मुस्ताङ र पुर्वमा ताप्लेजुङ किमानथाङ जस्ता अति विकट/अनकन्टार ठाउँहरू जहाँ जनजीवन वर्षेनी भोकमरी रोग र शोकले आक्रान्त भैरहन्छ । साधारण रुघाखोकी झाडाबान्ता आदि रोगबाट पनि हामी गोर्खाली सताइएका छौँ । यस्ता जनसुकै सामान्यभन्दा सामान्य सरकारी सहयोगबाट मुक्ति पाइने संकट पनि हाम्रा लागि भयावह सावित नभएका होइनन् ।

सामान्य खोपको अभावका साथै सुत्केरी हुन नसकेर, ज्वरो आएर पनि हाम्रा नेपाली आफन्तजनले ज्यान गुमाएका छन् । त्यस्तो अवस्थालाई हामी जो–जसले पार गर्न सफल भएका छौँ ती सबैजसोसँग रोग प्रतिरोधात्मक शक्ति प्रचुर मात्रामा छ भन्दा अन्यथा नहोला ।

हाम्रो देशको हरेक राजनीतिक परिवर्तनपछि या प्रत्येक सरकारले आफ्ना घोषणापत्रमा समेट्ने लोकप्रिय शब्द नै ‘स्वास्थ शिक्षा र रोजगारीको सुनिश्चितता’ हो । त्यो विगतदेखि वर्तमानसम्म पूरा हुन सकेको छैन र भविष्यमा समेत पूरा हुने लक्षण हालसम्म देखापरेको छैन । पञ्चायतले शुरु गरेको बबई नहर हालसम्म पूरा भएन र प्रजातन्त्रको पुनर्वहालीसँगै कृष्णप्रसाद भट्टराईले शुरुवात गरेको मेलम्ची खानेपानी आयोजनाको हालत पनि सबैले देखेकै छन् ।

राणा प्रधानमन्त्री वीर शम्शेरले जनताको उपचारको लागि बनाइदिएको वीर अस्पताल आफ्नो जीर्ण शरीर लिएर जेनतेन उभिएको छ, तर उता लोकतन्त्रको मेडिसिटी हेर्नुहोस् त कति शानले जनतालाई लल्कारिरहेको छ ? जुन–जुन निकाय जनताका लागि बने–बनाइए तिनको हालत जनताको र देशको भन्दा कम छैन । जसरी देश र जनता जीर्ण भएका छन् उसैगरी संस्थानहरू जीर्ण भए । तर जनताको मनोवलमाथि धावा बोल्नेहरूलाई उभिन कठिन भएको पङ्क्तिकारले कोट्याइरहन नपर्ला ।

०७ सालको प्रजातान्त्रिक गतिविधि होस् या त छयालीस सालको परिवर्तन साथै ०५२ सालमा माओवादीले शुरु गरेको कथित जनयुद्धमा होस् जनताले साथ नदिएको भए आजका नवमहाराजहरू गद्दीनसीन हुन कदापि सक्ने थिएनन् । निरीह र भोक–प्यासले द्रवित जनताले सुनिश्चित भविष्यको आसमा नेतृत्वलाई आफ्ना चुलाचौका मझेरी र बुइँगलमा लुकाएर गाँस काटी आफ्ना बालबालिकाका मुख मोसेर खुवाउँथे र पाल्थे । आफ्ना भुत्लाभाङ्ग्ला नै भए पनि अलिक गतिलो मानिएको ओढ्ने–ओछ्याउने तिनैको रात काट्न सजिलो होस् भनेर सुम्पेको कारण ती डाइँठेहरू आज यहाँसम्म आइपुगेका हुन् । तिनै त्यागी रैतीहरू आजसम्म त्याग नै गरिरहेका छन् । हेक्का रहोस् उनीहरू सबै किसिमबाट कमजोर भने भएका छैनन् ।

राजनीतिक सामाजिक शैक्षिक र आर्थिक रुपले कमजोर भएका होलान् तर रोग प्रतिरोधात्मक क्षमता भने उनीहरूमा प्रचुर मात्रामा विकसित भएको छ । कुनै पनि विषम परिस्थितिको सामना गर्न उनीहरू सक्षम छन् । उही दुःखको सामना नगरेका रानो र डाइँठे मौरी भएर खाएकाहरूलाई लक्षित गरेर आएको साम्यवादी र समाजवादी रोग हुन सक्छ कोरोना भाइरस । त्यसैले ज्यामी मौरीको भूमिका निर्वाह गरेर जीवनयापन गरिरहेका हामी गोर्खालीहरूले युद्ध होस् या त सहज समाज हामी जहाँ–जहाँ छौँ त्यहीँ–त्यहीँ संघर्ष र कठिन जीवन जिउन अभ्यस्त भएका कारण पनि आगामी कठिन परिस्थितिलाई सहज किसिमले पार गर्न सक्छौँ भन्ने बलियो आत्मविश्वास हामी सबैमा अन्तर्निहीत भएका कारण पनि त्यो कोरोना भाइरस हाम्रा लागि तिलको पहाड मात्रै हो ।

हामीले इतिहासदेखि राजनैतिक र सामाजिक भाइरसहरू आफ्नै अङ्ग समान ठानेर पालिरहेका छौँ । ती भाइरस र ऐंजेरुहरूले हाम्रो जीवनमा केही लछारपाटो लाउन सकेका छैनन् । बरु उल्टै उनिहरूले आफ्नै जीवन कमजोर बनाई रहेका छन् । विषम परिस्थितिमा उनिहरू आफै जुध्न सक्दैनन् । हमेसा हामीसँगै सहयोग माग्नु उनीहरूको नियति बन्दै आएको छ । यदि हामीले सहयोग गरेनौँ भने उनीहरूकै दुर्दशा हुनेछ । जुनदिन त्यस्ता कोरोनाको पहिचान हाम्रो मानसपटलले गर्नेछ सोही दिनबाट उनीहरू स्वतः हटेर हारेर जानेछन् । त्यसपछि हामी नेपालीहरू आफैभित्र स्वतन्त्र हुनेछौँ ।

हामीलाई सताउने र कमजोर बनाउन प्रयास गर्ने कोविड–१९ अथवा कोरोना भाइरस भनेकै हाम्रो मानसपटलमा राज गरिरहेका राजनीतिक र सामाजिक भाइरसहरू हुन् । यिनीहरूलाई बेलैमा पहिचान गरेर पन्छाउन सके ती कृतिम कोरोना भाइरसले हामी गोर्खालीलाई फर्केर हेर्न मात्रै पनि सक्दैनन् । किनकि हाम्रो शक्ति भनेको हाम्रो अत्मबल हो । हामीसँग आराध्यदेव भगवान पशुपतिनाथ छन् । न्यायका देव स्वयम्भूनाथ छन् । अनि हामी किन डराउनु ? जय होस् !!