वैशाखभित्रै १५ मेगावाटको सौर्य विद्युत सञ्चालनमा आउँदै

वैशाखभित्रै १५ मेगावाटको सौर्य विद्युत सञ्चालनमा आउँदै


देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ । ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाका रूपमा लिइएको सो परियोजनाबाट विद्युत् उत्पादन शुरु भएपछि ऊर्जा मिश्रणको अवधारणामा समेत देखिने गरी काम हुनेछ ।

आयोजनाको कुल २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र उत्पादन गर्ने गरी काम भइरहेको छ । यस्तै, थप १० मेगावाटका लागि भने जग्गा छनोट तथा अन्य प्राविधिक काम जारी रहेको छ । प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रका नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत उत्पादन गर्ने गरी व्यवस्थापन गरिएको छ ।

विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्रनजिक रहेको खाली जग्गामा १० मेगावाट र विद्युतगृहनजिक रहेका तीन ठाउँमा पाँच मेगावाट विद्युत उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । एउटा प्यानलबाट २७५ वाट विद्युत उत्पादन हुनेछ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।

देवीघाट विद्युतगृहनजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत जडानका लागि ६६–३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकद्वय हरराज न्यौपाने र बज्रभूषण चौधरीलगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत उत्पादन मितिलगायतका विषयमा छलफल गरेको प्राधिकरणले जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत जडानको वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको प्राधिकरणको भनाइ छ । ‘सोलार प्यानल जडान अन्तिम चरणमा पुगेकाले १५ मेगावाट विद्युत वैशाखभित्रमा उत्पादन हुने देखिन्छ, प्रसारण लाइन नभएको र सबस्टेसन निर्माण नभएका कारण देखाएर आयोजनाबाट उत्पादन हुने विद्युत् खेर फाल्न हुँदैन, त्यसैले सञ्चालनमा रहेको ३३ केभी फिडरमा लाइन जोड्ने आवश्यक व्यवस्था गर्नुहोस्,’ घिसिङले आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै भने ।

‘अझै तीन महिना विद्युतको माग र आपूर्तिको व्यवस्थापन गर्न आयोजना महत्वपूर्ण भएकाले वैशाखभित्रमा १५ मेगावाट विद्युत जसरी पनि ग्रिडमा जोड्नुपर्छ, यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न प्राधिकरण तयार रहेको उनको भनाइ छ ।

सम्पूर्ण उपकरण आयोजनास्थलमा आइसकेको बताउँदै ठेकेदार कम्पनीका प्रतिनिधिले वैशाखभित्रमा १५ मेगावाट विद्युत उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ को वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए । त्यतिबेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ शुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रूख कटानलगायतका कारणले ढिलाइ भएको थियो ।

प्राधिकरणको आफ्नै स्वामित्वमा रहेका रूख हटाउनसमेत लामो समय लागेको थियो । ठेकेदारले डिजाइन तयार गर्न ढिलाइ गरेका कारण थप जटिलता पैदा भयो । यस्तै परामर्शदाताले पटकपटक पुनरावलोकन गरी स्वीकृत गर्न लामो समय लगाएका कारण जटिलता पैदा भएको थियो । आयोजना प्रमुख विकासबहादुर रघुवंशीका अनुसार डिजाइनर स्पेन र परामर्शदाता जर्मनीमा बस्ने तर साइटमा परिचालित नभइदिँदा डिजाइनलाई अन्तिम रूप दिन ढिलाइ भएको थियो ।

विश्व बंैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग करिब रु. चार अर्ब (तीन करोड ८० लाख अमेरिकी डलर) मा ठेक्का सम्झौता गरिएको थियो । सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्नेछ । कम्पनीले पाँच वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ । कम्पनीले प्लान्टबाट वार्षिक रूपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा आपूर्ति गर्नुपर्नेछ ।

जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरेको थियो । तर, परामर्शदाताले डिजाइन स्वीकृतिमा ढिलाइ र रेट वृद्धिको माग गरेपछि फिस्नरसँगको सम्झौताको म्याद थपिएको थिएन । हाल एनईए इन्जिनियरिङ कम्पनीले परामर्शदाताको काम गरिरहेको छ । प्लान्ट सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्नेछ । काठमाडौंबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्नेछ । सो प्रणाली आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, चिलिमे आयोजनाको जलाशयमा दिउँसो पानी सञ्चित गर्न सकिनेछ ।
रासस