अज्ञात व्यक्तिद्वारा गोली प्रहार, दक्षिण अफ्रिकामा ६ को मृत्यु

अज्ञात व्यक्तिद्वारा गोली प्रहार, दक्षिण अफ्रिकामा ६ को मृत्यु


दक्षिण अफ्रिकाको केप टाउनस्थित एक बस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो भने आक्रमणबाट अन्य सात जना सख्त घाइते भएका बताइएको छ ।

खाउलित्सा नगरमा गोली चल्दा ६ जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका प्रहरी प्रवक्ता नोभेला पोटेल्वालाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

गोली हान्ने व्यक्ति आक्रमणपछि भागेको र उसको परिचय खुलिनसकेको प्रहरीको भनाई छ । घाइते सबैजनालाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने घाइतेमध्ये एक ६ वर्षकी बालिका रहेकी छन् ।

घटनापछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणका लागि पिछा गरे पनि उ उम्कन सफल भएको बताइएको छ । घटनाको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन ।