फेसबुक, मोबाइल र टिनएजर -बबिता बस्नेत

फेसबुक, मोबाइल र टिनएजर -बबिता बस्नेत


ध महेन्द्रनगरको केटा र काठमाडौंकी केटीबीच फेसबुकमार्फत ‘प्रेम’ भएछ । विद्युतीय निकटता बढ्दै जाँदा एक-अर्काबिना बाँच्नै नसक्ने भएपछि केटी केटालाई भेट्न महेन्द्रनगर पुगिछ । एक-अर्काबीच कहिल्यै प्रत्यक्ष भेटघाट नभएका उनीहरूको भेट हुँदा केटाले केटीको नसोचेको रूप पाएछ । केटी आफूभन्दा निकै बढी उमेरकी र राम्री पनि नभएकीले केटालाई अप्ठ्यारो परेछ । केटीले आफूहरू धेरै नजिक भइसकेकोले विवाहको प्रस्ताव राखिछ । तर, केटाले आफूले उनलाई विवाह गर्न नसक्ने बताएपछि आफ्नो प्रेमकहानीको त्यहीँ अन्त्य गर्दै केटी काठमाडौं फर्किछ ।
ध धनगढीकी केटी र महेन्द्रनगरको केटाबीच मोबाइलमार्फत सम्बन्ध बढेछ, केटी १३ वर्षकी केटो १८ वर्षको । केटालाई देख्दैनदेखी उससँगै बस्न केटी घर छोडेर हिँडिछ । केटाको गाउँमा पुगेर केटीले कुनै हालतमा विवाह नगरी नछोड्ने बताएपछि गाउँका पारा लिगल कमिटीलगायतका महिला जम्मा भएर उसको उमेर सानै भएको, विवाहबारे निर्णय लिन सक्ने बेला नभएको भन्दै बाबुआमाको घरमा फर्किएर पढाइलाई निरन्तरता दिन सुझाब दिएपछि ‘मेरो जिन्दगी मेरो खुसी, तपाईंहरूको सल्लाह-सुझाब चाहिँदैन’ भनेर केटीले भनिछ । अति भएपछि १३ वर्षको उमेरमा तिम्रो जिन्दगी तिम्रो खुसी हुँदैन भनेर बाबुआमाको फोन नम्बर पत्ता लगाई लिन बोलाएर घर पठाइदिएछन् ।
ध सल्यानको केटा र सर्ुर्खेतकी केटीबीच मोबाइल फोनमार्फत ‘प्रेम’ भएपछि केटी विवाह गरेरै छाड्ने अडानका साथ भातपानी बन्द गरेर बसिछ । केटो कहाँको हो, कस्तो हो, पढाइ-लेखाइ, घर-परिवार कस्तो हो बुझ्नुपर्छ भनेर बाबुआमाले भन्दा केही बुझ्नु नपर्ने र उससँग विवाह गर्न नपाए आत्महत्या गर्ने निर्णय सुनाएपछि बाबुआमाले छोरी दिएछन् । सर्ुर्खेतको बजारमा हर्ुर्किएकी केटी सल्यानको गाउँमा खानपानदेखि बोली-व्यवहार हुँदै चालचलनसमेत केही नमिल्दा केटीलाई अप्ठ्यारो परेछ । अप्ठ्यारो मात्र होइन बस्नै नसक्ने भएपछि माइत जान्छु भनेर सल्यानबाट हिँडकी ती युवती केही महिना बितिसक्दा पनि सुर्खेत पुगेकी छैनन् । बाबुआमा, दाजुभाइले विवाह नगर भन्दाभन्दै जबर्जस्ती गरेकीले माइत आउन नसकी कतै गएकी या जे पनि भएको हुनसक्ने अनुमान मात्र लगाउन सक्छन् मानिसहरू । बाबुआमाले धेरै खोजे तर उनको पत्तो पाउन सकेका छैनन् ।
‘यो मोबाइलले त बर्बादै पार्‍यो नि !’ हालैका दिनमा कैलालीको धनगढीमा रहँदा धेरैजसो मानिसको मुखमा यस्तै शब्द सुनियो । मोबाइलले गर्दा छोराछोरीलाई धान्नै नसकिने भयो, के गर्ने होला…बाबुआमालाई अहिले ठूलो चिन्ता छ । त्यसो त, मोबाइलकै कारण स्वास्नीले लोग्नेलाई लोग्नले स्वास्नीलाई धान्न नसकेका घटना पनि नभएका होइनन् तर ‘टिनएजर’हरूमा भने यसको प्रभाव बढी नै देखियो । किशोरकिशोरी, युवायुवती प्रायः सबैको हातमा मोबाइल छ, एसएमएस र फोनमा कुरा गरेकै भरमा आफ्ना किशोरावस्थाका छोरीले घर छाड्न थालेपछि बाबुआमा हैरान छन् । यस्तै अवस्था रहिरहे समाजमा ठूलै आपत आइलाग्न सक्ने सम्भावना धेरैले देखेका छन् । मोबाइल फोनका राम्रा पक्ष अनेक हुँदाहुँदै पनि किशोरकिशोरी आफ्नो पढाइ र सोच्नुपर्ने, गर्नुपर्ने अरू सबै पक्षलाई पन्छाउँदै एक-अर्काप्रतिको आकर्षणमा मात्र सीमित भएपछि यसले विकृतिको रूप लिन पुगेको हो ।
यसप्रकारका घटनाले विशेषगरी छोरी हुने बाबुआमालाई धेरै नै पिरोलेको छ । हुन पनि केटीहरू त्यसमा पनि किशोरावस्थाका केटीहरूलाई फकाउन कुनै गाह्रो छैन । ससानो कुरामा पनि भावनामा बग्न सुरु गरिहाल्ने महिला र किशोरीलाई मोबाइल फोनकै माध्यमबाट प्रेम र विवाहको नाटक गर्दै भारतीय कोठीहरूमा बेच्न लानेसम्मका घटना भएका छन् । त्यसप्रकारका दलाल पहिलापहिला भेटेरै ‘ओहो, तिमी कति राम्री’ भनेर प्रशंसा गरेरै केटीहरू पट्याउँथे, हिजोआज त भेटिरहनु पनि नपर्ने भो फोनबाट ‘ओहो तिम्रो स्वर…तिम्रो स्वर त यति मीठो छ मान्छे कस्ती हौली’ भनिदिए पुग्यो । महिलाको यस्तै ससाना कुरामा सपना देख्ने बानीले विगतमा धेरै बेचिए, कतिले दुःख पाए, जिन्दगीभर अनेक हन्डर खेपे भनेर साध्यै छैन । अहिले प्रविधिका अनेक रूपसँगै मानिसमा जुन विचलन देखिएको छ यही अवस्था रहने हो भने धेरैको जीवन अन्धकारमा धकेलिने सहज अनुमान गर्न सकिन्छ । यो सुदूरपश्चिम या मध्यपश्चिमको मात्र समस्या होइन, मुलुकभरिकै साझा समस्या बन्दै गएको छ । वैदेशिक रोजगारमा गएका मानिसहरूको परिवारमा होस् या किशोरावस्थाका छोराछोरी भएका परिवारमा, प्रविधिको दुरुपयोगका कारण समस्या बढ्दै गएको छ । मोबाइल फोन होस् या फेसबुक यस्ता कुराको प्रयोग जब केटा र केटीको सम्बन्ध विस्तारमा सीमित हुन पुग्छ त्यसपछि तिनको महत्त्व आफैंमा हल्काफुल्का हुन जाँदोरहेछ । ‘तपाईं फेसबुकमा हुनुहुन्छ’ भनेर कसैलाई सोध्दा कहाँ म फेसबुकमा हुनु ? (कहाँ मजस्तो मान्छे पनि फेसबुकमा हुनु भन्ने अर्थमा) तपाईं हुनुहुन्छ र ? मात्र होइन, लौन म्याडम तपाईंजस्तो मान्छे पनि फेसबुकमा ? भन्ने मानिसहरू पनि भेटियो । फेसबुकमार्फत चिनजान भएर सम्बन्ध बढ्दै गएपछि केटीहरू केटाको घर खोज्दै, केटाहरू केटीका ठेगाना खोज्दै गाउँगाउँसम्म पुग्ने गरेकाले फेसबुक भनेको त समझदार मानिसले चलाउने कुरा होइन भन्ने सन्देश धेरैमा गएको देखियो । यस्तै घटनाका कारण गाउँघरमा फेसबुक र मोबाइल दुवैको बद्नामी बढ्दै गएको रहेछ ।
प्रविधि त भित्रिनै सक्यो, घटनाहरू बढ्दै जान थाले अब के गर्ने ? परिपक्व मानिसको हकमा त खासै केही गर्नु आवश्यक छैन तर किशोरकिशोरीका सवालमा भने यस्ता विषयमा जनचेतना नै जगाउनुपर्ने आवश्यकता देखिएको छ । जीवनको अर्थ केटा या केटीसाथी भेट्नु मात्र होइन, गर्नुपर्ने धेरै कुरा छन्, जीवनसाथी भनेको एक दिन, दुई दिन नभएर जीवन बिताउने कुरा हो । यस्तो कुरा बहकाउ र लहडमा आएर गर्ने कुरा होइन भनेर उनीहरूलाई काउन्सिलिङ नै गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । पढाइ सक्ने, आफ्नो खुट्टामा उभिने, घर-परिवार र जिम्मेवारीको कुरा, करिअर, समाज, देश, जिन्दगीमा सोच्न र गर्नलाई धेरै कुरा छन् भन्ने कुराको जानकारी उनीहरूलाई दिन आवश्यक छ । भावावेशमा गरिएका निर्णयहरू मानिसको जीवनमा कति घातक हुन सक्छन् भन्ने कुरा बुझाउनैपर्ने देखिएको छ ।