लण्डन । तमू जातिहरुको संस्था तमू समाज यूकेले सामाजिक भवन खरिदका लागि गतसाता एक भव्य च्यारिटी कार्यक्रमको आयोजना ग-यो । बेलायतको राजधानी लण्डनमा नेपालीहरुको बसोबास बाक्लिएसंगै समाजको आवश्यकताअनुरुप नेपाली कला, संस्कृति र पुरातत्व झल्कने नेपाली घर निर्माणका लागि समाजले च्यारिटी आयोजना गरेको हो ।
च्यारिटी कार्यक्रममा सहभागि नेकपा माओवादीका सचिव एवं पूर्व मन्त्री देव गुरुङले बेलायतमा रहेका तमू तथा गैर तमूबीचको एकतामा समाजले गरेका पहल सह्रानीय रहेको बताए । तमू समाजको विकासका लागि आफूले गर्न सक्ने सहयोग गर्न आफू प्रतिबद्ध रहेको जिकिर गर्दै गुरुङले तमू एकतामा जोड दिएका थिए ।
भूतपूर्व गोर्खाहरुले उठाउंदै आएको हक अधिकारको आन्दोलन तथा गैर आवासीय नेपाली संघले अघि सारेका मागहरुमा आफू र आफ्नो पार्टी सकारात्मक रहेको गुरुङले बताए ।
समाजका अध्यक्ष शिवरशण गुरुङले तमू समाज यूके च्यारिटी कमिसनमा दर्ता भएको बैधानिक संस्था भएको र यसले जातीयताभन्दा माथि उठेर काम गरिहेको जनाए । हरेक नेपालीहरुको दु:खसुखको साथी तमू समाज यूकेले तमू धर्म, भाषा, कला र संस्कृतिको संरक्षण सम्बद्र्धन गर्दै नयां पुस्तालाई जागरुक बनाएको अध्यक्ष गुरुङले बताए । उनले च्यारिटी डिनरलाई सफल बनाउन सहभागिप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका थिए ।
तमू समाज यूकेका पूर्व अध्यक्ष चित्र बहादुर गुरुङले तेश्रो कार्य समितिका कामहरु सह्रानीय रहेको बताउंदै समाजको आमा समूह र युवा समूहको सक्रियताले च्यारिटी कार्यक्रम भव्य भएको बताए ।
सोही अवसरमा बहुप्रतिक्षित एवं महत्वकांक्षी योजना ‘हाउजीङ प्रोजेक्ट’ सफल बनाउन सहयोग पु-याउने चन्दा दाताहरुलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै लामो समयदेखि बेलातमा रहेका तमूहरुको सेवामा तल्लीन रहेका समाजसेवी डा. चन्द्र बहादुर गुरुङ र तमू परिचय पुस्तकका लेखक प्राध्यापक नारायण ल्हेंगे तमूलाई कदरपत्र प्रदान गरिएको थियो । च्यारिटी डिनरमा निरमायां रोधि घरको स्वादिष्ट नेपाली खानासंगै आमा समूहले गीतमार्फत स्वागत गरेको थियो ।
कार्यक्रममा तमू प्ये ल्हु संघ यूकेका अध्यक्ष सोम त्होर्जे तमूले समाजले अघि सारेको हाउजिङ परियोजना सफलताको शुभकामना दिंदैं समाज घर निर्माणका लागि दिल खोलेर सहयोग गर्न आव्हान गरेका थिए । त्यस्तै तमू धिं साउथईष्ट लण्डनका अध्यक्ष रिटायर्ड क्याप्टेन नारायण बहादुर गुरुङ (एमभीओ)ले पनि कार्यक्रम सफलताको शुभकामना दिए ।
सम्मानित तमू विद्धानद्धय डा चन्द्र बहादुर गुरुङ र प्राध्यापक नारायण ल्हेंगे तमूले मन्तव्य दिएका थिए । च्यारिटी संकलन कार्यमा संयोजक एवं तमूधिं यूकेका पूर्व अध्यक्ष सुवाससिंह गुरुङ, तमू समाज यूकेका सल्लाहकार चित्र बहादुर गुरुङ तथा आमा समूहले विशेष भुमिका निर्वाह गरेको थियो । संयोजक गुरुङको पहलमा आयोजित च्यारिटी डिनरबाट समाज घरका लागि करिब सत्र हजार पाउण्ड डोनेसन संकलन भएको छ ।
समाजका महासचिव रामचन्द्र गुरुङ तथा मिडिया संयोजक निरज गुरुङद्धारा सञ्चालित कार्यक्रममा सल्लाहकार अर्जुन कुमार गुरुङले हेल्थ एण्ड सेफ्टी ब्रिफ गरेका थिए ।
नेपाल तथा बेलायतको राष्ट्रिय गानसंगै च्यारिटी नाईटलाई बेजोड बनाउन आकर्षक नृत्य तथा तमू जातिका परम्परागत नृत्यहरु प्रस्तुत गरिएको थियो ।
च्यारिटी डिनरमा यती नेपाली एशोसियसनका अध्यक्ष उमेशराज मोक्तान, तमू प्येल्हु संघ यूकेका अध्यक्ष सोम गुरुङ, एनआरएनए यूकेका उपाध्यक्ष सूर्य नेम्वाङ, गुल्मी जिल्ला समाज यूकेका सचिव शिव भण्डारी, नेपाल फोरम ग्रिनवीचका उपाध्यक्ष श्याम शेरचन, नेपाल पत्रकार महासंघका उपाध्यक्ष धर्मराज अधिकारी, महासंघका पूर्व अध्यक्ष नवीन पोखरेल, जनजाती महासंघ बेलायतका महासचिव नरेश काङमाङ राई, गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष कृष्ण राई, गोर्खा जिल्ला तमू समाज युकेका लफ्टिनेण्ट.पञ्च बहादुर गुरुङ, थकाली समाज यूकेका अध्यक्ष रेशम शेरचन, लमजुङ समाज यूकेका उपाध्यक्ष विश्व जंग गुरुङ, ग्रेटर लण्डन किरांत याक्थुम चुम्लुङका अध्यक्ष याम बहादुर आङबुहाङ, तनहुं नेपाली समाज यूकेका अध्यक्ष लेख बहादुर गुरुङ, नेप्लिज कम्युनीटि वाट्फोर्टका अध्यक्ष मुकुन्द बहादुर गुरुङ, युनाईटेड टिम लिमिटेडका डाइरेक्टर गंगा राना, एभरेष्ट ल फर्मका कानुनी सल्लहकार राजु थापा, किरांत राई यायोख्या लण्डन शाखा अध्यक्ष शान्तकला राई, मगर समाज मिडलसेक्स यूकेका मिन दर्लामी लगायतले संस्थागत सहभागिता जनाएका थिए ।
उपाध्यक्ष विजु गुरुङले अतिथि सत्कार र कोषाध्यक्ष केदार गुरुङले टिकेटको जिम्मा लिएका थिए । त्यस्तै समाजका संयोजक शिव कुमार गुरुङले पेय पदार्थको जिम्मेवारी सम्हालेका थिए भने हलको व्यवस्थापन सल्लाहरकार रि.ले. थम प्रसाद गुरुङले गरेका थिए ।
-विजु गुरुङ
प्रतिक्रिया