ट्रम्पले गरे ५० अर्ब डलरको आर्थिक राहतको घोषणा

ट्रम्पले गरे ५० अर्ब डलरको आर्थिक राहतको घोषणा


संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस रोगका कारण आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेज घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले उक्त प्रस्तावको अनुमोदनका लागि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्ससमक्ष पेस गरेका हुन् । ह्वाइटहाउसको ओभल अफिसबाट राष्ट्रका नाममा बुधबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यो आर्थिक संकट होइन, कोरोनाको संकट क्षणिक हो र यसलाई सबै मिलेर परास्त गर्न सकिन्छ ।’

उनले अमेरिकी मजदुर, परिवार र व्यवसायमा कोरोना भाइरसबाट पुगेको नोक्सानीको विवरण संकलन गर्न र आर्थिक सहायताको खाका तत्काल बनाउन साना व्यवसाय प्रशासनलाई आदेश दिएका छन् ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थ मन्त्रालयलाई पनि कोराना प्रभावित व्यक्ति एवं व्यवसायले कर बुझाउनुपर्ने अन्तिम मिति अप्रिल १५ लाई परिवर्तन गर्न तथा ब्याज वा जरिवाना नलिने व्यवस्था मिलाउन निर्देश गरे ।
रासस–सिन्ह्वा