कोरोना प्रभाव : युरोपेली देशबाट हुने उडानमा अमेरिकी प्रतिबन्ध, इटालीमा किराना र औषधिबाहेकका सबै पसल बन्द

कोरोना प्रभाव : युरोपेली देशबाट हुने उडानमा अमेरिकी प्रतिबन्ध, इटालीमा किराना र औषधिबाहेकका सबै पसल बन्द


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडान ३० दिनका लागि रोक लगाएका छन् ।

टेलिभिजन सम्बोधनमार्फत उनले उक्त घोषणा गरेका हुन् । ब्रिटेनलाई भने यो नियम लागू हुने छैन । उता, इटालीमा कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधिबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ ।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने सेलुन र अति आवश्यकीय बाहेक सबै किनमेल केन्द्र बन्द हुने तर सामान घरमै पुऱ्याउन भने नरोकिने बताएका छन् । टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले त्यो प्रतिबन्ध बिहीबारदेखि २५ मार्चसम्म लागू हुने बताए । नयाँ संक्रमणको दरलाई लिएर कडा तुल्याइएका प्रतिबन्धहरूको परिणाम केही सातामा देखिने उनले विश्वास व्यक्त गरे ।

इटलीमा स्कुल, व्यायामशाला, संग्रहालय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन् । कोरोना भाइरस संक्रमणको कारण इटालीमा ८२७ जनाले ज्यान गुमाएका छन्, भने १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का आपतकालीन प्रमुख मिसेल रियनका अनुसार इटलीमा करिब नौ सयजना संक्रमितलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ । उनले हाल इरान र इटलीको जस्तो संकट छिटै अन्य देशहरूले पनि सामना गर्नुपर्ने चेतावनी दिए । यसअघि डब्ल्यूएचओले कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेको घोषणा गरेको थियो । डब्ल्यूएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले दुई सातामा चीनबाहिर संक्रमण १३ गुणा बढेको बताए ।

गत वर्षको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस कोरोना भाइरसको कारण विश्वभरि चार हजार पाँच सयको मृत्यु भइसकेको छ । यसबाट विश्वभरि एक लाख २४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका जनाइएको छ । चीनपछि इरान र इटालीमा यस भाइरसको प्रभाव धेरै नै फैलिएपछि यसबाट ज्यान गुमाउने व्यक्तिको संख्या ह्वातै बढेको बताइएको छ ।
रासस–एएफपी