कोरोनाबारे जानकारी दिन टेकु अस्पतालमा हटलाइन सेवा स्थापना

कोरोनाबारे जानकारी दिन टेकु अस्पतालमा हटलाइन सेवा स्थापना


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले भोलि शुक्रबारबाट कोरोना भाइरसबारे जानकारी दिने उद्देश्यले हटलाइन टेलिफोन सेवा शुरु गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेलगत्तै टेकु अस्पतालले यो संक्रमणबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले हटलाइन टेलिफोन सेवा गर्न लागेको हो ।

कोरोना भाइरसको शंका लागेमा जानकारी दिन अस्पतालले १११५ नम्बरको टेलिफोनमा जिज्ञासा राख्न सक्ने जनाएको छ । सर्वसाधारणले आफूलाई कोरोना भाइरसबारे शंका लागेका उक्त टेलिफोन नम्बरमा फोन गरेर जानकारी लिन सक्नेछन् । फोन गरेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सकले सो रोगका लक्षण, बच्ने उपायका साथै अस्पतालले दिने सेवाका विषयमा जानकारी दिनेछन् ।

उक्त हटलाइन सेवामा अस्पतालका प्रतिनिधि उपलब्ध हुनेछन् । तत्काल उपलब्ध नभए उनीहरूले नै कलब्याक गर्ने अस्पतालले जनाएको छ । अस्पतालले अहिले दैनिक सयजनाको कोरोना भाइरस भए–नभएको टेस्ट गर्न सक्ने क्षमताको ल्याब स्थापना गरेको छ ।