कोभिड–१९ विरुद्धको लडाइँमा विजयको नजिक : चीन

कोभिड–१९ विरुद्धको लडाइँमा विजयको नजिक : चीन


घातक कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बढी प्रभावित बनेको चीनमा संक्रमणको उच्च बिन्दु पार भएको बेइजिङले जनाएको छ । विश्व संगठनले भाइरस संक्रमणको समस्या प्रकोपका रूपमा घोषणा गरेको केही घन्टापछि नै चीनकोे सो कुरा बताएका हो ।

कोभिड–१९ संक्रमणका नयाँ बिरामी आउने क्रम घटिरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक प्रवक्ता मी फङले बेइजिङमा बिहीबार पत्रकार सम्मेलनमा बताए । ‘चीनमा महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरस संक्रमणको प्रभाव निकै तल झरेको छ,’ उनले भने, ‘चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको राजधानी वुहानमा नयाँ संक्रमण पुष्टिका घटना एक अंकमा झरेको छ ।’ वुहानमा नयाँ संक्रमणको संख्या बुधबार आठ व्यक्तिमा सीमित भएको उनले बताए ।

‘हुबेईका अन्य सहरमा पनि संक्रमितको संख्या एक हप्तायता यही दरमा रहेकोले चीनले कोभिड–१९ विरुद्धको लडाइँमा विजयको नजिक पुगेको अनुमान गर्न सकिन्छ,’ उनले भने ।

उनले थपे, ‘हुबेईबाहिर मुख्यभूमि चीनमा कुल सात नयाँ व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ, तर त्यसमध्ये ६ जना विदेशबाट आएका रहेका छन् ।’

चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय संक्रमण नियन्त्रण अभियानमा निष्क्रियता नआउने अर्थात् नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उनको भनाइ थियो ।

विश्व स्वास्थ्य संगठनले बुधबार कोभिड–१९ संक्रमण विश्वमा फैलिने क्रम बढ्दो रहेकोले यसलाई विश्वव्यापी ‘प्रकोप’ भनेपछि चीनको भने यस्तो धारणा आएको छ ।

बुधबारसम्ममा विश्वभर एक लाख १८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ११४ मुलुकमा फैलिएको यस भाइरस संक्रमणको समस्याका कारण चार हजार २९१ व्यक्तिले आफ्नो जीवन गुमाएको संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले जेनेभामा गरेको पत्रकार सम्मेलनमा बताए ।

आगामी केही दिन (हप्ता) कोरोना भाइरस संक्रमण, संक्रमणका कारण मृत्यु र प्रभावित मुलुकहरूको संख्या अझै बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।

प्रवक्ता मीले भने, ‘चीनले हालैका दिनमा विश्वव्यापी संक्रमण विस्तारलाई निजिकबाट नियालेको र संक्रमणको समस्यालाई नियन्त्रण गर्न उनीहरूलाई रोकथाप र नियन्त्रणका लागि प्रोत्साहन गरिरहेको छ ।’