सिरियाली युद्धका नौ वर्षमा तीन लाख ८४ हजार नागरिकको मृत्यु

सिरियाली युद्धका नौ वर्षमा तीन लाख ८४ हजार नागरिकको मृत्यु


सिरियामा जारी युद्ध नवौँ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्चमा सुरू भएको उक्त गृहयुद्धका कारण एक लाख १६ हजार सर्वसाधारणले ज्यान गुमाएका सिरियाली मानवअधिकार युद्ध अनुगमनकारी संस्था, सिरियन अब्जर्भेटरी फर ह््युमन राइट्सले शनिबार (१४ मार्च) जानकारी गराएको छ ।

युद्धका कारण सिरियामा कूल तीन लाख ८४ हजार सिरियालीको मृत्यु भएको जनाउँदै उक्त संस्थाले यहाँको आधाभन्दा बढी जनसङ्ख्या युद्धका कारण आन्तरिक वा वाह््य रूपमा विस्थापित भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कमा रहेको पनि उल्लेख गरेको छ ।

सन् २०११ मा ‘अरब वसन्त’ नाम दिइएको शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलन समय क्रमसँगै सरकारविरूद्धको कडा सङ्घर्षले राष्ट्रपति वसर अल असदलाई वर्खास्त गर्नुपर्ने आवाज यहाँका विद्रोही समूहले बुलन्द पारे पनि राष्ट्रपतिले सरकारबाट हट्ने मागलाई सम्बोधन गर्न नमानेका कारण द्वन्द्वको मारमा सर्वसाधारणले झण्डै एक दशक बिताएका छन् ।

यस बीचमा राष्ट्रपति असद पक्षधर सेना, इस्लामिक समूह, अल कायदा निकट समूहहरू र रूस, इरान, टर्की, अमेरिकालगायतका मुलुकसमेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिरियाली द्वन्द्वमा सामेल भएका एएफपीले जनाएको छ ।