व्यवसायीको हित गर्ने उद्देश्यले ठमेलमा जन्मियो नयाँ ‘परिषद्’

व्यवसायीको हित गर्ने उद्देश्यले ठमेलमा जन्मियो नयाँ ‘परिषद्’


ठमेल क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका पर्यटन व्यवसायीको हक, हित र समुदायको संरक्षण गर्ने उद्देश्यका साथ ‘पश्चिम ठमेल पर्यटन परिषद्’ गठन भएको छ । स्थानीय व्यवसायीको हकहितमा काम गर्ने संगठन तथा संस्थाको अभाव महसुस गर्दै जागरुक स्थानीय अगुवाहरुले परिषद् गठन गरेका हुन् ।

ठमेलमा केही दिनअघि आयोजित एक भेलाबीच परिषद्को १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

सन्तोष पाण्डेको अध्यक्षतामा गठित परिषद्को प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा दीपक श्रेष्ठ, महासचिवमा मन्दिप गिरि, सचिवमा आशिक अमात्य र कोषाध्यक्षमा मुखिया गुरुङ रहेका छन् । यस्तै, सह–कोषाध्यक्षमा राजेन्द्र कुँवर र सदस्यहरुमा आनन्द पाण्डे, मातृका रिजाल, अमूलचन्द्र प्रधान, लक्ष्मण अर्याल, हरिकुमार श्रेष्ठ र एञ्जिला तिमिल्सिना चयन गरिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भेलालाई सम्बोधन गर्दै वडाध्यक्ष रिजालले पकनाजोल, सोह्रखुट्टे, कालधारा क्षेत्रमा बिजुली, पार्किङ, ढल, फोहर महानगरपालिकाले उठाए पनि स्थानीय नागरिकले घर मात्र नभई टोल नै सफा सुग्घर बनाउनु पर्ने धारणा अघि सारे । सो क्षेत्रको विकासका साथै पर्यटक र पर्यटन व्यवसायीलाई वडाको तर्फबाट यथासक्य सहयोग गर्ने उनको धारणा थियो । १६ नं. वडामा किरियापुत्री बस्ने घरको अभाव भएकोले त्यसको व्यवस्थापनका लागि वडाले पहल गरिरहेको र परिषद्को कार्यालयका लागि पनि वडा कार्यालयले महानगरपालिकासँग समन्वय गरेर सहयोग गर्ने प्रतिबद्धता पनि सो अवसरमा उनले व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले ठमेल क्षेत्रका व्यवसायीको सुरक्षा र संरक्षणका साथै आवश्यक परेको खण्डमा सबै व्यवसायी एकीकृत भई यस क्षेत्रका साथै ठमेलको पर्यटनलाई सुधार, पर्यटकले व्यवसायीलाई दिने दुःख र व्यवसायीले पर्यटकलाई गर्ने व्यवहारका बारेमा जानकारी दिनका लागि सामूहिक रुपमा पहल गर्नुपर्ने देखिएकोले परिषद् गठन गरिएको खुलासा गरे ।

सो अवसरमा स्थानीय समाजसेवी सन्तोष मास्के, नवनिर्वाचित महासचिव मन्दिप गिरिलगायतले परिषद्लाई शुभकामना दिएका थिए । सह–कोषाध्यक्ष राजेन्द्र कुँवरका अनुसार परिषद्को उद्देश्य र विधानमा सहमति जनाउने व्यक्तिलाई सदस्यता प्रदान गर्ने नीतिअनुरुप नवगठित परिषद्ले नयाँ सदस्यताका लागि तीन हजार पाँच सय रुपैयाँ र वार्षिक सदस्यता शुल्कका रुपमा १ हजार ५ सय रुपैयाँ तोकेको छ ।