असिना-पानीपछि बलाल मृत अवस्थामा भेटिएपछि…

असिना-पानीपछि बलाल मृत अवस्थामा भेटिएपछि…


 

– मुक्तिनाथ भुसाल, अर्घाखाँची

अर्घाखाँचीमा शनिबार (१ चैत) साँझ एक व्यक्तिको भीरबाट लडेर मृत्यु भयो । तर, भीरबाट खसेर परमधाम पुगेका व्यक्तिलाई कतिपयले खोलाले बगाएर मृत्यु भएको भन्ने हौवा खडा गरेपछि स्थानीयवासी आश्चर्यमा परेका छन् ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुराको चरेपानी निवासी ३८ वर्षीय शालिकबहादुर बलाल शनिबार अपरान्ह गौचोर भन्ने स्थानमा पुगेका थिए । उनी राती घरमा नर्फकिएपछि आइतवार बिहान खोजतलास गर्दा उनी मृतावस्थामा खोलामा भेटिए ।

पारिवारिक स्रोतका अनुसार शनिबार साँझ अन्दाजी ६–७ बजे उनी गौंचोरबाट आफ्नो घर चरेपानीतर्फ लागेका थिए । उनी घर त पुगेनन् बरु बीच बाटोमा उनका चप्पल भेटिएका थिए । चप्पल राखेको स्थानदेखि लगभग पाँचसय मिटर अगडि उनको टोपी भेटिएको र त्यसैको सिधा तल रहेको पात्ले खोलामा उनको शव भेटिएको थियो ।

सम्भवतः साँझपख हावाहुरी र असिनासहितको वर्षातका बेला उनी बीच बाटोमा परे । हिँडाइका क्रममा उनको एउटा चप्पलको फित्ता छिन्यो र छिनेको चप्पल लगाएर हिँड्न असहज भएपछि सम्भवतः बलालले दुवै चप्पल सडकको छेउमा राखेको स्थानीयको अनुमान छ । यसरी खाली खुट्टा सडकको छेउबाट हिँड्ने क्रममा उनी चिप्लिए र चिप्लिँदा शरीर असन्तुलन भई टोपी भुइँमा खसेको हुन सक्ने स्थानीय खुम रायमाझीको भनाई छ ।

पात्लेखोलाको प्रकृति र शक्तिमाथि केन्द्रित भई स्थानीय प्रेमबहादुर थापा ‘हिमाल’सँग सम्पर्क गर्दा उनले अविरल वर्षातका कारण खोलाले बगाएर मृत्यु भन्ने गलत हल्ला भएको ठकुवा गरे । उनका अनुसार लगातार एक हप्तासम्म वर्षा भए पनि पात्लेखोला मान्छे बगाउने गरी अहिलेसम्म उर्लिएको छैन ।

बलाल सडकबाट चिप्लिएर लडे पनि उनको टाउको खोलाको पानीमा सामान्य रूपले डुबेर शरीर घोप्टिएको अवस्थामा फेला परेको थियो, जसले उनको मृत्युलाई रहश्यमयी बनाइदिएको छ ।

ज्ञातव्य छ, वर्षात र असिनाका कारण जिल्लाका विभिन्न भूभाग असिनामय हुनुको साथै ठुलो मात्रामा अन्नबालीको नोक्सान भएको छ ।