सडक स्तरोन्नतिमा प्रयोग गरिएका सामग्रीमा आगजनी

सडक स्तरोन्नतिमा प्रयोग गरिएका सामग्रीमा आगजनी


म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा अज्ञात समूहले स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी गरिएको हो ।

आगजनीबाट ब्याकुहोलोडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामचन्द्र अधिकारीले जानकारी दिए ।

प्रहरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले आगो निभाएका थिए । आगजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । सडकको नजिकै पार्किङ गरेका निर्माण उपकरण आगजनी भएको सो कम्पनीका सञ्चालक सोमनाथ थकाली बताउँछन् । थकालीलाई उद्धृत गर्दै राससले जनाएअनुसार आगजनीबाट एक करोडभन्दा बढीको क्षति भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत लाम्पाटादेखि दरवाङ जोड्ने ६ किलोमिटर सडक कालोपत्रे गर्न सो कम्पनीले गत जेठमा ठेक्का लिएको थियो । म्याग्दीमा यसअघि गत साउनमा बेनी नगरपालिका–५ बगुवाखोलामा बिएन कन्ट्रक्सनका तीन वटा स्काभेटरमा अज्ञात समूहले आगजनी गरेका थिए ।

सो घटना प्रतिबन्धित नेकपाका कार्यकर्ताबाट घटाइएको हुन सक्ने प्रहरी सुत्रको अनुमान छ ।