रौतहटमा हतियारसहित एक पक्राउ

रौतहटमा हतियारसहित एक पक्राउ


■ आरके श्रीवास्तव, रौतहट

रौतहटस्थित सशस्त्र प्रहरीको गस्तीटोलीले चाइनिज र घरेलु पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लास्थित फतुवा बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको नेतृत्वमा गएको टोलीले चेकजाँचको क्रममा हतियारसहित मानिस पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट साबिक राजपुर तुलसी गाविस ९ हाल यमुनामाई गापा ३ राजपुर तुलसी ३ का ४९ वर्षीय शेख बैतुलाह रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा प्रमुख एसपी रविनराज कर्णजितले बताए । बैतुलाहको साथबाट चाइनिज पेस्तोल एक थान, म्याग्जिन एक थान, ७.६५ एमएमको बौल राउन्ड २ थान, कटुवा पेस्तोल १ थान, मोबाइल २ थान, घडी १ थान नगद ३४८० र केहि विदेशी तथा भरतीय रकम नागरिकता, सवारीचालक अनुमतिपत्रसहित बरामद भएको एसपी कर्णजितले जनाएका छन् ।

साथै, अभियुक्तले प्रयोग गरेको बिआर ०५ टि ८१३६ नम्बरको मोटरसाइकल समेत बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।

घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले आवश्यक कार्वाही अगाडि बढाइएको बताएका छन् ।