छोराको हत्या गर्न खोजेको आरोपमा दक्षिण अफ्रिकाका ‘राजा’ गिरफ्तार

छोराको हत्या गर्न खोजेको आरोपमा दक्षिण अफ्रिकाका ‘राजा’ गिरफ्तार


दक्षिण अफ्रिकाका राजा बुयलेखाया दालिन्दयेबोलाई गिरफ्तार गरिएको छ । राजदरबारमा बन्चरो लिएर आतङ्क फैलाएकोे आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । उनी द. अफ्रिकाका राष्ट्रपिता नेल्सन मन्डेलाका भतिजा हुन् ।

सन् १९९४ मा दक्षिण अफ्रिकामा घटेको अपहरण, उत्पीडन र आगजनी जस्ता आपराधिक घटनामा थेन्बु समुदायका राजा दालिन्दयेबो दोषी पाइएका थिए । दोषी प्रमाणित भएपछि सन् २०१५ मा दालिन्दयेबोलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको थियो । ४ वर्ष जेल बसेका राजा दालिन्दयेबो गत वर्ष राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।

स्मरणीय छ, कुनै पनि अपराधमा दोषी ठहरिएर जेल सजाय पाउने राजा दालिन्दयेबो दक्षिण अफ्रिकाका पहिलो शासक थिए । उनी गत डिसेम्बरमा जेलमुक्त भएका थिए ।

गत शुक्रवार विहान दालिन्दयेबो हातमा बन्चरो लिएर थेन्बु राजदरबारमा प्रवेश गर्दै छोरा अजेनाथी जेनेलिज्वे दालिन्दयेबोमाथि आक्रमण गरेका थिए । बुबाको आक्रमणवाट बच्न अजेनाथीले दरबारको झ्यालवाट हाम फाल्दै ज्यान जोगाएका थिए । तर उक्त घटनामा उनी पत्नी घाइते भइन्, जसको अहिले उपचार चलिरहेको बताइन्छ ।

राजा दालिन्दयेबो दोषी सावित हुँदै जेल गएपछि उनका छोरा अजेनाथीलाई कार्यवाहक राजा घोषित गरिएको थियो । छोरालाई राजा बनाएपछि निकै क्रुद्ध बनेका दालिन्दयेबोले जेलमुक्त भएपछि उनीमाथि आक्रमण गरेको शाही–प्रवक्ताले जनाएका छन् ।

राजा दालिन्दयेबो जेलमुक्त भए पनि शाही परिवारले अझै एक वर्ष छोरा अजेनाथीलाई कार्यवाहक राजा बनाउने निर्णय गरेको थियो । शाही परिवारको यो निर्णयबाट निकै क्रुद्ध बनेका राजाले यही कारण छोरामाथि आक्रमण गरेका थिए ।