कोराना फैलिन नदिन विभिन्न देशले अपनाए फरक-फरक उपाय

कोराना फैलिन नदिन विभिन्न देशले अपनाए फरक-फरक उपाय


कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न देशले फरक–फरक उपाय अपनाएका छन् ।

साउदी अरब र संयुक्त अरब इमरेट्स (युएई) ले फिल्महलहरु बन्द गराएका छन् । साउदी अरबका अधिकारीहरुले कम्तीमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द भएको घोषणा गरेका हुन् । साउदी अरबमा अहिलेसम्म ११८ जनामा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ ।

यसैगरी युएईका अनुसार चलचित्रसहित धेरै भीड हुने ठाउँहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ । उनीहरूले सामाजिक सञ्जाल ट्वाटरमार्फत नाटक घर, खेलमैदान विद्युतीयमाध्यमबाट खेलिने मनोरञ्जन केन्द्र, फिटनेस तथा जीम खाना र स्पा गराउनेलगायत बन्द गर्न लगाएको जनाएका छन् । यो निर्णय कम्तीमा मार्च महिनाभरि लागू हुने बताइएको छ ।

यसैगरी भारतको श्रीनगरमा सार्वजनिक तथा निजी बगैँचा र पार्कहरु बन्द गर्न लगाइएको छ । स्थानीय एक सरकारी अधिकारीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि यहीँ निर्णय लागू हुन जनाएका छन् । श्रीनगरमा अहिलेसम्म कम्तीमा दुई जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको एएनआईले सम्प्रेषण गरेको छ ।

उता अमेरिकाको महत्वपूर्ण शहर न्यूयोर्कमा पनि सार्वजनिक विद्यालयहरु बन्दको घोषणा गरिएको छ । न्यूयोर्क सिटीमा मेयर विल डे ब्लासियोले आगामी अप्रिल २० तारिखसम्म नगरअन्तरगत रहेका सबै सार्वजनिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

परिस्थिति धेरै संवेदनशिल भएकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस्तो निर्णय गर्नु परेको उनको भनाई छ ।

यसैबीच कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै प्रभावित आर्थिक गतिविधिका कारण अमेरिकाको केन्द्रीय बैंक संघीय रिजर्बले चालेको सङ्कटकालीन कदमसँगै वाल स्ट्रीट स्टक बजारमा सोमबार (१६ मार्चा) १० प्रतिशतको गिरावट आएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड(१९) सँग लड्न अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड)ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै शून्य दशमलब २५ कायम गरेसँगै आइतबार स्टक बजारमा पनि यस प्रकारको हलचल देखिएको हो । अमेरिकामा अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि ७ खर्ब डलरको आर्थिक सहायता कोषको पनि घोषणा गरिएको छ । अमेरिकाको यो कदम बेलायत, जापान, यूरोक्षेत्र, क्यानडा र स्वीट्जरल्याण्डसँग गरिएको सहकार्यको एक भाग हो ।

फेडका प्रमुख जेरोम पावेलले महामारीले अमेरिकाको अर्थतन्त्रमा नकारात्मक असर कम गर्न यो योजना ल्याइएको बताएका छन् । उनकाअनुसार ब्याजदर शून्यदेखि ०.२५ को बीचमा राख्ने निर्णय भएको छ ।

नयाँ दिल्लीमा भेला, रात्रिक्लब, जीम र स्पा बन्द

भारतको नयाँ दिल्ली प्रदेशमा ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले धेरै मानिस भेला हुने ठाउँमा बन्द गर्न–गराउन निर्देशन दिएका हुन् । उनको निर्देशन अनुसार ठूला भेला, रात्रिकालीन क्लब, जीम र स्पा कम्तीमा यही मार्च ३१ सम्म बन्द हुने भएका छन् । विश्वमा माहामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण दिल्ली राज्यले यस्तो निर्णय लिएको हो ।

मुख्यमन्त्री केजरीवालले विवाह लगायतका कुनै पनि जमघट ५० जनाभन्दा बढीको गराउन नपाइने पनि स्पष्ट गरेका छन् । राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका कारण अहिलेसम्म कम्तीमा सात जना सङ्क्रमित भएको छन् । देशभरि भने अहिलेसम्म सङ्क्रमित ११४ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये १७ जना विदेशी छन् । उनीहरुका अनुसार कोरोनाका कारण भारतमा अहिले दुई जना मृत्यु भइसकेको छ ।