निर्भया बलात्कार काण्डका दोषीलाई एकाबिहानै फाँसी

निर्भया बलात्कार काण्डका दोषीलाई एकाबिहानै फाँसी


भारतको राजधानी नयाँदिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित निर्भया बलात्कार एवम् हत्या काण्डका चार जना अभियुक्तलाई आज (२० मार्च) बिहानै फाँसी दिइएको छ ।

तिहाड जेलस्थित फाँसीघरमा भारतीय समयअनुसार साढे पाँच बजे चारैजना दोषीहरु विनय, अक्षय, मुकेश र पवनलाई एकसाथ फाँसीको फन्दामा झुण्ड्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फासीपछि निर्भयाकी आमा आशादेवीले न्यायको जित भएको प्रतिक्रिया दिएकी छिन् । उनले अब हरेक २० मार्चलाई निर्भया दिवसको रुपमा मनाउने घोषणा गर्दै आफूले अब भारतका बलात्कारपीडित छोरीहरुको न्यायको लागि लड्ने उदघोष समेत गरेकी छन् ।

अभियुक्तहरुलाई फासी दिइएपछि निर्भयाका बुबाले पनि ‘देशमा महिलाहरुका लागि यस्तो काुनन बनोस् जसबाट मानिसहरुले न्याय पाउन यति लामो प्रतिक्षा गर्न नपरोस् भन्ने प्रतिक्रिया दिएका छन् । घटनाको सवा सात वर्षपछि निर्भया बलात्कार काण्डका दोषीहरुलाई झुण्ड्याइएको हो ।

१६ डिसेम्बर २०१२ को राती चलिरहेको बसभित्रै निर्भयालाई पासविक ढंगले सामुहिक बलात्कार गरी क्रुरतापूर्वक हत्या गरिएको थियो ।