श्रीलङ्कामा ‘कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने’ भन्दै निर्वाचन नै स्थगित

श्रीलङ्कामा ‘कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने’ भन्दै निर्वाचन नै स्थगित


कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बन्दै गर्दा श्रीलङ्काले आगामी महिनाका लागि तय गरेको संसदीय निर्वाचनलाई अनिश्चितकालका लागि स्थगित गरेको छ ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालका लागि निर्वाचनलाई स्थगित गर्ने निर्णय लिएको सम्बद्ध अधिकारीलाई उद्धृत गर्दै एएफपीले जानकारी दिएको छ ।

‘विश्व स्वास्थ्य सङ्गठनले श्रीलङ्कालाई कोरोना भाइरसको सङ्क्रमणको खतरा नरहेको बताए पनि हामीले निर्वाचनलाई तोकिएको समय (अप्रिल २५) मा सम्पन्न गर्न सक्दैनौँ’, निर्वाचन आयोगका प्रमुख महिन्दा देशाप्रियाको भनाई छ ।

निर्वाचन मे, जुन वा जुलाईमा कहिले गर्ने भन्ने विषय कोरोना भाइरस सङ्क्रमण फैलिने क्रम कहिलेसम्म जारी रहन्छ भन्ने विषयमा निर्भर रहने बताइएको छ ।

श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आगामी निर्वाचनमा आफ्नो दलले दुई तिहाइ बहुमतका साथ संसद्मा आउने विश्वाससहित यसबाट आफूलाई थप शक्तिशाली बनाउन सविधान संशोधनको अपेक्षा गरिरहेका अनुमान स्थानीय राजनीतिक विश्लेषकहरूले गरेका छन् ।

कोरोना भाइरसका कारण विश्वव्यापी सन्त्रास फैलिए पनि श्रीलङ्कामा भने यसको सङ्क्रमण पुष्टि भएका ५३ व्यक्ति मात्र रहेका छन् । त्यहाँको सरकारले यो हप्तादेखि अन्तर्राष्ट्रिय विमानस्थललाई बन्द (लकडाउन) गरेको छ भने संवेदनशील मानिएका करिब आठ लाख ५० हजार नागरिकलाई अति आवश्यक काममा बाहेक आफ्नो घरबाट बाहिर नजान निर्देशन गरेको छ ।