कोरोना प्रभाव : इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा ‘लकडाउन’

कोरोना प्रभाव : इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा ‘लकडाउन’


युरोपेली मुलुक इटालीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । बिहीबार (६ चैत) जारी यस तथ्याङ्कपछि कोरोना भाइरसका कारण मर्नेको संख्या चीनमा भन्दा इटालीमा ज्यादा हुन पुगेको छ ।

इटालीले बिहीबार थप ४२७ जनाको मृत्यु भएको घोषणा गरेको छ र योसँगै इटालीमा मृत्यु भएका व्यक्तिको संख्या तीन हजार ४०५ पुगेको आधिकारिक स्रोतहरुले जनाएका छन् । आधिकारिक स्रोतका अनुसार भाइरसका कारण चीनमा तीन हजार २४५ जनाको मृत्यु भएको छ । यो रोगले खासगरी बुढेसकालका व्यक्तिहरुमा श्वासप्रश्वासको समस्या निम्त्याउने गरेको चिनियाँ चिकित्सकहरुले बताएका छन् ।

यस्तै, कारोनाको त्रासका कारण अमेरिकी राज्य क्यालिफोर्नियामा तीन करोड ९० लाख भन्दा बढी मानिसलाई घरभित्रै बस्न आदेश दिइएको छ । अमेरिकामा यति कठोर कदम चाल्ने क्यालिफोर्निया पहिलो राज्य हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले कोरोनासंक्रमित व्यक्तिको उपचारका लागि औलोका बिरामीलाई दिइने औषधिको प्रयोग गर्न पहिलो पटक अनुमति दिइएको बताएका एएफपीले जनाएको छ ।

चीनले शुक्रबार लगातार दोस्रो दिन कोरोनाका संक्रमित व्यक्ति उपचारका लागि स्वास्थ्य केन्द्रमा नआएको जनाएको छ । गत डिसेम्बरको मध्यबाट उहानमा यो भाइरस देखा परेको थियो । चीनमा आशाको किरण देखा पर्दा थुप्रै देशहरूले आफ्नो सीमाना कडा पारेका छन् । लाखौं मानिसलाई घरभित्रै बस्न बाध्य बनाइएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समयमै भाइरस फैलिनबाट नरोकिए लाखौं मानिस मर्ने चेतावनी दिएका छन् । विश्वका नेताहरूले विश्व अर्थतन्त्रलाई अगाडि बढाउन करिव एक ट्रिलियन डलरको राहत योजना सार्वजनिक गरिसकेका छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टामा थप १०८ जनाको मृत्यु भएको छ र यो सहित फ्रान्समा मृत्यु हुनेको संख्या ३७२ पुगेको छ । विश्वव्यापी रूपमा भाइरसबाट मर्नेको संख्या बढेर १० हजार नाघेको छ भने दुई लाख ३२ हजार ६५० जना बिरामी परेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले बिहीबार बताएअनुसार भाइरसलाई आगोझैं फैलिन दिने हो भने यसबाट खासगरी पहिल्यै स्वास्थ्य जोखिममा रहेका मुलुकका दशौं लाख मानिसको मृत्यु हुनेछ ।

चीनमा भन्दा अहिले विश्वका अन्य मुलुकमा मृत्यु हुने र संक्रमित व्यक्तिको संख्या बढी भइसकेको छ । चीनले गत जनवरी महिनादेखि अपनाएको कडा उपायका कारण भाइरसको उद्गमस्थल उहानसहित चीनभर नै भाइरसलाई परास्त गरेको देखिन्छ ।

कोरोना संकटप्रति पर्याप्त चासो नदिएको भन्दै आलोचना खेपिरहेका अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले प्रकोपका बारेमा पर्याप्त पारदर्शिता देखाउन नसक्दा त्यसको असर विश्वले भोग्नु परेको आरोप लगाएका छन् । ट्रम्पका अनुसार यसलाई चीनको एउटा क्षेत्रमा समेट्न सकिन्थ्यो जहाँ यो सुरु भयो, निश्चय पनि उनीहरूले गरेको बेवास्ताका लागि विश्वले ठूलो मूल्य तिर्दैछ ।

अमेरिकी अधिकारीहरूले कोरोना भाइरसको उपचारका रूपमा प्रयोग गर्न एन्टिमेलेरियल क्लोरोक्वाइन र हाइड्रोक्सीक्लोरोक्विन जतिसक्दो छिटो उपलब्ध गराउन राष्ट्रपति ट्रम्पद्वारा आदेश दिइएको बताएका एएफपीले जनाएको छ । यी औषधि शताब्दियौंदेखि औलोको उपचारका लागि प्रयोग भइरहेको छ ।

इटालीमा मृतकको संख्या बढेसँगै प्रधानमन्त्री ज्युसेप कोन्टेले युरोपका अन्य मुलुकमा अपनाइए झैं राष्ट्रिय तालाबन्दी आगामी अप्रिल ३ सम्म लम्ब्याइएको बताएका छन् ।

फ्रान्समा पनि राष्ट्रपति इमानुएल म्याँक्रोले दुई हप्ताको तालाबन्दी विस्तार थप गरिने जनाएका छन् । अर्जेन्टिनामा राष्ट्रपति अल्बर्टो फनान्डिजले शुक्रबारदेखि आगामी मार्च ३१ सम्म कोरोना संक्रमण फैलिन नदिन अनिवार्य तालाबन्दीको घोषणा गरेका छन् । ब्राजिलको रियो दि जेनेरियो राज्यले पनि आफ्ना राज्यमा रहेका पर्यटकीय प्रसिद्ध समुद्री किनाराहरु, रेस्टुराँ र बारहरु १५ दिनका लागि बन्द गर्ने घोषणा गरेको छ ।

बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनले मानिसहरुले सामाजिक सम्पर्कबाट केही समय टाढा रहेको खण्डमा यो महामारी १२ हप्ताभित्रै समाप्त हुने बताएका छन् ।

यो रोगले वरिष्ठ व्यक्तित्वहरुलाई पनि छोएको छ । युरोपेली ब्रेक्सिट वार्ताकार मिशेल बार्नियर, मोनाकोका राजकुमार अल्बर्ट द्वितीय र संयुक्तराज्य अमेरिकामा कम्तिमा आधा दर्जन एनबीए खेलाडीहरूमा कोरोना संक्रमण देखिएको छ ।

महामारीकै कारण जी७ को शिखर सम्मेलन स्थगित भएको छ । यो सम्मेलन यसपटक राष्ट्रपति ट्रम्पद्वारा वासिङ्टन डिसीको नजिक क्याम्प डेभिडमा आयोजना गर्न लागिएको थियो । विश्वका सात धनी मुलुकको यो सम्मेलन अब भिडियो कन्फरेन्सबाट गर्ने तयारी हुँदैछ ।

महामारीसँगै सेयर बजारमा छाएको मन्दीबाट सिर्जित समस्या सुल्झाउन नीति निर्माताहरूले यस हप्ता विभिन्न उपायहरुमाथि विचारविमर्श थालेका छन् । युरोपेली केन्द्रीय बैंकले ७५० अर्ब यरोको बन्ड खरिद गर्ने योजना अघि सारेको छ ।

संयुक्त राज्य अमेरिकामा अर्थमन्त्री स्टिभन मन्चिनले कङ्ग्रेस समक्ष १ ट्रिलियन डलरको आपतकालीन प्रोत्साहन प्याकेज पारित गर्न आग्रह गरेका छन् । विश्वको सेयर बजार निरन्तर ओरालो लागेको छ ।

अफ्रिकाका विभिन्न मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएसँगै स्कुलहरु बन्द गरिएका छन् भने सीमा क्षेत्रमा मानिसको आवातजावतलाई थप कडा पारिएको छ ।

रसियामा पनि पहिलोपटक एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अष्ट्रेलिया र न्यूजील्याण्डले गैर–बासिन्दाको आगमनमा प्रतिबन्ध लगाएको छ भने दुबै मुलुकले संक्रमण नियन्त्रणमा अझ कडा कदमहरु चालेका छन् ।