इटलीमा एकै दिनमा ६२७ व्यक्तिको मृत्यु

इटलीमा एकै दिनमा ६२७ व्यक्तिको मृत्यु


कोरोना भाइरसका कारण चीनभन्दा बढी प्रभावित देखिएको यूरोपेली मुलुक इटलीले भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्ने भएको छ ।

एकै दिनमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६२७ पुगेपछि इटली सरकारले नागरिकहरूलाई उनीहरूकै घरमा राख्नका लागि सेनाको सहयोग लिन लागेको एएनआईले जनाएको छ ।

शुक्रबारदेखि शनिबार (२०–२१ मार्च) बीच २४ घण्टाको समयमा इटलीमा एकै दिनमा अहिलेसम्ममा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।

इटलीको उत्तरी क्षेत्र खासगरी कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ सहयोगका लागि पुगेको चिनियाँ स्वास्थ्य टोलीले नागरिकलाई हिँडडुलमा रोक लगाउने काम कडा नभएका कारण सङ्क्रमण फैलिने क्रम जारी रहेको बताएपछि प्रशासनले सेनाको सहयोगमा नागरिकहरूलाई घरभित्र सिमित रहने व्यवस्था गरेको छ ।

लोम्बार्डीमा नागरिकहरू हतास भएका दृष्यहरू देखिएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । अस्पतालहरूमा हजारौँ व्यक्ति सङ्क्रमित भएको आशङ्कामा भीड लागेपछि उपचार सेवाको उचित प्रबन्ध मिलाउन जटिलता देखिएको सीएनएनले बताएको छ ।

स्वास्थ्यकर्मीको अनुरोधमा प्रभावित क्षेत्रलाई लकडाउन (बन्द) गर्न सेना प्रयोग गर्न गरिएको अनुरोधलाई सरकारले स्वीकार गरेको लोम्बार्डीका प्रशासन प्रमुख एटिलियो फोन्टानाले बताएका छन् । उनले लोम्बार्डी क्षेत्रमा ११४ सैनिक परिचालन गरिएको र आवश्यकताअनुसार यो सङ्ख्यालाई बढाइने बताए ।

ज्ञातव्य छ, इटलीमा सबैभन्दा पहिले लोम्बार्डीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । इटालीमा शनिबारसम्म चार हजार ३२ जनाको सङ्क्रमणका कारण मृत्यु भइसकेको छ भने ४७ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा इटलीमा करिब ६ हजार थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।