औषधी उत्पादन बढाउन मोदीको निर्देशन

औषधी उत्पादन बढाउन मोदीको निर्देशन


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधी कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिएका छन् ।

शनिबार (२१ मार्च) भिडियो सम्मेलनमार्फत औषधि उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उनले यो समय उत्पादनलाई बढाउने समय भएकोले सबैले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका हुन् ।

प्रतिक्रियामा औषधी कम्पनीका सञ्चालकहरूले प्रधानमन्त्री मोदीलाई औषधीको उत्पादन बढाउने आश्वासन दिएका थिए । उनीहरूले आफूहरूसँग औषधि उत्पादनका लागि प्रशस्त कच्चा पदार्थको भण्डारण रहेको र औषधिको उत्पादनका सम्बन्धमा कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका एएनआईले जनाएको छ ।

औषधि उत्पादनका क्षेत्रमा काम गर्ने रसायनविद् तथा फर्मा कम्पनीले नागरिकका लागि राष्ट्रको चिन्ता पहिलो हुने भन्दै हप्तामा सातै दिन पूरा २४ घण्टाका दरले औषधीको उत्पादन गर्ने बताएका थिए ।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २८३ पुगेको र यसका कारण चार व्यक्तिको मृत्यु भइसकेको अवस्थामा प्रधानमन्त्री मोदीले औषधी उत्पादनमा कमी नआओस् भन्ने उद्देश्यले व्यवसायीसँग अन्तक्रिया गरी उनीहरूको तयारीबारे धारणा बुझेका हुन् ।

ज्ञातव्य छ, भारतमा उत्पादन हुने औषधिको बजार खासगरी दक्षिण एशियाली मुलुकहरूमा हुने गर्छ ।