नयाँ दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

नयाँ दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध


कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भारतको दिल्लीमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको छ । दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनका लागि भारतको राजधानी नयाँ दिल्ली क्षेत्रमा प्रतिबन्ध लगाइएको बताएका छन् ।

मुख्यमन्त्री केजरीवालले शनिबार (२१ मार्च) भिडियोमार्फत् सार्वजनिक सन्देश दिँदै भने– ‘हामीले कुनै ठाउँमा भेला हुने व्यक्तिको सङ्ख्यामाथि पुनरावलोकन गर्दै नयाँ निर्णय सार्वजनिक गरेका छौँ । अबदेखि अर्को निर्णय नहुँदासम्म राजधानी दिल्लीमा पाँच व्यक्तिभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन ।’

जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनमा धेरै व्यक्ति भेला हुनुलाई मनाही गरिएको पनि उनले बताएका छन् । यदि पाँचजना भन्दा बढी व्यक्ति भेला हुनु नै परेमा एक व्यक्तिबाट अर्को व्यक्तिसम्मको दूरीलाई एक मिटरभन्दा बढी फरक गर्न पनि सन्देशमा आग्रह गरिएको छ ।

दिल्ली राज्य सरकारले यसअघि केही दिन पहिले २० जनाभन्दा बढी व्यक्तिलाई भेला हुन निषेध गरेको सूचना जारी गरेको थियो ।

कोभिड–१९ सङ्क्रमण नियन्त्रण र रोकथाम प्रयास अनुसार आइतबारदेखि दिल्ली मेट्रो सेवाका यातायातका साधन दिल्लीमा गुड्ने छैनन् । यसअघि बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २२ देखि बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म ‘जनता कर्फ्यू’ (घर बाहिर ननिस्कन) आग्रह गरेका थिए ।