ट्रम्पको सहयोगको प्रस्ताव अस्वीकार गर्दै खामेनीले भने- ‘तपाईंलाई कसैले विश्वाश गर्दैन’

ट्रम्पको सहयोगको प्रस्ताव अस्वीकार गर्दै खामेनीले भने- ‘तपाईंलाई कसैले विश्वाश गर्दैन’


इरानका सर्वोच्च नेता अलि खामेनीले आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाइँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने अभिव्यक्ति दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय पहिले इरानी नेताले चाहेमा अमेरिकाले कोभिड–१९ विरूद्धको लडाइँमा सहयोग गर्नसक्ने भनाईको जवाफमा खामेनीले सो प्रतिक्रिया दिएका हुन् ।

आइतबार (२२ मार्च) इरानमा थप १२९ जनाको मृत्यु भएको छ । यो समेत इरानमा कोभिड–१९ का कारण अहिलेसम्म एक हजार ६८५ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

एक इरानी राष्ट्रिय टेलिभिजनमार्फत जनताको नाममा गरेको सम्बोधनमा धार्मिक नेता खामेनीले अमेरिकी राष्ट्रपतिको गत फेब्रुअरी २९ मा इरानबारे राखेको प्रस्तावलाई इन्कार गर्दै भने, ‘तपाईंलाई (ट्रम्पलाई) कसैले विश्वास गर्दैन । तपाईले इरानमा सहयोगको नाममा ल्याउने औषधि इरानको नागरिकको पक्षमा हुनेमा हामीलाई विश्वास छैन ।’

इरानमा २१ हजार ६३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने विगत २४ घण्टामा थप एक हजार २८ विरामीमा सङ्क्रमण देखिएको छ ।

खामेनीले इरानले अमेरिकी सहयोगलाई अस्वीकार गर्नेबारे दोहोराउँदै र वासिङ्टनलाई इरानविरोधी शत्रुको आरोप लगाए र भने ‘हामीले अमेरिकासँग ४० वर्षदेखि कूटनीतिक सम्बन्ध राखेका छैनौँ र उसले इस्लामिक गणतन्त्रमा भाइरस निर्मूलका नाममा उल्टै फैलाउन सक्छ भन्ने बुझेका छौँ ।’ उनले अहिले इरानले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रुका रूपमा लिएको बताए ।

हामीले अमेरिकीलाई यही अवस्थामा सहयोगका लागि याचना गर्ने सम्भावना नै छैन । उनले अमेरिकाले अहिले आफ्नो शक्ति नागरिकको सुरक्षाका लागि प्रयोग गर्न सुझाव राष्ट्रपति ट्रम्पलाई दिएका छन् ।