माओवादी आक्रमणमा १७ भारतीय प्रहरीको मृत्यु

माओवादी आक्रमणमा १७ भारतीय प्रहरीको मृत्यु


मध्य भारतको छत्तीसगढ़ राज्यमा सयौँ माओवादी विद्रोहीद्वारा गरिएको आक्रमणमा १७ प्रहरीको मृत्यु भएको भारतीय अधिकारीले पुष्टि गरेका छन् ।

सुकमा जिल्लाको जङ्गलमा रहेको पुलिस कमाण्डो गस्तीमा शनिबार (२१ मार्च) भएको आक्रमण पछिल्ला वर्षहरूमा प्रहरीमाथि भएको घातक ठूलो आक्रमणका रूपमा भारतीय प्रहरीका एक प्रवक्ता अधीक्षक शलाब सिन्हाले बताए । आक्रमणपछि तत्काल नै उक्त जिल्लामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पठाइएको राज्य सरकारलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

स्थानीय प्रहरी सुपरिटेन्डेन्ट शलाब सिन्हाले दिएको जानकारीअनुसार करिब ३०० सशस्त्र नक्सलवादी विद्रोहीले प्रहरीको कमाण्डो फोर्समाथि आक्रमण गरेपछि प्रहरीतर्फ यति ठूलो सङ्ख्यामा क्षति भएको हो ।

‘हामीले १७ प्रहरी अधिकारीको मृत शरीर घटनास्थलबाट सङ्कलन गरेका छौँ भने अन्य १५ जना प्रहरीलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छौँ’– उनले भनेका छन् । तर, ती पन्ध्र जना घाइतेको अवस्था पनि अत्यन्त गम्भीर रहेको बताइएको छ ।

‘हामीलाई जानकारी भएअनुसार करिब ३०० देखि ३५० माओवादी विद्रोहीले प्रहरी कमाण्डोमाथि आक्रमण गरेका थिए,’ सिन्हाले बताए । प्रहरीका अनुसार शनिबार भएको झडपमा चार माओवादी लडाकू पनि मारिएका छन् ।

सन् २०१७ को अप्रिलदेखि प्रहरीले थालेको अतिवादी वामपन्थी गुरिल्लाविरोधी कारवाहीमा ठूलो सङ्ख्यामा विद्रोहीले क्षति व्यहोरेको छ । माओवादी विद्रोहीको आक्रमणमा सन् २०१७ मा २५ प्रहरीको मृत्यु भएपछि प्रहरीलाई शसक्त बनाइ कारबाही थालिएको थियो ।

यसपहिले भारतमा निर्वाचनको तयारी भइरहेका समय निर्वाचन बहिस्कार गरेको उक्त समूहले निर्वाचन विथोल्ने उद्देश्यका साथ महाराष्ट्रमा विस्फोट गराएको सरकारी अधिकारीले बताएका थिए । आक्रमणमा कम्तीमा १६ प्रहरी कमाण्डोका मृत्यु भएको थियो ।

विद्रोहीले ग्रामीण इलाकामा राज्यको उपस्थिति नरहेको दाबी गर्दै गरिब र गाउँले जनताको अधिकारका लागि सङ्घर्ष गरिरहेको बताउने गरेका छन् । उनीहरूको सरकार विरोधी आन्दोलनको प्रभाव भारतको झारखण्ड, पश्चिम बङ्गाल, उडिसा, बिहार, छत्तीसगढ, महाराष्ट्र, आन्ध्रा प्रदेश र अन्य राज्यमा सन् १९६० देखि जारी रहेको छ भने यस आन्दोलनमा हजारौँ भारतीयको मृत्यु भइसकेको छ ।