ग्यास छैन ? यी नम्बरमा गुनासो गर्नुहोस्

ग्यास छैन ? यी नम्बरमा गुनासो गर्नुहोस्


लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई नेपाल आयल निगमले घुम्ती सेवा मार्फत ग्यास वितरण गर्ने भएको छ । मंगलबार (१८ चैत) देखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको शुरुआत गरिएको निगमले जानकारी गराएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार साधारण उपभोक्तालाई विभिन्न १२ वटा वर्गमा विभाजन गरी ग्यास वितरण गर्न लागिएको हो । ‘अति आवश्यक पर्ने उपभोक्ताले हामीले तोकेको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिन सक्नुहुनेछ, साधारण उपभोक्तालाई लक्षित गर्दै हामीले रिङरोड क्षेत्रमा मात्र ग्यास वितरण गर्ने निर्णय गरेका हौँ, सकेसम्म माग भएका ग्यास सिलिण्डर नै दिनेछौँ, हामीले ग्यास उद्योगहरुसँग ग्यास खरीद गरेर उहाँहरुको आवश्यकता र सहजताका लागि सोही ग्यास वितरण गर्नैछौँ’– उपाध्यायले भनेका छन् ।

लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर टेकुमा रहेको आयल निगमको कार्यालयबाट ग्यास वितरणको तयारी थालेको छ । प्रवक्ता उपाध्यायका अनुसार निगमले अस्पताल, वृद्धाश्रम, बिरामी, असहाय, अनाथालय, फरक क्षमता भएकालाई ग्यास वितरण शुरु गरेको छ । त्यस्तै किरिया (आशौच) बसेको घर, बालाश्रम, बालगृह, पुनर्उत्थान केन्द्र, सुधारगृह, कारागार, निःशुल्क भोज गराउने निकाय/संस्था वा व्यक्ति, सरकारले तोकेको क्यारेन्टाइन तथा अत्यावश्यक काममा खटिएका मजदूर र कर्मचारीलाई घुम्ती सेवामार्फत ग्यास वितरण गरिने छ ।

ग्यास नभएको गुनासो राख्न निमगले पाँच सम्पर्क नम्बर तोकेको छ । कार्यालयका सम्पर्क नम्बर ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ ९८४७९५३१६३ मा गुनासो गर्न निगमले उपभोक्तालाई आह्वान गरेको छ ।