■ डिल्ली अम्माई
सामाजिक सतर्कतासम्बन्धी सञ्चारकर्मीबाट सम्प्रेषित सूचना अहिले अत्यन्त महत्वपुर्ण छन् । तथापि, सञ्चारजगत अहिले अधिकतम् मृत्युका समाचारहरू बेचिरहेको छ ।
संसार कोरोना आतङ्कले त्रस्त छ । त्यसैले यो बेला हाम्रा लेखनको ‘धार’ नबदल्ने र यस भयावह अवस्थालाई जस्ताको तस्तै वा अझ आतङ्कित पार्ने तवरले समाचार पस्किँदै जाने हो भने मान्छेले क्रमशः बाँच्ने आशा गुमाउँछ । त्यसपछि मानिसले ‘मरता तो क्या नही करता’ भनेझैँ लुटपाट र आतंक मच्चाउन बेर मान्दैन । अन्तर्राष्ट्रिय संघ–सँगठनहरूले विभिन्न माध्यमबाट त्यसको सङ्केत दिइसकेका छन् ।
अन्तर्राष्ट्रिय मौद्रिक कोषका प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जिएभाको पनि उपस्थिति रहेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस अधानोम गेब्रेससले कोरोनाले केवल स्वास्थ्य समस्या मात्रै ल्याउने नभएकोले सबै देशले सामाजिक र आर्थिक चुनौतीको सामना गर्ने कार्यक्रम पनि सँगसँगै लैजानुपर्ने बताएका छन् । नागरिकको स्वास्थ्य बचाउन थुप्रै देशले लगाएका प्रतिबन्धले व्यक्ति र परिवारको आम्दानी र समुदाय तथा देशहरूको अर्थव्यवस्थामा ठूलो क्षति पुऱ्याइरहेकोले अहिले विश्वका मानिस जीवन र जीविकोपार्जनका लागि साझा संघर्षमा जानुको अब विकल्प देखिँदैन ।
सम्पूर्ण राज्यहरूले समाज कल्याण कार्यक्रमहरूमार्फत मानिसलाई खानेकुरा र अन्य जीवनको आवश्यक चीजहरू सुनिश्चित गर्नका लागि आह्वान गर्नुको अब विकल्प रहेन । अबका केही महिना अवस्था यस्तै रह्यो भने लुटपाट जस्ता घटना बढ्न सक्नेतर्फ पनि मिडियाले नागरिकलाई सचेत गराउनु जरुरी छ, तर उल्टै त्रास बढाउने गरी नभई प्रस्तुति सन्तुलित हुन आवश्यक छ ।
महामारीबारे बालबच्चालाई दिने सूचना र सतर्कताबारे पत्रकारिताको महत्व :
यसबेला तपाईंले आफ्ना बच्चालाई कोरोनाबारे बताउनु पर्छ । आफ्ना नानीबाबुसँग कुरा गर्नुहोस् र सोध्नुहोस्, उनीहरूलाई कोरोना भाइरसबारे के थाहा छ ? यसबारे उनीहरूले गलत सूचना त पाइरहेका छैनन् ? पत्रकार र अविभावकहरूको सही र सन्तुलित सुचनाले वृद्ध तथा बाल–मस्तिष्कमा पार्ने प्रभाव महत्वपुर्ण हुन्छ ।
ख्याल गर्ने कुरा :
पटक–पटक टेलिभिजनको पर्दामा कोरोनाको समाचार हेर्दा, पत्रिकाका हेडलाइन पढ्दा तपाईंका केटाकेटी कहाँ थिए, तपाईंसँगै थिए या थिएनन् ? थिए भने समाचार हेरेर आत्तिए कि आत्तिएनन् ? ‘तपाईंले ओहो ! अब त केही सामान पाइँदैन रे, सबैतिर बन्द भैसक्यो रे’ भनेर छिमेकीसँग फोनमा कुरा गर्दा उनीहरूले सुने कि सुनेनन् होला ? स्कुल अचानक एक साताको सूचनामा हतार–हतार परीक्षा लिएर बिदा दिँदा कति तर्सिए होलान् ? के हामीले यसबारे केही सोचेका छौँ ?
दिने जानकारी :
आफ्ना केटाकेटीलाई के भनिदिनहोस् भने यो एउटा साधारण रोग हो जुन केही साताको उपचारपछि ठिकठाक हुनेछ । अधिकांश बालबालिका त यसबाट रोगी भएका छैनन् ? भइहालेका भए पनि ‘चिसोको रुघाजस्तै केही समयमा ठिक हुनेछ’ भन्दै सरल र विषयकेन्द्रित गरिदिनुहोस् र सकेसम्म सकारात्मक सन्देश दिनुहोस् । उनीहरूलाई रोगको मुख्य लक्षण बताइदिनुहोस् र लक्षणसँग मिल्दो कुनै शारीरिक समस्या भयो भने भनिहाल्न अह्राउनुहोस् ।
यस्तै, रोगबारे सुरक्षित हुन भइरहेका प्रयासबारे बालबालिकालाई बताइदिनुहोस् । सबै डाक्टर तथा नर्सहरूले रोग फैलिन नदिन रातदिन मेहनत गरिरहेको कुरा जानकारी गराइदिनुहोस् । संसारभरका मानिसले एकअर्कालाई सहयोग गरिरहेको कुरा बताइदिनुहोस् । उपलब्ध उपचार सेवा तथा भ्याक्सिनबारे पनि जानकारी दिनुहोस् ।
बालबालिकाहरू हजुरबा वा हजुरआमाबारे चिन्तित छन् भने त्यो उनीहरूको माया हो । त्यसको सराहना गर्नुहोस् र उपलब्ध मेडिकल सेवा तथा अन्य सकारात्मक जानकारी दिनुहोस् ।
नयाँ कुरा सिक्न तथा जान्न छलफल गर्नुहोस् । उदाहरणका लागि हाम्रो शरीरले कसरी भाइरससँग प्रतिरोध गर्छ, रोगका क्षण देखिएमा कसरी कम गर्न सकिन्छ ? साथै, भाइरसले हामीलाई कसरी बिरामी बनाउँछ र त्यस्तो बेलामा के–के गर्ने भन्ने पनि राम्ररी बुझाइदिनुहोस् ।

बालबालिकामा आत्मविश्वास जगाउनुहोस् र घरमै कस्तो तयारी थाल्ने भन्ने कुरा सिकाइदिनुहोस् । यस्तो विशेष परिस्थितिलाई नयाँ रुटिन पालना गर्नुपर्ने अवसरका रूपमा लिनुहोस् ।
हातलाई कसरी संक्रमणमुक्त राख्ने, खोक्दा के–के कुरामा ध्यान दिनुपर्छ, अनुहारमा हात नलैजाने, विशेषगरी नाकलाई हातले छुँदै–नछुने, हात मिलाउनु भन्दा ‘नमस्कार’ गर्ने वा अन्य उपाय अपनाउने कुरा बताइदिनुओस् ।
साना बालबालिकालाई नयाँ रुटिन अनुसार चल्न यस्तो यस्तो गर्ने भनेर आफूले नै गरेर देखाइदिनुहोस् ।
उनीहरूले आफ्नो हेरचाह आफैं गर्नका लागि केही नयाँ जिम्मेवारी पनि दिनुहोस् । यसले उनीहरूमा आत्मविश्वास जाग्छ र सवल बनाउँछ ।
विगतमा उनीहरूलाई भएको रोगबारे कुरा सम्झाएर, रोग भनेको के हो र स्कुल नजानु नै क्वारेन्टाइमा बस्नु हो भन्ने बुझाउँदै कति समयपछि सबै कुरा ठिक हुन्छ भन्ने राम्ररी बुझाइदिनुहोस् ।
यो भाइरस एउटा देश, वर्ग वा एक समूहका मान्छेलाई मात्र हुने होइन भन्ने बुझाइदिनुहोस् र संक्रमणबाट बच्ने उपाय तथा गाह्रो परिस्थिति केही सातापछि सबै ठिक हुन्छ भन्ने निश्चिन्त पारिदिनुहोस् ।
त्यस्तै, बच्चा र वृद्धलाई यो रोग लागेपछि बाँच्न मुस्किल हुन्छ भनेर कहिल्यै सुनाउनु हुँदैन । त्यसले उनीहरूको आत्मबलमा अत्यन्तै नकारात्मक प्रभाव पार्छ । मनोविज्ञान सकारात्मक बनाउने समाचार सम्प्रेषण गरी अन्तर्राष्ट्रिय मानव जगतमा प्रकृतिलाई सम्मान गर्ने, प्रकृति र मानवबीचको अन्तरसम्बन्धलाई बुझाउने खालका समाचार वा लेखले भविष्यमा राज्यले अपनाउने नीतिलाई प्रभाव पार्न सक्छ । वयस्क तर क्रोनो बुद्धिजिवीहरूको लागि यस्ता लेखहरूले प्रकृतिमा मानव जीवनको सन्तुलन बुझ्ने सवालमा उनीहरूको आँखाको ढक्कन खोलिदिन सक्छ । त्यसैले यस्ता महामारीहरूको रोकथामका तात्कालिक तथा दीर्घकालिक उपायबारे प्राकृतिक सन्तुलनको प्रभावसँग जोडेर गरिने बहसले पृथ्वीमा मानव प्रजातिको बसाइलाई दीर्घकालीक बनाउन मद्धत पुऱ्याउने छ ।
प्रतिक्रिया