नेपाल सरकारलाई केही चेतावनी दिउँ, केही आशाका कुरा पनि गरौँ !

नेपाल सरकारलाई केही चेतावनी दिउँ, केही आशाका कुरा पनि गरौँ !


■ सागर सुवेदी, अष्ट्रिया

कोभिड सङ्क्रमणको चेन ब्रेक कोरियन शैली या अष्ट्रियन शैली नेपालमा प्रयोग किन नगर्ने भन्ने सवालमा कतै अनलाइनमा पढ्दै गर्दा पाठकको प्रतिक्रिया पनि गजबको देखिन्थ्यो– के नेपालीहरू कोरियन या अष्ट्रियन जति संयमित तथा सरकारको आग्रह वा निर्देशनलाई सम्मान गर्दछन् त ? के नेपाल कोरिया अनि अष्ट्रिया जस्तै सबै कुरामा सम्पन्न छन् त ? पक्कै पनि कोरिया तथा अष्ट्रियासँग नेपालको वर्तमान अवस्थालाई दाँज्न नमिल्ला । यसका विविध पाटा होलान् । नेपाली नागरिकले सरकारका आग्रहलाई सम्मान गर्छन् या गर्दैनन् भन्नेतर्फ पनि पङ्क्तिकार जान चाहेन । यथार्थमा सरकारले गरेका हर आग्रह प्रत्येक नागरिकले मान्नैपर्ने हुन्छ । तर, सरकारले शुरुमै गल्ती गरिसकेको छ, यो बारेमा चर्चा गरौँ ।

नेपाल सरकारले बनाएको जम्बो नन–प्रोफेसनल ‘टास्क फोर्स’मा नेता मात्र किन ?

कुनै पनि विषयसँग जुध्न या समस्या निराकरण गर्नका लागि सम्बन्धित विषयमा अधिक जानकारी भएको या सोही क्षेत्रमा विज्ञता हासिल गरेको व्यक्तिलाई नै सम्बन्धित समिति या टास्कमा राखिनु पर्दथ्यो । त्यसको लागि प्रथमतः प्रष्ट कानुनी प्रक्रियाको बाटो अबलम्बन गरेर जानु पर्दथ्यो । तर, त्यसो नभई नेपालमा हचुवाका भरमा सम्बन्धित विषयमा खास विज्ञता नभएका उपप्रधानमन्त्रीको नेतृत्वमा टास्क फोर्स बनाइयो । एक त उक्त टास्क फोर्स अवैधानिक हो (भयो), किनकि सरकारले गर्ने हर क्रियाकलापमा कानुनी परिधि भएको हुनुपर्छ भने अर्को त्यस फोर्सभित्र सम्बन्धित विषयका विज्ञको धेरै नै कमी देखियो ।

हुन त यस्ता फोर्सहरूको नेतृत्व राजनीतिक व्यक्ति नै हुने अन्तर्राष्ट्रिय प्रचलन देखिनछ, तर त्यसमा काम गर्नका लागि सम्बन्धित विषयका विज्ञ नै हुनुपर्ने हुन्छ । नेपाल सरकार यस विषयमा सुरुवाती चरणमै केही चुकेको देखिन्छ । अब सरकारलाई पनि बोध भएको हुनुपर्छ कि यस्ता महामारीका विषयमा हचुवाका भरमा समिति निर्माण गरेर नहुने रहेछ । महामारीसँग सम्बन्धित तथा यसको परिचालनका लागि बनाइनु पर्ने विशेष कानुनको सवालमा पनि सरकारको कमजोरी देखियो । हुन त मैले अष्ट्रियामा के भयो भनेर नेपालसँग दाज्न नमिल्ला, तर गर्न सकिने विषयलाई अष्ट्रियाले गरेजस्तो नेपालले किन गर्न नसक्ने भन्ने प्रश्न पक्कै गर्न सकिन्छ । सरकारले अझै पनि यो विषयमा विचार गर्नुपर्ने देखिन्छ ।

अष्ट्रियाले के गऱ्यो ? वर्तमान महामारीको समयमा विशेष कानुन किन आवश्यक पर्छ ?

सुरुवाती दिनमा छिमेकी देश इटालीमा भुसमा लागेको आगोसरी फैलिएको सङ्क्रमणलाई अष्ट्रियाले देख्यो, बुझ्यो र एक हप्ताको तयारी गर्ने समय पायो । सोही समयलाई सदुपयोग गर्दै आपतकालीन संसद बैठक बसाल्यो र एपिडेमीसम्बन्धी विशेष कानुन नै निर्माण गऱ्यो, थोरै असहमतिबीच अत्यधिक बहुमतले उक्त नयाँ कानुनलाई पास गऱ्र्योे, ताकि सरकारले गर्ने आग्रहमा अवज्ञा भएमा कानुनी कारवाही गर्न सहज होस् र सरकारले बनाउने योजना तथा कार्यान्वयन गर्दा कुनै कानुनी समस्यासँग जुध्न नपरोस् । अहिले कानुन निर्माण गरी सोहीअनुरुपको बजेट विनियोजन गरेर यतिका उत्कृष्ट काम हुँदै गर्दा पनि बितेका दुई हप्तामा यहाँको सर्वोच्च अदालतमा सरकारका काम–कारवाहीका विषयमा पचासौँ मुद्दा परिसकेको देखिन्छ । अब बुझ्नुपर्ने यहाँ छ– यदि कानुन निर्माण नगरेको भए के सरकारले सहज तवरले काम गर्न सक्थ्यो त ?

आज नेपालमा विशेष कानुनको अभावमा निजी अस्पतालले सामान्य ज्वरोमा पनि कुनै सेवा दिएको अवस्था छैन भने क्षेत्रिय अस्पतालहरूको काम पनि सन्तोषजनक देखिँदैन । धेरै जिल्लाका सरकारी भनिएका अस्पतालमा डाक्टरहरू नै उपस्थित नभएको अवस्था छ, सरकारले ती डाक्टरलाई कारवाही तथा बर्खास्त गर्दा पनि कानुनको अभावमा केही गर्न सक्ने अवस्था देखिँदैन । हचुवाका भरमा कारवाही गर्दा नेपाल चिकित्सक संघले संविधान तथा एनको मर्मविपरीत कारवाही गर्न पाइँदैन भनेर आपत्ति जनाइसकेको अवस्था छ ।

मैले केही समय पहिला अष्ट्रियाका एकजना युवा वैज्ञानिक डा. दीपक ढुंगानासँग गरेको कुराकानीमा पनि ‘नेपाल पैसा नभएर मात्र गरिव भएको हैन, नेपालले आफूसँग भएका सम्पदा तथा शक्तिलाई सही तवरले सदुपयोग गर्न नसकेर हो’ भन्नुभएको थियो । नेपालको राजनीतिले त्यही उक्ति स्मरण गराउँछ । म आज सरकार तथा यसका मन्त्रीहरूको कुनै उछितो काड्न चाहँदिन, किनकि नेपाल सरकारको खेदो कुनै मेडियाकर्मी, हाउस या प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भन्दा सरकारकै पार्टीका अर्का अध्यक्षले नै असहयोग गरेर प्रमुख प्रतिपक्षको कडा भूमिका देखाइरहनुभएको छ । यो विपत्तिको अवस्थामा पनि ती सह–अध्यक्ष कसरी हुन्छ प्रधानमन्त्रीलाई असफल बनाउन तल्लिन हुनुहुन्छ भने नयाँ खोलिएका कथित साझा पार्टीहरू पनि यही मौका हो भन्दै यो राष्ट्रिय संकटमा दुई तिहाइनजिकको सरकारले मात्र काम गर्न सक्दैन भन्दै केही फाइदाजनक पद हासिल गर्ने चेष्टामा देखिन्छन् ।

यस्तै, केही नेताले सामाजिक संजालमा छताछुल्ल पारेका कुरा पढ्दा र सुन्दा पङ्क्तिकार जिब्रो नै टोक्छ । उनीहरूका कुराचाहिँ राष्ट्रिय संकटसँग जुध्न सहमतिको सरकार, त्यो नभए सहमतिको टास्क फोर्स बनाउनुपर्ने भन्ने आशयबाट प्रेरित देखिन्छन् । आखिर यो सहमितिको टास्क फोर्सको आवश्यकता किन ? प्रश्न यहाँ पनि उत्पन्न हुन्छ । केन्द्रमा पूर्ण बहुमतको दुई तिहाइनजिकको सरकार छ, क्षेत्रमा प्रादेशिक सरकार छ, स्थानीय तहमा पूर्ण स्वायत्तता पाएको बलियो स्थानीय सरकार छ भने यस्ता अनैतिक कुरा गरेर सरकारको गति, काम गराईमा सुस्तता ल्याउने या सरकारलाई घुँडा टेकाउने चेस्टामै देखिन्छन् । हिजो संविधान, कानुन, नीति नभएको अवस्था पो राष्ट्रिय सहमतिको कुरा थियो, आज निर्वाचित सरकार हुँदा किन यस्तो ? सरकारबाहिर बसेर सरकारलाई सहयोग गर्दा किन हुँदैन ? प्रधानमन्त्रीले यो विषयलाई बुझ्नु आवश्यक देखिन्छ, साथै सोहिअनुरुप काम गर्दा जनता लाभान्वित हुन सक्छन् । प्रचण्डलगायतका व्यक्तिहरू पनि सरकारको खुट्टा तान्ने तथा सरकारलाई असफल गराउनेतर्फ नलागेर सरकारलाई सहयोग गर्नेतिर लाग्दा नै उनको समेत भलो हुने देखिन्छ ।

कोरोना सङ्क्रमणका बिरामीमा मात्र राज्य मात्र केन्द्रित हुने कि अरु बिरामीको पनि उपचार गर्ने ?

पेशागत सिलसिलामा परिचय भएका अष्ट्रियाका एकजना वरिष्ठ इन्फेक्टोलोजिस्ट Prof. Herwig Kollaritsch ले हालै पङ्क्तिकारसँगको कुराकानीमा बताए कि यदि हामीले वर्तमान महामारीलार्ई वास्ता नगरी जे पायो त्यही गऱ्यौँ भने पनि यसको असर दर हेर्दा १ देखि २ प्रतिशत मात्र मृत्यु भएको देखिन्छ । त्यसमा अधिक संख्या भनेको बढ्दो उमेर समुहका छन् । अष्ट्रियाकै उदहारण लिउँ, अहिलेको ९० लाख अष्ट्रियन जनसंख्याबाट कसैलार्ई उपचार नै नगर्दा पनि अत्याधिक मृत्यु हुँदा ६० हजार मान्छेको मात्र मृत्यु हुनेछ ! त्यहि भएर कोरोनासँग त्यति डर मान्नु आवश्यक छैन ।

आज विश्वले कोरोनाको त्रासमा अरु दीर्घरोगीहरूको उपचारमा ध्यान दिएको छैन । ती रोगीहरू भोलिका लागि ठुलो समस्या बन्न सक्छन् । त्यसैले विश्वमा रहेका अस्पतालहरूले कोभिड–१९ मात्र नहेरेर दीर्घरोगसँग जुधिरहेका अरु बिरामीको लागि पनि उत्तिकै प्राथमिकता दिएर उपचार गराउनुपर्ने हुन जान्छ । प्रोफेसर हेर्वीगले दोहोर्याएर भने कि यदि हामीले कोरोनाको डरले अरु रोगमा उपचार गराउन छोड्यौँ भने भोलि वर्तमान महामारीले भन्दा बढी व्यक्तिहरू क्यान्सर, मुटुरोगलगायत अन्य दीर्घरोगबाट मर्नेछन् । साउथ एसिया जस्ता देशमा यसको मृत्युदर अझ बढी हुने उनको धारणा छ ।

अब केही आशाका कुरा गरौँ

अष्ट्रियामा अहिले कोरोना सङ्क्रमणबाट पूर्ण निको भैसकेका व्यक्तिहरूबाट प्लास्मा निकालेर संक्रमित व्यक्तिहरूमा प्रयोग गर्ने कार्यविधि तयार गरिएको छ । यसै महिना (अप्रिल) को ७ तारिकदेखि यहाँ अवस्थित रेडक्रसले ‘ब्लड प्लास्मा’को संकलनका लागि आब्हान गरिसकेको छ । डाक्टरका अनुसार हाम्रो शरीरको सेतो रक्तकोष (WBC) मा पाइने प्लास्मा जसलाई शरिरको सेना भनेर पनि चिनिन्छ, रोग निको भैसकेको व्यक्तिहरूको प्लास्मा संक्रमित व्यक्तिलाई ट्रान्सफर गर्दा एन्टीबडी निर्माणमा सहजता हुने र सङ्क्रमणसँग लड्न अधिक मद्दत पुग्ने विश्वासमा भाइरोलोजिस्टहरू देखिन्छन् ।

यसैगरी स्विस फर्माकम्पनी ‘नोभार्टिस’बाट उत्पादन गरिएको (हुन त भारतले पनि उत्पादन गर्छ भनिएको छ) हाइड्रोक्सिक्लोरोकिन औषधि कोभिड–१९ को उपचारका निमित्त प्रयोग गर्न सकिने जिकिर सो कम्पनीले गरेको छ । विशेष्ष गरी मलेरियाको सङ्क्रमणमा प्रयोग गरिने यो औषधि कोभिड–१९ मा पनि प्रयोग गर्न सकिने दाबीसँगै केही लाख ट्याब्लेट अष्ट्रिया आइसकेको र यो औषधिको एक्सन, रियाक्सनको (क्लिनिकल ट्रायल) बारेमा अध्ययन समेत सुरु भैसकेको छ । यो विषयलार्ई संसारभरका मेडियाले प्रमुख स्थान दिइसकेका पनि छन् । यदि यो औषधिले कोभिड–१९ सङ्क्रमणमा काम गरेको खण्डमा विश्वलार्ई ठुलो राहत पुग्नेछ ।

नेपालका एक जनस्वास्थ विज्ञ तथा साहित्यकार डा. रवीन्द्र पाण्डेले दिनरात फेसबुकमा केही न केही लेखिरहनुभएको देखिन्छ । उहाँले संसारभर कोरोनाले पुऱ्याएको क्षतिलाई सुक्ष्म अध्ययन गरिरहनु भएको अनलाइनमा प्रकाशित उहाँका लेख अनि सामाजिक संजालमा लेखिएका जनचेतनामुलक ‘स्टाटस’ले जनाइरहेका छन् । उहाँको जोड नेपालका मान्छेहरूको प्राकृतिक खानपानका साथै नेपालीहरूको रोग प्रतिरोधात्मक शक्तिमा केन्द्रित रही विभिन्न सुझाव दिनमा रहेको पङ्क्तिकारको बुझाई छ । वास्तवमा उहाँले एक्लै जे गरिरहनुभएको छ, नेपालको शक्तिसाली सरकारले आफ्ना सबै संयन्त्रबाट गराउने भन्दा बढी जनचेतना सम्प्रेषित गरिरहनुभएको छ । यसबाट नेपालीहरू आत्तिहाल्नु पर्ने अवस्था चाहिँ नभएको तर नियमभित्र रहेर अति सजग हुनुपर्छ भन्ने देखिन्छ ।

Department of Radiation Oncology University Hospital Of Berne Switzerland sf Senior Consultant डा. विनय श्रेष्ठसँग लेख तयारीकै सिलसिलामा पंक्तिकारले केही जिज्ञासा राखेको थियो । नेपाललाई आगामी दिनमा पर्न सक्ने अफ्ठेरो स्थितिको विषयमा उहाँसँग जिज्ञासा राख्दा डा. विनयले केही तर्कका साथ भन्नुभयो, ‘नेपालीहरू खासै डराउनु पर्ने देख्दिनँ, फेरि मैले यसो भन्दैमा जे गरे पनि हुन्छ भन्ने त होइन, किनकि भाइरसलाई हल्का रुपले हेर्न मिल्दैन । तर तपाईं हेर्नुहोस् युरोपको मृत्युदर साथै कस्ता व्यक्तिहरूमा सङ्क्रमण अत्यधिक छ, साथै कस्ता प्रकारका बिरामीहरूको उपचार हुन सकेको छैन ? हेर्नुहोस्– जति व्यक्ति मरेका छन् ती ८० वर्ष भन्दा बढी उमेर समूहका छन्, जसले अलिक जवान अवस्थामै सङ्क्रमणलाई जित्न सकेका छैनन् ती सबै कुनै न कुनै दीर्घरोगबाट ग्रसित छन् । मृतकमा अधिक उमेर र दीर्घरोगीकै सङ्ख्या ज्यादा छ ।’

उहाँ अगाडि भन्नुहुन्छ– ‘अब नेपाललाई हेरौँ, नेपालको समग्र बाँच्ने रेट भनेको प्रतिशत आधारलाई हेर्दा ६५–७० वर्ष हुन जान्छ । अब त्यसमा पनि अधिक पाका मान्छेहरू गाउँमा बसोबास गर्दछन्, युवाहरू विदेशमा छन् । गाउँमा आफ्नो उब्जाएर खानेहरूको रोग प्रतिरोधात्मक शक्ति युरोपियनहरूको भन्दा पक्कै अधिक नै हुन्छ । कदाचित यो भाइरस देशभर नै फैलिएछ भने पनि यससँग लड्ने प्रतिरोधात्मक शक्ति नेपालीमा तुलनात्मक रुपमा बढी छ । साथै, नेपालका डाक्टरहरू ‘एन्टी भाइरल अफ एन्टीमलेरिया’ उपचारमा युरो–अमेरिका भन्दा बढी पोख्त छन् । खालि डाक्टरहरूले सम्बन्धित अस्पतालमा गएर सेवा दिनुपऱ्यो ।’

‘अर्को आशाको किरण भनेको बीसीजी खोपको प्रभाव भएको ठाउँमा यो भाइरसको सङ्क्रमण गति अति सुस्त भएको विभिन्न खोजले देखाइरहेका छन् । यसबाट पनि नेपाल आत्तिनु पर्ने अवस्था देख्दिनँ, तर यसो भन्दैमा सरकारले यो भाइरसलाई हल्का लिएको खण्डमा यसको नोक्सान भयाभह पनि हुन सक्छ । मैले नेपाल सरकारलाई दिने सुझाव भनेको नेपालमा अर्बौं लगानी गरेका १५–१६ प्राइभेट मेडिकल कलेज तथा रिसर्च सेन्टरहरू छन्, जसलबाट डाक्टर उत्पदान गर्दछन् भने ती अस्पताललाई विशेस कानुन अनुरूप काम लगाउन सक्नुपर्छ । अस्पतालहरू भनेका नाफा कमाउनका लागि नभएर सेवा दिनका लागि हो भन्ने विषय ती अस्पतालका लगानीकर्ताले बुझ्नुपर्छ । यो कोणबाट हेर्दा नेपालमा वर्तमान अवस्थामा आवश्यक जनशक्ति केही हदसम्म पूर्ति हुने देखिन्छ । त्यसमाथि मेडिकल पढ्दै गरेका विद्यार्थीको पनि सहयोग लिन सकिन्छ । सरकारी अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरिने ब्यवस्था गरिनुपर्छ । यसो गर्न सकियो भने यो भाइरससँग लड्नका लागि देशभित्रैको जनशक्ति उपयोग गर्न सकिन्छ र विशेष परिस्थितिमा गैरआवासीय नेपाली संघमार्फत सम्भव भए विदेशमा रहेका डाक्टर अनि स्वास्थ्यकर्मीलाई पनि सहयोगका लागि आग्रह गर्न सकिन्छ । यी सबैका लागि सरकारले उचित व्यवस्था तथा निर्देशन दिनका निमित्त कानुन संशोधन गरेर भए पनि अघि बढ्नुपर्ने हुन्छ ।’

अब नेपालले के गर्ने ?

अब नेपालले गर्ने भनेको थप तयारी हो । कानुन निर्माण गरेर जाँदा सरकारलाई काम गर्न सहज हुन्छ, कानुन नबन्दा केन्द्रिय सरकारले दिएको निर्देशन प्रदेशले नमान्ने अवस्था आउन सक्छ (भलै नेपालजस्तो मुलुकमा जबर्जस्ती लादिएको संघीयता आवश्यक विषय नै थिएन) । सरकारको अर्को ध्यान दिने पक्ष भनेको च्याउझैँ खोलिएका मृत्यु मात्र बेच्ने मिडियाको नियन्त्रण पनि एक हो । मृत्युका समाचारले मानिसको मस्तिष्क नै हल्लाइदिएको देखिन्छ । पङ्क्तिकारले अघिल्लो लेखमा प्रहरीले पीपीईको दुरुपयोग गरेको विषय उठाएको थियो । यो भन्दा पनि पहिलाको लेखमा इटालीले गरेको गल्तीलाई नेपालले नदोहोराउन सुझाव दिइएको थियो । टाढाबाटै सही, नेपाल सरकार तथा तिनका निकायले गरेका कामलाई हेरिरहेकै हुन्छौँ । अहिले मैले नेपाल प्रहरीको वेबसाइट हेर्दा प्रहरीले भाइरस स्क्रिनिङ, डाइग्नोस्टिकको लागि तयारी गरेको देखिएको छ । त्यस्तै, नेपाली सेनाबाट पनि सम्भव भएसम्म सरकारलाई सहयोग गरिरहेको देखिन्छ ।

तसर्थ राज्यले जनतालाई अप्ठ्यारो परेको समयमा अधिक समय जनताका लागि दिनुपर्ने हुन्छ, अभिभावक बन्नुपर्ने हुन्छ । काम गर्दै जाँदा भएका या हुने सानातिना त्रुटीलाई सुधार्दै प्रधानमन्त्री केपी ओली अघि बढ्नुपर्ने हुन्छ । प्रधानमन्त्रीले बुझ्नुपर्छ कि यो उनको राजनीतिक उत्तरार्द्धको अवस्था हो, साथै इतिहासमा सुनौलो अक्षरमा नाम लेख्ने अवसरबाट नचुकी काम गरेर देखाउने अवस्था हो यो । यसका लागि कसैको अनुचित प्रभावमा नपरी जनताका हितमा काम गर्नुपर्ने हुन्छ । अहिले नेपालका स्वास्थ्यकर्मीमा एक प्रकारको त्रास देखिन्छ, त्यो त्रासलाई चिर्नका निमित्त राज्यले विशेष ध्यान पुर्याउनैपर्छ । उनीहरूको समस्यालाई नजिकबाट हेर्नुपर्ने तथा समाधानका उपायहरू निकाल्नुपर्ने देखिन्छ । उनीहरूको हौसला बढाउने काम प्रधानमन्त्रीका साथै सम्बन्धित सरोकारवाला मन्त्रीले गर्नैपर्छ ।

यो पनि हेर्नुहोस्–

मास्क अनि पिपिई के हुन् ? कसरी नेपालमा यसको गलत प्रयोग भैरहेको छ ?
इटालीले गरेको गल्ती नेपालले नदोहोर्‍याओस् !

(घटना र विचारका विशेष प्रतिनिधि सागर सुवेदी पेसाले नर्स हुन् । मास्कबारे थप जानकारी आवश्यक परे भियना (अष्ट्रिया)को अस्पतालमा कार्यरत सुवेदीसँग Twitter ठेगानामा सम्पर्क गरेर जिज्ञासा राख्न सक्नुहुनेछ ।– सं.)

हाम्रा विशेष प्रतिनीधि सुवेदीलाई Twitter मा follow गर्नका लागि–
https://twitter.com/sagaraustria